प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग ‘वन टू वन’ भेट गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता भएको हो।
वालेन्द्रले प्रधानमन्त्री बनेपछि पहिलोपटक छिमेकी राष्ट्र भारतका राजदूतसँग एकल भेटघाट गरेका हुन्। यसअघि उनले एकल भेट नगर्ने नीति लिएका थिए। जसकारण केही समयअघि काठमाडौँ आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसियाली दूतले उनीसँग भेट गर्न पाएका थिएनन्। भारतीय विदेश सचिव विक्रम मिस्रीसँग पनि ‘प्रोटोकल नमिल्ने’ भन्दै एकल भेट नगर्ने नीति प्रधानमन्त्री लिएपछि मिस्रीको भ्रमणसमेत प्रभावित बनेको थियो।
उनले प्रधानमन्त्री बनेपछि काठमाडौँस्थित विदेशी राजदूतहरूसँग सामूहिक भेट भने गरेका थिए।
भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
यस्तै प्रधानमन्त्री वालेन्द्रले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए।
पहिलो नम्बरमा भारतीय राजदूतसँग एकल भेट गरेपछि प्रधानमन्त्री शाहले आजै विभिन्न देशका राजदूतहरूसँग पनि छुट्टाछुट्टै भेटघाट गर्दैछन्।
