काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भित्र सरसफाइ सामग्रीको गुणस्तरमा खेलबाड भएको पाइएको छ। विमानस्थलमा सरसफाइ सामग्री सप्लायर्स कम्पनीले ठेक्का प्रक्रियाले तोकेभन्दा कम गुणस्तरका सामग्री सप्लाइ गरिरहँदा पनि विमास्थल प्रशासन भने मौन देखिएको छ।
‘विमानस्थलका सबै भौतिक संरचनाहरू सरसफाइ गर्न प्रयोग गरिने केमिकलको गुणस्तर देखेर हामी छक्कै परेका छौँ, प्रशासनलाई पनि जानकारी दिएका छौँ तर कुनै रेस्पोन्स देखिएको छैन,’ देशकै सबैभन्दा बढी व्यस्त विमानस्थलमा कार्यरत सरसफाइ विभागका एक सुपरभाइजरले नेपाल क्लिक्ससँग भने, ‘अधिक यात्रु ओहोरदोहोर गर्ने विमानस्थलमा भइरहेको यो लापरवाहीबारे सम्बिन्धित निकायको ध्यान जान जरुरी छ।’
विमानस्थल स्रोतका अनुसार विमानस्थलमा कमसल प्रकृतिका सरसफाइ सामग्री सप्लाइ गरिनुको कारण गत चैत महिनामा भएको ठेक्का प्रक्रियासँग जोडिन्छ। ‘अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइको ठेक्का अत्यन्तै ‘बिलो’मा इन्फोटेक सर्भिसेज भन्ने कम्पनीले पाएपछि यस्तो परिणाम देखिन्छ भन्ने हामीलाई थाहा थियो’, ती कर्मचारीले भने, ‘नभन्दै यहाँ नक्कली सरसफाइ केमिकल प्रयोग भइरहेको तथ्य कहीँकतै छिप्दैन।’
सरसफाइ सामग्रीको सूची
५ महिनाअघि नागरिक उड्ययन प्राधिकरणका तत्कालिन निमित्त महानिर्देशक देवचन्द्रलाल कर्ण र त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले सुर्खेतका नविन खड्काको सप्लायर्स कम्पनी इन्फोटेक सर्भिसेज प्रालिलाई ठेक्का दिलाउन तीन वर्षको ठेक्कालाई एक वर्षमा सीमित गरिदिएका थिए। ‘हरेक पटक तीन वर्षका लागि ३० करोडमा खुल्ने ठेक्का इन्फोटेकको योग्यताको प्रमाणपत्र पर्याप्त नहुने भएपछि त्यही बेला एक वर्षमा झारियो,’, विमानस्थल स्रोतले भन्यो, ‘इन्फोटेकको टिममा तत्कालिन महानिर्देशक कर्णजीका आफन्त आदित्य ठाकुर पनि रहेछन्। उनीहरूको चलखेलमा ठेक्का अगाडि बढाइएको थियो।’
नेपाल क्लिक्सले पाएको विवरण अनुसार इन्टरनेटको सेवाप्रदायक कम्पनी वल्र्ड लिंकमा जनशक्ति ‘आउटसोर्सिङ’मा काम गरेको इन्फोटेकले सोही संस्थाबाट बनाएको अनुभव प्रमाणपत्र ठेक्का प्रक्रियामा प्रयोग गरेको थियो। ‘यो सर्टिफिकेटमा पनि सन्देह छ, ठेक्काको कोटेशनले माग्ने जुन तहको अनुभव र कामको प्रकृति हो त्यसमा इन्फोटेक योग्य छ भन्ने विश्वास छैन,’, स्रोतले भन्यो, ‘जसरी पनि ठेक्का हात पार्ने योजना अनुरुप इन्फोटेकले प्रतिमहिना १५ लाखभन्दा बढी पर्ने सामग्रीमा जम्मा ५ लाखको दरले बीड गरेको छ। त्यसको असर सामग्रीको स्तरीयतामा देखियो।’
ठेक्का प्रक्रियासम्बन्धी कागजातमै अन्तराष्ट्रिय विमानस्थलभित्र प्रयोग हुने सरसफाइ सामग्रीको स्तर तय गर्न सामग्रीको ‘ब्राण्ड’हरूले तय गरिएको हुन्छ। जस्तोः सरफाइमा प्रयोग हुने केमिकलका लागि तास्की ब्राण्ड, आर–टू, आर–सिक्स, स्पाइरल एचडी भनेर खुलाइएको हुन्छ तर अहिले विमास्थलमा सस्ता र स्थानीय स्तरमा बनाइएका केमिकलहरू प्रयोग भइरहेको छ।
विमास्थलमा प्रयोग भइरहेका सरसफाइ सामग्रीका भिडियो फुटेज, तस्विर र केही नमूना समेत नेपाल क्लिक्सले प्राप्त गरेको छ। उपलव्ध सामग्रीहरू ठेक्कामा तोकिएका ब्राण्डभन्दा अलग ब्राण्ड र स्तरका देखिका छन्। ‘यतिसम्म कि यहाँ नक्कली स्टिकर टाँसेर समेत केमिकलहरू सप्लाइ भइरहेको छ’, विमानस्थल स्रोतले भन्यो, ‘विमास्थल प्रशासनले यसको सुक्ष्म अनुगमन गरोस्।’
यस्तो थियो ठेक्का प्रक्रिया र मापदण्ड


