काठमाडौँ: नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबारदेखि चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्मका निजी सवारीसाधनलाई सुरुङमार्ग हुँदै काठमाडौं–धादिङ आवागमनका लागि खुला गरिएको हो।
पहिलो चरणमा कार, जीप र भ्यानसहित ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधन, सरकारी नम्बर प्लेटका सवारी, एम्बुलेन्स तथा अन्य आपत्कालीन सवारीसाधनलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइएको सडक विभागले जनाएको छ।
सुरुङमार्गको सञ्चालन अवस्था र ट्राफिक व्यवस्थापनको मूल्यांकन गर्दै एक–दुई दिनभित्र दुईतर्फी आवागमन खुला गर्ने तयारी गरिएको विभागले जनाएको छ। त्यसपछि सञ्चालन समय बिहान ७ बजेदेखि राति ८ बजेसम्म विस्तार गर्ने र क्रमशः बिहान ६ बजेदेखि राति १० बजेसम्म पुर्याउने योजना रहेको छ।
नागढुंगा सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे खण्डको यात्रा समय उल्लेख्य रूपमा घट्ने, ट्राफिक जाम कम हुने तथा यात्रु र मालवाहक यातायात सहज हुने अपेक्षा गरिएको छ।
करिब २४ अर्ब रुपैयाँ लागतमा निर्माण भएको सुरुङमार्गको गत साउन ११ गते पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उद्घाटन गरेका थिए। उद्घाटनसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको बताइएको थियो।
यसअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए। ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले जापानको हाज्मा–आन्दो जेभीलाई सुरुङमार्ग निर्माणको जिम्मा दिएको थियो।
तर कोरोना महामारी, जग्गाको मुआब्जा विवाद, खानेपानीलगायत विषयमा स्थानीयसँग देखिएको समस्या तथा अन्य कारणले आयोजनाको म्याद चार पटकसम्म थपिएको थियो। त्यसका कारण आयोजना निर्माण सम्पन्न हुन करिब सात वर्ष लागेको हो।