काठमाडौँ: नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय नयाँ कर्जा विस्तार सुस्त छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती नयाँ कर्जा प्रवाहसँगै लगानी भइसकेको कर्जा असुली बनेको छ। आर्थिक गतिविधि सुस्त हुँदा धेरै ऋणीले समयमै सावाँ–ब्याज तिर्न सकेका छैनन्। त्यसमाथि केही ऋणीले किस्ता माग्न पुगेका बैंक कर्मचारीलाई आत्मदाह वा आत्महत्याको धम्की दिन थालेपछि कर्जा असुली झन् जटिल बनेको बैंकरहरू बताउँछन्।
बैंक तथा वित्तीय संस्थाका अधिकारीहरूका अनुसार पछिल्लो समय भाखा नाघेको कर्जाको ताकेता गर्न ऋणीको घर वा व्यवसायमा पुग्ने कर्मचारीले असहयोग मात्र होइन, ज्यान लिने–दिने धम्कीसमेत सामना गर्नुपरेको छ। यसले फिल्डमा खटिने कर्मचारीको मनोबल खस्किनुका साथै असुली प्रक्रिया प्रभावित भएको उनीहरूको भनाइ छ।
पछिल्लो समय सार्वजनिक स्थानमा आत्मदाहको प्रयासका घटनाले पनि यस्ता धम्कीलाई सामान्यजस्तै बनाएको बैंक अधिकारीहरूको बुझाइ छ। केही महिनाअघि ट्राफिक विवादपछि गणेश नेपालीले गरेको आत्मदाह प्रयास र त्यसपछि सार्वजनिक भएका यस्तै घटनापछि कतिपय ऋणीले पनि कर्जा असुलीका क्रममा त्यही किसिमको धम्की दिन थालेको उनीहरूको दाबी छ।
एक वाणिज्य बैंकका उच्च अधिकारीका अनुसार वास्तविक आर्थिक समस्या भएका ऋणीसँग बैंकले पुनर्तालिकीकरण, पुनर्संरचना वा किस्ता व्यवस्थापनजस्ता विकल्पबारे छलफल गर्ने गरेको छ। तर कतिपय ऋणीले वार्ताको बाटो रोज्नुको सट्टा कर्मचारीलाई त्रसित बनाउने व्यवहार गर्न थालेको उनले बताए।
‘पछिल्लो क्रममा ऋणीहरूको आत्मदाहवाला धम्की अलि बढी आउन थालेको छ। ऋण उठाउन जाँदा ‘म यो गर्दिन्छु, त्यो गर्दिन्छु, अझ आफैँ मर्छु’ भन्छन्। मान्छे मरिदिन्छु भनिसके पछाडि त के रिकभरी गर्नु र?’ उनले भने, ‘ऋण लिएपछि त्यसको नियमानुसार भुक्तानी गर्नु ऋणीको नैतिक र कानुनी दायित्व हो। समस्या परेको छ भने बैंकसँग बसेर समाधान खोज्न सकिन्छ। तर सावाँ–ब्याज माग्न आउने कर्मचारीलाई आत्मदाहको धम्की दिनु उचित होइन। पछिल्लो समय यस्ता घटना बढेका छन्। यसले फिल्डमा खटिएका कर्मचारी मानसिक तनावमा परेका छन् र असुली प्रक्रियामा पनि असर परेको छ।’
ती अधिकारीका अनुसार कर्मचारीहरू नियमित प्रक्रियाअनुसार किस्ता माग्न जाँदा कतिपय ऋणीले ‘म आत्मदाह गर्छु’ भन्ने किसिमका धम्की दिने गरेका छन्। यस्तो अवस्था सिर्जना भएपछि कर्मचारीले थप प्रक्रिया अघि बढाउन नसकेर फर्किनुपर्ने बाध्यता हुने गरेको उनले बताए।
‘पछिल्लो समय ऋण उठाउन जाँदा ‘म यो गर्छु, त्यो गर्छु, आत्मदाह गर्छु’ भन्ने धम्की धेरै आउन थालेको छ। मान्छेले मर्छु भनिसकेपछि कर्मचारीले थप दबाब दिन सक्दैन। त्यसपछि असुली प्रक्रिया नै रोक्नुपर्ने अवस्था आउँछ।’
बैंक अधिकारीहरूका अनुसार पछिल्ला केही वर्षमा बैंक तथा वित्तीय संस्थाविरुद्ध भएका आन्दोलनले पनि केही ऋणीमा ऋण नतिरे पनि हुन्छ भन्ने मानसिकता विकास भएको देखिन्छ। कतिपयले बैंकसँग प्रत्यक्ष छलफल गर्नुको सट्टा विभिन्न समूह वा अभियन्ताको सहारा लिएर दबाब सिर्जना गर्ने प्रयास गर्ने गरेको उनीहरूको दाबी छ।
‘बैंकसँग आएर समय चाहियो, पुनर्संरचना गरिदिनुहोस् वा किस्ता मिलाइदिनुहोस् भन्न सकिन्छ। तर अहिले कतिपयले बाहिरी समूहलाई अघि सारेर दबाब दिने प्रवृत्ति बढेको छ। यसले समस्या समाधानभन्दा झन् जटिल बनाएको छ।’ उनले भने ।
उनका अनुसार वास्तविक आर्थिक समस्या परेका ऋणीलाई आवश्यक सहजीकरण गर्न संस्था तयार छन्। तर जानाजानी किस्ता नतिर्ने, सम्पत्ति बिक्री गरेर ऋण चुक्ता गर्न नचाहने वा कानुनी प्रक्रियालाई लम्ब्याउने प्रवृत्तिले बैंकहरूलाई थप समस्या परेको छ।
अधिकारीहरूका अनुसार ऋणीसँग पर्याप्त धितो वा सम्पत्ति भए पनि त्यसको व्यवस्थापन गरेर ऋण चुक्ता गर्नुभन्दा समय लम्ब्याउने, मुद्दामामिला गर्ने वा कर्मचारीलाई धम्क्याउने प्रवृत्ति कतिपय अवस्थामा देखिएको छ। यसले बैंकको नगद प्रवाह मात्र होइन, समग्र वित्तीय प्रणालीमै दबाब बढाउने उनीहरूको भनाइ छ।
यता आर्थिक मन्दीका कारण उद्योग–व्यवसाय पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। धेरै उद्योग ४० देखि ५० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेका कारण नयाँ कर्जाको माग पनि कमजोर छ। यस्तो अवस्थामा पुरानो कर्जा पनि समयमा नउठ्दा बैंकहरूको जोखिम थप बढेको छ।
बैंकिङ क्षेत्रका जानकारहरू भने वास्तविक आर्थिक समस्यामा परेका ऋणीलाई सहजीकरण गर्नुपर्ने तर धम्की वा डर देखाएर असुली प्रक्रिया अवरुद्ध पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउँछन्। उनीहरूका अनुसार बैंक, ऋणी, नियामक निकाय र सुरक्षा निकायबीच समन्वय गरेर कर्जा असुली प्रक्रिया सुरक्षित, मर्यादित र प्रभावकारी बनाउन आवश्यक छ।
उनीहरूका अनुसार वित्तीय प्रणाली सर्वसाधारणको निक्षेपमा आधारित हुने भएकाले कर्जा असुली प्रभावकारी हुनु बैंकको मात्र होइन, समग्र अर्थतन्त्रको स्थायित्वका लागि पनि महत्त्वपूर्ण विषय हो।