२०८३ भदौ ३० गते मङ्गलबार

बैंकहरूको नाफा ३२ प्रतिशतसम्म बढ्दा सेयरधनीलाई लाभांश दिने क्षमता किन खुम्चियो?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, भदौ ४
Banijya_BAnk_nepal

काठमाडौँः मुलुकको अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसकेको, निजी क्षेत्रबाट कर्जाको माग न्यून रहेको र बैंकहरूको खराब कर्जा (एनपीएल) बढिरहेको अवस्थामा पनि वाणिज्य बैंकहरूको नाफा भने उल्लेख्य रूपमा बढेको छ।

गत आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कूल ६९ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा बैंकहरूको कुल नाफा ५२ अर्ब ७९ करोड रुपैयाँ थियो। यसअनुसार एक वर्षमा बैंकहरूको नाफा १६ अर्ब ९९ करोड रुपैयाँ अर्थात् करिब ३२ प्रतिशतले बढेको देखिन्छ।

तर, बैंकहरूको नाफा बढेको तथ्यांकसँगै अर्को प्रश्न पनि उठेको छ—कर्जा माग सुस्त, खराब कर्जा उच्च र आर्थिक गतिविधि कमजोर हुँदा बैंकको नाफा कसरी बढ्यो?

यसको मुख्य कारण बैंकहरूको कर्जा विस्तारभन्दा पनि ब्याज खर्च घट्नु, विगतमा फसेको कर्जा असूलीमा सुधार आउनु, प्रोभिजन घट्नु र नेपाल राष्ट्र बैंकले दिएको नियामकीय सुविधाको प्रभाव रहेको बैंकरहरू बताउँछन्।

खराब कर्जा बढ्दो, नाफा भने उकालो

असार मसान्तसम्म २० वाणिज्य बैंकको औसत खराब कर्जा अनुपात (एनपीएल) ५.४४ प्रतिशत पुगेको छ। २० बैंकमध्ये ८ वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि छ।

सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकको १५.५५ प्रतिशत छ। त्यसपछि एनआईसी एसिया बैंकको ९.२६, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.६६ र हिमालयन बैंकको ७.९६ प्रतिशत एनपीएल छ।

त्यस्तै, कुमारी बैंकको ७.४६, प्राइम कमर्सियल बैंकको ६.६९, सिटिजन्स बैंकको ५.८८ र लक्ष्मी सनराइज बैंकको ५.२३ प्रतिशत खराब कर्जा छ।

यस्तै ग्लोबल आइएमई बैंकको ४.९६, एनएमबी बैंकको ४.९१, नबिल बैंकको ४.२०, नेपाल बैंकको ४.१८ र कृषि विकास बैंकको ४.०७ प्रतिशत एनपीएल छ।

माछापुच्छ्रे बैंकको ३.९८, राष्ट्रिय वाणिज्य बैंकको ३.९५, सिद्धार्थ बैंकको ३.५३, नेपाल एसबीआई बैंकको २.९२ र सानिमा बैंकको २.८७ प्रतिशत एनपीएल छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा २.०३ प्रतिशत छ। सबैभन्दा कम एभरेष्ट बैंकको ०.४९ प्रतिशत रहेको छ।

खराब कर्जा बढेसँगै बैंकहरूले सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनमा राखेका छन्।

२० वाणिज्य बैंकले जेठ मसान्तसम्म ३ खर्ब ७ अर्ब रुपैयाँभन्दा बढी प्रोभिजन गरेका छन्। अघिल्लो वर्ष यस्तो प्रोभिजन करिब २ खर्ब ४६ अर्ब रुपैयाँ थियो। असारमा आएर झनै बढेको छ।

यसले बैंकहरूको कर्जा गुणस्तर कमजोर रहेको देखाउँछ। विगतमा छुट्याइएको प्रोभिजनमध्ये केही रकम कर्जा असुलीमा सुधार आएपछि फिर्ता आम्दानीमा जोडिनु बैंकहरूको नाफा बढ्नुको एउटा महत्वपूर्ण कारण बनेको छ।

निक्षेपको ब्याज कम हुँदा बैंकको खर्च घट्यो

बैंकहरूको नाफा बढ्नुको अर्को प्रमुख कारण निक्षेपको ब्याजदरमा आएको गिरावट हो। पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भएकाले पनि कर्जाको माग अपेक्षाकृत कमजोर छ। बैंकहरूबीच निक्षेप तान्न प्रतिस्पर्धा घटेसँगै निक्षेपको ब्याजदर पनि तल आएको छ।

