काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको प्राविधिक समस्या समाधान भएसँगै आज (मंगलबार) देखि सेयर कारोबार पुनः नियमित रूपमा सञ्चालन हुने भएको छ । ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको डेटा सेन्टरका रूपमा रहेको ‘डेटा हब’ मा प्राविधिक समस्या उत्पन्न भएपछि अवरुद्ध बनेको प्रणाली समाधान भएको नेप्सेले जानकारी दिएको हो ।
नेप्सेका अनुसार समस्या समाधान भएसँगै आजदेखि सेयर कारोबार सञ्चालन हुने छ ।
यसअघि ब्रोकर कम्पनीहरूका सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक गडबडी आएका कारण सोमबारको सम्पूर्ण नियमित सेयर कारोबार स्थगित गरिएको थियो । प्रणालीमा समस्या यथावत् रहँदा कारोबार गर्दा नेप्सेको मुख्य प्रणालीमा नै असर पर्न सक्ने जोखिम तथा स्टक ब्रोकर एसोसिएसनको आग्रहलाई मध्यनजर गर्दै सोमबार बजार बन्द गरिएको थियो । डेटा हबमा आएको प्राविधिक अवरोध पूर्ण रूपमा हटेको जानकारी प्राप्त भएपछि आजदेखि कारोबार पुनः सामान्य अवस्थामा फर्कने भएको हो ।


