काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगिताको मिति सार्वजनिक गर्दै कात्तिक ९ देखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१ )सम्म एनपीएल सञ्चालन गर्ने जानकारी दिएको हो।
मिति सार्वजनिक भए पनि प्रतियोगिताको विस्तृत खेलतालिका भने क्यानले सार्वजनिक गरेको छैन।
यसपटक एनपीएल नेपालीहरूको प्रमुख चाडपर्व दसैँ र तिहारको समयसँग जोडिएको छ। तिहारका दुई दिन खेल नराख्ने गरी प्रतियोगिता सञ्चालन गर्ने तयारी क्यानले गरेको छ। यसअघिका संस्करण भने तिहार सकिएपछि मंसिरमा आयोजना हुँदै आएका थिए।
तेस्रो संस्करणका लागि खेलाडी छनोटको महत्त्वपूर्ण चरण अर्थात् अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अक्सनबाट स्थानीय खेलाडीको टोली संरचना तय भएसँगै फ्रेन्चाइज टोलीहरू अहिले विदेशी खेलाडी भित्र्याउने तयारीमा केन्द्रित भएका छन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो, सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो। दोस्रो संस्करणमा भने लुम्बिनी लायन्सले उपाधि जित्दा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रोपटक फाइनलमै उपविजेतामा चित्त बुझाउनुपरेको थियो।
लगातार दुई संस्करणको अनुभवपछि तेस्रो सिजनमा टोलीहरूको तयारी अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। स्थानीय खेलाडीको प्रदर्शनसँगै विदेशी क्रिकेटरको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनाउने अनुमान गरिएको छ।
एनपीएलले छोटो समयमै नेपाली घरेलु क्रिकेटमा ठूलो दर्शक आकर्षित गर्न सफल भएको छ। फ्रेन्चाइज संरचनाको प्रतियोगिताले नेपाली खेलाडीलाई उच्चस्तरका खेलाडीसँग खेल्ने र अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नजिकबाट बुझ्ने अवसरसमेत प्रदान गर्दै आएको छ।
तेस्रो संस्करणको मिति घोषणा भएसँगै अब सहभागी टोली, खेलाडी र समर्थकको ध्यान प्रतियोगिताको खेलतालिकातर्फ केन्द्रित भएको छ।
