काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)का सांसद प्रदीप यादवले सत्तामा कांग्रेसको प्रवेश भएपछि नेकपा एमालले बाहिरिएको भन्दै कटाक्ष गरेका छन्।
प्रचण्ड सरकारलाई रेल, एमाले र राप्रपालाई यात्रु र कांग्रेसलाई टीटीको संज्ञा दिँदै उनले एमाले र राप्रपालाई कटाक्ष गरेका हुन्। नेपाली कांग्रेस टीटीको रुपमा कडा बनेर प्रस्तुत हुँदा एमाले र राप्रपाले रेलबाटै हाम फालको उनको व्यंग्य छ।
उनको व्यंग्यात्मक सम्बोधन जस्ताको तस्तै:
म सीमाक्षेत्रको सांसद हुँ। सीमानजिकै भारतीय रेल चल्छन्। मलाइ एउटा कहानी याद आयो। किनकी आजको प्रसंग र यो कहानी मिल्छ। रक्सौलबाट सत्याग्रह एक्सप्रेस चल्छ। त्यो नयाँदिल्ली जान्छ। सत्याग्रह प्रचण्डजीले चलाइरहनु भएको छ। रेलमा धेरै यात्रु सवार थिए।
रेलमा एसी, स्लिपर र जनेरल कक्ष छन्। सबै आ-आफ्ना ठाउँमा बसेर यात्रा गर्न तयार छन्। टीटीवाला आएर सबैको टिकट चेक गर्छ। कहिलेकाहीँ जनरलवालाहरु एसीमा गएर बस्छन्। कुनै स्लिपरवाला एसीमा गएर बस्न सक्छन्। टीटी कडा पर्यो भने यस्तो ठाउँ साट्ने यात्रुहरू दौडिरहेकै रेलबाट हाम फाल्छन्।
प्रचण्डको सरकार ठीकै ढंगबाट चलिरहेको थियो। यसमा सबै बसिरहेकै थिए। उहाँहरू जनरलबाट आएर एसीमा बस्नु भएको थियो। कांग्रेस टीटी भएर कडा रूपमा प्रस्तुत भयो। कांग्रेस आउनसाथ एमाले डराएर हाम फालेर भाग्यो। अब गर्ने के त?