निक्षेपमा बैंकले कम ब्याज तिर्नुपरेपछि बैंकहरूको फन्डिङ लागत अर्थात् ब्याज खर्च घटेको छ। कर्जाको ब्याजदर घटे पनि बैंकको लागतमा आएको कमीले नाफामा सकारात्मक प्रभाव पारेको बैंकरहरूको भनाइ छ।

अर्थात्, बैंकको नाफा बढ्नुमा कर्जा विस्तारबाट भएको आम्दानी मात्र जिम्मेवार छैन। कम ब्याजमा निक्षेप परिचालन हुनु र त्यसबाट बैंकको खर्च घट्नु पनि महत्वपूर्ण कारण हो।

‘नाफा बढ्नुमा कर्जा विस्तारभन्दा पुरानो ऋण असुलीको भूमिका’

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङका अनुसार बैंकहरूको नाफा बढ्नुको कारण सबै बैंकमा एउटै छैन।

‘सबै बैंकको नाफा बढेको छैन। नाफा बढ्ने बैंकका फरक–फरक कारण छन्। कतिपय बैंकमा ऋण असुलीमा सुधार भएकाले त्यसबापतको प्रोभिजन घटेको छ। बैंकमा पैसा थुप्रिएको छ, तर कर्जाको माग भने बढेको छैन।’

उनको भनाइले पनि बैंकहरूको नाफा बढ्नुमा नयाँ कर्जा विस्तारभन्दा पुराना कर्जा असुली र प्रोभिजन व्यवस्थापनको भूमिका बढी रहेको संकेत गर्छ।

उनका अनुसार राष्ट्र बैंकले कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणमा दिएको नीतिगत सुविधा र सहुलियतका कारण पनि बैंकहरूको खराब कर्जाको अनुपातमा सुधार आएको देखिन्छ। यसले गर्दा प्रोभिजनिङमा जानुपर्ने रकम नाफामा गणना हुन पुगेको छ।

१५ बैंकको नाफा बढ्दा प्रभु बैंक घाटामा

२० वाणिज्य बैंकमध्ये १५ बैंकको नाफा बढेको छ भने ४ बैंकको नाफा घटेको छ। प्रभु बैंक भने खुद नोक्सानीमा रहेको छ।

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक बनेको छ। नबिलले आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब ९० करोड रुपैयाँ खुदनाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५ अर्ब ९२ करोड रुपैयाँ थियो।

नबिलपछि कुमारी बैंकले ७ अर्ब ३८ करोड, ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड र एभरेष्ट बैंकले ५ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

एनआईसी एसिया बैंकको नाफा भने १८ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष बैंक ३ अर्ब ८७ करोड रुपैयाँ नोक्सानीमा थियो।

कर्जा माग कमजोर, बैंकमा पैसा थुप्रियो

अर्थतन्त्रमा कर्जाको माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेको छ। उद्योग व्यवसायको क्षमता उपयोग कमजोर हुनु, निजी क्षेत्रको लगानीमा उत्साह नआउनु र सहकारी क्षेत्रको समस्या समाधान हुन नसक्नुले आर्थिक गतिविधिमा अपेक्षित गति आउन सकेको छैन।

यस्तो अवस्थामा बैंकको नाफा ३२ प्रतिशतले बढ्नु सामान्य कर्जा विस्तारको परिणाम भने देखिँदैन।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार अहिले बैंकको नाफालाई केवल ‘कर्जा बढ्यो र ब्याज आम्दानी बढ्यो’ भनेर बुझ्नु गलत हुन्छ। बैंकको लागत घट्नु, पुराना ऋण उठ्नु र प्रोभिजनमा आएको परिवर्तनले नाफा बढाउन ठूलो भूमिका खेलेको छ।

राष्ट्र बैंकको नीतिगत सुविधाको पनि प्रभाव

बैंकहरूको वित्तीय विवरणमा राष्ट्र बैंकले दिएका केही नीतिगत सुविधाको प्रभावसमेत देखिएको छ।

राष्ट्र बैंकले समस्यामा परेका केही कर्जालाई पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा दिएको छ। यसले तत्कालै सबै समस्याग्रस्त कर्जा खराब कर्जाका रूपमा वर्गीकरण गर्नुपर्ने दबाब केही हदसम्म कम गरेको छ।

त्यस्तै, केही कर्जाको जोखिम भारमा गरिएको परिवर्तनले बैंकहरूको पूँजी पर्याप्तता व्यवस्थापनमा समेत सहजता दिएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्ष समाप्त भएपछि साउन १५ गतेसम्म उठेको ब्याज वा रकम (रिकभरी) लाई अघिल्लो आर्थिक वर्षकै वित्तीय विवरण (ब्यालेन्ससिट) मा समावेश गर्न पाउने सुविधा दिएको थियो। यसले पनि बैंकहरूको नाफामा सुधार आएको बैंकर बताउछन्।

