काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ९८.३४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।
अमेरिका–इरान द्वन्द्वमा सप्ताहान्तमा देखिएको थप तनावपछि सोमबार एसियाली बजारको सुरुवाती कारोबारमा तेलको मूल्यमा वृद्धि भएको हो।
यो समाचार तयार पार्दासम्म, वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को मूल्य बढेर ब्यारेलको ९३.६८ डलर पुगेको छ। शनिबार अमेरिकी सेन्ट्रल कमान्डले इरानको रिभोलुसनरी गार्डद्वारा ब्यालिस्टिक मिसाइल प्रयोग गरी अमेरिकी नौ सेनाका दुई युद्धपोतलाई लक्षित गरिएको घटनाको जवाफमा इरानका तीनवटा तेल ट्यांकरमा आक्रमण गरेको जनाएको थियो।
खार्ग टापु, जास्क र ओमानको खाडी नजिकै आक्रमणको निशाना बनाइएको थियो। उक्त आक्रमणपछि एडमिरल ब्राड कूपरले स्पष्ट सन्देश दिँदै भनेका छन् “यदि तिमीहरूले हाम्रा दुई जहाजमाथि प्रहार गर्छौ भने हामी अझ ठूलो आर्थिक मूल्य चुकाउन बाध्य पार्नेछौं—अर्थात तिमीहरूका तीनवटा जहाज नष्ट गर्नेछौं।”
आइतबार, सेन्टकमले इरानविरुद्धको आफ्नो नौ सैनिक नाकाबन्दीसम्बन्धी तथ्यांक पनि अद्यावधिक गरेको छ। जसअनुसार जुलाई १४ मा नाकाबन्दी पुनः सुरु भएयता अमेरिकी सेनाले ९२ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ। ३ वटालाई निष्क्रिय पारेको र २ वटामाथि नियन्त्रण लिएको छ।
ती आक्रमणहरूपछि, इरानी संसदका सभामुख मोहम्मद बाघेरी कालिबाफले समानुपातिक जवाफको युग समाप्त भएको बताएका छन्। उनले अमेरिकालाई इरानको तर्फबाट हुने भविष्यका जवाफी कारबाहीहरू अझ छिटो, अझ कडा र अझ पीडादायी हुने चेतावनी दिएका छन्। यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले इरानले चाँडै नै जलसन्धि स्ट्रेट बाहिर एउटा नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गर्ने संकेत गरेका छन्।
हाल होर्मुज जलसन्धि हुँदै ठ्याक्कै कति परिमाणमा तेल बाहिर गइरहेको छ भन्ने कुरा स्पष्ट छैन। अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले सप्ताहन्तमा दाबी गरेअनुसार जलमार्गबाट दैनिक ९० लाख (९ मिलियन) ब्यारेलभन्दा बढी तेल निर्यात भइरहेको छ।
पाइपलाइनमार्फत थप ४० वा ५० लाख ब्यारेल तेल ओसारपसार भइरहेको छ। इरानी सेनाले भने उक्त जलसन्धि जहाजहरूको आवतजावतका लागि पूर्ण रूपमा बन्द रहेको बताउँदै आएको छ। यस क्षेत्रबाट तेलको एक थोपा पनि बाहिर जान नदिने उद्देश्य राखेको छ।
स्वतन्त्र ट्यांकर ट्रयाकिङले वास्तविक अवस्था यी दाबीहरूको बीचमा कतै रहेको संकेत गर्छ। ट्यांकर ट्रयाकरको अनुमानअनुसार पछिल्लो २८ दिनको अवधिमा तेलको प्रवाह औसतमा दैनिक ५० लाख ४० हजार ब्यारेल रहेको थियो। तर, बढ्दो संख्यामा जहाजहरूले आफ्ना एआईएस ट्रान्सपोन्डरहरू बन्द गर्न थालेकाले यो अनुमानमा पनि निकै अनिश्चितता रहेको छ।
हाल कति तेल बाहिर गइरहेको छ भन्ने कुरा जे भए पनि इरानविरुद्धको पछिल्लो आर्थिक अभियानले प्रभाव पारिरहेको देखिन्छ। किनकि देशमा आर्थिक कठिनाइ बढेको खबरहरू आइरहेका छन्। यसले इरानलाई वार्ताको टेबलमा फर्काउँछ वा अझ अनियन्त्रित तथा तीव्र द्वन्द्व निम्त्याउँछ, त्यो भने हेर्न बाँकी नै छ।
यता इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले आगामी केही दिनभित्र होर्मुज जलमार्गबाहिर नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने दाबी गरेका छन्। उनका अनुसार नयाँ प्रतिबन्धित क्षेत्र अमेरिकी नौसेनाले निर्धारण गरेको नाकाबन्दीको रेखाबाट सुरु भएर पर्सियन खाडीका अन्य क्षेत्रसम्म फैलिने बताइएको छ।
ओमानसँगको सहकार्यमा इरानले व्यवस्थापन गर्ने नयाँ अन्तर्राष्ट्रिय जलमार्गको खाका तयार पारेको छ। होर्मुज जलमार्ग हुँदै हुने जहाजको आवागमनलाई व्यवस्थित गर्न इरान र ओमानबीच तय गरिएको नयाँ जलमार्गको नक्सामा दुवै देशले आगामी केही दिनभित्र औपचारिक रूपमा हस्ताक्षर गर्ने भएका छन्।
खाडी क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य मुठभेड तथा तेल ट्यांकरमाथिका आक्रमण तीव्र भइरहेका बेला इरान र ओमानबीच भएको नयाँ जलमार्गसम्बन्धी सहमति भएको छ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरानलाई लक्षित गर्दै आक्रामक र रणनीतिक पोस्टहरू गरेका छन्।
ट्रम्पले इरानको अर्थतन्त्र झनै धरासायी बन्दै गएको, खस्किँदो तेल निर्यात, अकासिँदो मुद्रास्फीति र कमजोर बन्दै गएको इरानी रियाललाई निशाना बनाउँदै इरानमाथि थप दबाब सिर्जना गरेका छन्।
२०२५ मा १ अमेरिकी डलरबराबर ९ लाख इरानी रियाल रहेकामा हाल बढेर २२.७ लाख रियालभन्दा माथि पुगेको छ।
२०२५ को सुरुमा दैनिक २० लाख ब्यारेल रहेको इरानको तेल निर्यात भएकोमा २०२६ मा आइपुग्दा शून्यको नजिक पुगेको दाबी ट्रम्पले गरेका छन्।