काठमाडौँ: दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ पहिलोपटक दुबई निर्यात भएको छ। रातो र चन्द्र–सूर्य इन्टरनेसनलले डीडीसीसँग खरिद सम्झौता गरी ५ सय किलो घिउ दुबई पठाएको हो।
डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार उक्त कम्पनीले वार्षिक कम्तीमा ५० हजार किलो घिउ विदेश लैजाने गरी संस्थानसँग सम्झौता गरेको छ। सम्झौताअनुसार पहिलो चरणमा ५ सय किलो घिउ दुबई पुगेको हो।
दुबईमा आफ्नै सहायक कम्पनी मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत डिपार्टमेन्ट स्टोर सञ्चालनको तयारी गरिरहेको इन्टरनेसनलले त्यहीँ बिक्री गर्ने उद्देश्यले डीडीसीको घिउ खरिद गरेको हो। कम्पनीले आगामी चरणमा नेपाली घिउ दक्षिण कोरिया र मलेसियासम्म पुर्याउने योजना बनाएको छ।
दुबईका लागि घिउ पठाउने समझदारी केही महिनाअघि नै भए पनि निर्यातका लागि आवश्यक प्याकेजिङलगायत तयारीका कारण प्रक्रिया अघि बढ्न समय लागेको डीडीसीले जनाएको छ। अहिले घिउलाई सिसाका बोतलमा प्याक गरेर बजारमा पठाइएको छ।
पहिलो खेपअन्तर्गत मूल्य अभिवृद्धि करसहित करिब ६ लाख रुपैयाँ बराबरको घिउ डीडीसीबाट खरिद गरी दुबई पठाइएको हो।
