२०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट सिफारिस भएका तीन जनाको नामहरुमध्ये आर्किटेक्ट इञ्जिनियर सुसन बैद्य पनि थिए। स्वतन्त्र उम्मेदवारका रुपमा बालेन शाह सहभागी सो चुनावमा सुसन अन्तिम छनौटमा परेनन्। तर, उनै सुसनले कांग्रेसका तर्फबाट यसपटक महानगरको पार्टी हाँक्ने जिम्मेवारी पाएका छन्।
अर्थात्, उनी नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा चयन भएका छन्।
गत भदौको जेन्जी आन्दोलनपछि कांग्रेस पार्टीको आन्तरिक जीवन नै नयाँ घुम्तिमा हिँडिरहेका बेला सधैं चर्चामा रहने काठमाडौं महानगरको कांग्रेस राजनीति युवा इञ्जिनियर सुसनको नेतृत्वमा पुग्नुलाई अर्थपूर्ण रुपमा लिनुपर्ने तर्क कांग्रेस वृत्तमा सुनिन थालेको छ। ‘पार्टीका साथीहरुले निर्विरोध विश्वास गर्नुभयो, त्यसका लागि म आभारी छु’, यसअघि काठमाडौं महानगर कांग्रेसका सचिव रहेका सुसनले नेपाल क्लिक्ससँग भने, ‘विश्वाससँगै मेरा जिम्मेवारीहरु पनि छन्। कांग्रेसको केन्द्रीय नेतृत्वले नयाँ कांग्रेस बनाउने जुन अभियान गरिरहेको छ, त्यसको मर्मसहित अघि बढ्नुपर्ने छ।’
काठमाडौं महानगरमा नेपाली कांग्रेसको सांगठनिक घनत्व सधैै अब्बल हुँदाहुँदै पनि पार्टीभित्रको संयोजन र व्यवस्थापनमा देखिने ‘ग्याप’का कारण बेला बेला स्थानीय र संघीय निर्वाचनमा कांग्रेसले अपेक्षाकृत परिणाम निकाल्न सकेको छैन। यही बेमेलबीच सुसन भने एउटा योजनावद्ध र सुव्यवस्थित तरिकाले महानगर कांग्रेसलाई अघि बढाउने सोचमा छन्। भन्छन्, ‘खासगरि बदलिएको कांग्रेसले युवा पुस्ताको सोच, सपना र स्पन्दनलाई समेट्नुपर्छ भन्ने मान्यतासहित अघि बढ्ने हो। काठमाडौं महानगर अलिक विशिष्ठ प्रकृतीको छ। यहाँको सांस्कृतिक र पुरातात्विक पक्ष, भौतिक विकासको पक्ष, युवादेखि बृद्धबृद्धासम्मका समस्या र सपनादेखि संघीय सरकारलाई ‘ब्रिजिङ’ गर्नुपर्ने अनेक विषयहरु हाम्रा सामु छन्।’
नेपाल विद्यार्थी संघको प्रतिनिधित्व गर्दै उनी २०५५ सालमा थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु उपसभापतिमा निर्वाचित भएका सुसन इन्जिनियर्स एसोसिएसनको कोषाध्य हुँदै काठमाडौं जिल्ला कांग्रेस सदस्य मात्र होइन सुसन काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षणका विषयमा पनि सक्रिय रहँदै आएका छन्। उनको निरन्तरको राजनीतिक तथा अभियानकारी अनुभवका कारण पनि उनी नजिकिँदै गरेको स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयर पदका लागि पार्टीभित्र चर्चामा रहँदै आएका छन्।


