काठमाडौँ: अर्थमन्त्रालयले अघि सारेको पुँजी बजार सुधारसम्बन्धी कार्ययोजनाको प्रभाव सेयर बजारमा परेको छ। सोमबार साँझ सार्वजनिक गरिएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले बजारमा सकारात्मक प्रभाव परेको हो।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ विन्दुमा पुगेको छ। कारोबार सुरु भएपछि नेप्से २ हजार ६७९ विन्दुसम्म पुगे पनि अन्तिम समयमा केही करेक्सन हुँदै २ हजार ६३३ विन्दुमा झरेको हो।
बजार बढेसँगै कारोबार रकम पनि दोब्बर पुगेको छ। सोमबार कारोबार रकम करिब ४ अर्ब ६८ करोड रुपैयाँमा सीमित कारोबार यसदिन बढेर ८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
मंगलबार कारोबारमा आएका २६५ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ।
क्षेत्रगत रूपमा आज १३ वटै उपसमूहको परिसूचक बढेको छ।