ताप्लेजुङ। तमोर नदीमा बेली ब्रिज निर्माण सम्पन्न गरिएको छ। यातायात सञ्चालन गर्नका लागी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तमोर इनर्जी प्रालिले बेल ब्रिज निर्माण गरेको हो।
फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेल ब्रिज निर्माण गरिएको हो। कुल सात करोड ८५ लाख १९ हजार रुपैयाँ लागतमा बेली ब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार बेली ब्रिजको लम्बाई ५४.८ मिटर र चौडाइ ४.५ मिटर रहेको छ। उक्त पुल निर्माण भएसँगै फक्ताङ्लुङको वडा ४ इखाबु, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका लागि सहज भएको गाउँपालिकाले जनाएको छ।
तमोर इनर्जी लिमिटेडको प्रवर्धनमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण भइरहेको छ।
एभरेष्ट बैंकको अगुवाईमा साढे ३८ अर्ब ऋण
आयोजना बनाउन ५५ अर्ब रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको छ। माथिल्लो तमोर जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूले ३८ अर्ब ६० करोड लगानी गर्ने भएका छन्।
कुल ५५ अर्ब १५ करोड लागत अनुमान गरिएको २८५ मेगावाटको उक्त आयोजनामा स्वपुँजीमार्फत १६ अर्ब ५५ करोड लगानी गरिने भएको हो।
बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने भएको हो।
यो आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापन सहवित्तीकरण अन्तर्गत एभरेष्ट बैंकको अगुवाइ रहने छ।
त्यस्तै कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआइडिसिएलको सहनेतृत्व रहने छ। लगानीकर्ता बैंकहरू राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक र गरिमा बैंक रहेका छन्।
नेपाल विद्युत प्राधिकरणले आयोजनाको विकासकर्ता तमोर इनर्जीबीच विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ।
कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २८५ मेगावाटसम्म विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको छ। २०७५ जेठ २७ गते तमोरले आयोजनाबाट बिजुली उत्पादन गर्न मन्त्रालयबाट लाइसेन्स पाएको हो।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०७८ असार ८ गते बसेको लगानी बोर्डको ४७ औं बैठकले माथिल्लो तमोरमा लगानी स्वीकृत गरेको थियो।
आयोजनाबाट वार्षिक १ अर्ब ४७ करोड ९८ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ। जसअनुसार १ अर्ब ३ करोड ३६ लाख र सुक्खायाममा ४४ करोड ६२ लाख १६ हजार युनिट बिजुली उत्पादन हुने छ। अर्धजलाशय आयोजनाले सुक्खायाममा ६ घण्टासम्म पूर्ण क्षमतामा बिजुली उत्पादन गर्नेछ।
गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको सानिमा हाइड्रो ग्रुपले आयोजनाको जलविद्युत लगानीकर्ता पुष्पज्योति ढुंगानालाई बेचेको हो। ढुंगानाले ४४ मेगावाटको माथिल्लो मादी आयोजना सञ्चालन गरिरहेका छन्।
आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभीको करिब १५ किमी लामो डबल सर्किट विद्युत प्रसारण लाइनमार्फत ढुंगेसाँघु सबस्टेशनमा लगि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।