यसको अर्थ बैंकको नाफा बढ्नुमा बैंकको आन्तरिक व्यवस्थापनसँगै नियामकीय नीतिको प्रभाव पनि रहेको देखिन्छ।

नाफा बढे पनि लाभांश क्षमता कमजोर

बैंकहरूको खुद नाफा बढे पनि यसको अर्थ सबै बैंकले सेयरधनीलाई ठूलो लाभांश बाँड्न सक्छन् भन्ने होइन।

कतिपय बैंकको वितरणयोग्य नाफा अझै कमजोर वा ऋणात्मक छ। सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एसिया जस्ता बैंकमा उच्च प्रोभिजन, नियामकीय समायोजन तथा विगतका दायित्वको प्रभाव देखिएको छ।

त्यसैले यस वर्ष बैंकहरूको खुदनाफा बढेको देखिए पनि लाभांश वितरण क्षमता भने त्यही अनुपातमा बढेको छैन।

‘अहिलेको नाफालाई अन्तिम नमानौं’

बैंकहरूको अहिले सार्वजनिक भएको वित्तीय विवरण अपरिष्कृत (अनअडिटेड) हो। त्यसैले अहिले देखिएको नाफालाई नै अन्तिम नाफा मान्न नहुने बैंकिङ क्षेत्रका अधिकारीहरू बताउँछन्।

एक बैंकका उच्च अधिकारीका अनुसार बैंकहरूको वास्तविक नाफा लेखापरीक्षणपछि मात्र स्पष्ट हुन्छ।

‘अहिलेको वित्तीय विवरण अपरिष्कृत (अनअडिटेड) हो। लेखापरीक्षणपछि नाफामा केही फरक आउन सक्छ। अहिले अर्बमा देखिएको  नाफा लेखापरीक्षण पश्चात करोडमा पनि आउन सक्छ। करोडमा देखिएको नाफा अर्बमा जान पनि सक्छ। त्यसैले अहिलेको नाफालाई नै अन्तिम मानेर निष्कर्ष निकाल्नु हुँदैन।’

अब बैंकको चुनौती कर्जा विस्तार

बैंकहरूको नाफा बढे पनि बैंकिङ क्षेत्रको मुख्य चुनौती भने कर्जा विस्तार र कर्जाको गुणस्तर सुधार नै देखिएको छ।

बैंकमा पैसा थुप्रिने तर उद्योगी–व्यवसायीले नयाँ कर्जा लिन नचाहने अवस्था लामो समय रह्यो भने ब्याजदर घटेर मात्र अर्थतन्त्र चलायमान हुँदैन। अर्कोतर्फ, खराब कर्जा बढ्दै जाने हो भने बैंकले थप प्रोभिजन गर्नुपर्ने दबाब बढ्छ।

त्यसैले आगामी दिनमा बैंकहरूको नाफा टिकाइराख्न पुराना ऋण असुली, खराब कर्जा नियन्त्रण र नयाँ उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार तीनवटै पक्ष महत्वपूर्ण हुने देखिन्छ।

यस अर्थमा अहिले बैंकहरूको नाफा बढेको तथ्य सकारात्मक देखिए पनि यसको आधार कति दिगो छ भन्ने कुरा भने आगामी आर्थिक गतिविधि, कर्जा विस्तार र खराब कर्जाको अवस्थाले निर्धारण गर्ने जानकार बताउछन्।

प्रकाशित: २०८३ भदौ ४ गते बिहिबार ०८:०३
प्रतिक्रिया

थप समाचार

फिनटेकलाई नयाँ बाटो खोल्दै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिमा नवप्रवर्तनदेखि प्रतिस्पर्धासम्म

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको रणनीतिले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर विकसित हुँदै गएको डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि, नयाँ सेवा प्रदायक र नयाँ व्यवसायिक...

अब एटीएमबाटै १०० का नोट पनि निकाल्न पाइने

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक...

मर्जरले फेरिएको बैंकिङ क्षेत्र: आजका बैंकहरूको पछाडि दर्जनौं संस्थाको इतिहास

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई तुलनात्मक रूपमा बलियो, प्रतिस्पर्धी र ठूलो बनाउन मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेपछि धेरै संस्था एक–अर्कामा गाभिए।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँः माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको भदौ २६ गते बसेको ५६४औँ बैठकले साधारण...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना