काठमाडौँः हिन्दूहरूको महान् चाड दशैं नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकले यस वर्ष पनि सर्वसाधारणका लागि लक्षित गरेर नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने भएको छ।
हालै आएको भीषण बाढीपहिरोबाट भएको जनधनको क्षति र मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राख्दै दशैंमा नयाँ नोट वितरण गर्नु उपयुक्त नहुने निष्कर्षमा केन्द्रीय बैंक पुगेको हो।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले दशैंलाई लक्षित गरेर नयाँ नोट बजारमा पठाउने तयारी नरहेको बताएका छन्। यसबारे छिट्टै औपचारिक सूचना जारी गरिने उनले जानकारी दिए।
प्रवक्ता पौडेलका अनुसार दशैंको मुखमा देशले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ। बाढीपहिरोका कारण अर्बौं रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने ठूलो संख्यामा नागरिक प्रभावित तथा विस्थापित भएका छन्।
यस्तो अवस्थामा सरकारले विपद्पछिको आवश्यकता मूल्यांकनको पूर्ण प्रतिवेदन ल्याउन बाँकी रहेको छ। साथै, बाढीपहिरोबाट बैंकिङ क्षेत्रका कति ऋणी तथा व्यवसायी प्रभावित भएका छन् भन्नेबारे राष्ट्र बैंकले पनि मूल्याङ्कन गरिरहेको छ।
‘दशैं भनेर एकदमै धेरै बढाइचढाइ गरेर, भर्खरै दशैंको मुखमा त्यत्रो बाढी गएको स्थिति छ। कति ऋणी समस्यामा परेका छन्, हेर्नै बाँकी छ र राहतको प्याकेज ल्याउनुपर्नेछ। यस्तो बेला नयाँ नोट वितरण गर्नु उपयुक्त हुँदैन,’ पौडेलले भने।
उनका अनुसार अहिले राष्ट्र बैंकको ध्यान प्राकृतिक विपत्तिबाट प्रभावित ऋणीहरूको पहिचान, उनीहरूका समस्या सम्बोधन तथा आवश्यक राहत प्याकेज निर्माणमा केन्द्रित छ।
‘ सरकारले विपदपछिको आवश्यकताको मूल्यांकन (पीडीएनए) को पूर्ण प्रतिवेदन ल्याउनै बाँकी छ । राष्ट्र बैंकले पनि समस्यामा परेका ऋणीहरूको मूल्याङ्कन गर्नुपर्नेछ। कस्तो खालको राहत प्याकेज ल्याउने र बाढीलाई कसरी सम्बोधन गर्ने भन्ने काम भइरहेको बेला नयाँ नोट वितरण गर्ने परम्परा सान्दर्भिक देखिँदैन,’ पौडेलले नेपाल क्लिक्ससँग भने।
केन्द्रीय बैंकले बाढीपहिरोबाट प्रभावित उद्योगी, व्यवसायी तथा साना किसानका लागि कर्जा पुनर्संरचना, किस्ता भुक्तानीमा सहजीकरण तथा आवश्यक सहुलियत उपलब्ध गराउने विषयमा नीतिगत मस्यौदा तयार गर्ने गृहकार्य गरिरहेको जनाएको छ।
सुकिला नोटको सटही व्यवस्था कायम रहने
राष्ट्र बैंकले नयाँ नोट वितरण नगरे पनि नागरिकको आवश्यकतालाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थामार्फत सफा तथा सुकिला नोट उपलब्ध गराउने व्यवस्था भने कायम रहने जनाएको छ।
विगत दुई–तीन वर्षदेखि नै राष्ट्र बैंकले दशैं–तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउने अभ्यासलाई निरुत्साहित गर्दै आएको छ।
नोट छपाइमा हुने सरकारी खर्च घटाउने, नोटको आयु बढाउने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकिङ प्रणालीमा उपलब्ध सुकिला नोटको पुनःप्रयोगलाई प्राथमिकता दिइएको राष्ट्र बैंकले जनाएको छ।
‘हामीले दुई–तीन वर्षयता लगभग नयाँ नोट दशैंलाई लक्षित गरेर ननिकाल्ने नीति लिएका छौं। नोटहरू बैंकिङ प्रणालीबाटै स्वचालित रूपमा प्रणालीमा प्रवाह होऊन् भन्ने राष्ट्र बैंकको चाहना हो, पौडेलले भने।
राष्ट्र बैंकले यसबारे अन्योल नहोस् भनेर औपचारिक सूचना जारी गरी दशैंका लागि नयाँ नोट वितरण नगरिने जानकारी दिने तयारी गरेको छ।
यसैबीच, केन्द्रीय बैंकले चाडपर्वका समयमा अत्यधिक नगद कारोबार गर्नुको सट्टा क्यूआर कोड, मोबाइल बैंकिङ तथा डिजिटल वालेटजस्ता विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्ने जनाएको छ। साथै, उपलब्ध सुकिला नोटको जतनपूर्वक प्रयोग गर्न पनि आग्रह केन्द्रीय बैंकले गरेको छ।


