काठमाडौँः नेपाली सेयर बजारमा अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सुरु गर्ने तयारी अघि बढेको छ। नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय कारोबारका लागि आवश्यक नीतिगत, कानुनी र प्राविधिक व्यवस्था तय गर्ने उद्देश्यले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव मागेको छ।
बोर्डले अन्तरदिवसीय कारोबारलाई एकैपटक पूर्ण रूपमा लागू गर्नेभन्दा चरणबद्ध रूपमा अघि बढाउने प्रस्ताव गरेको छ। प्रारम्भिक चरणमा पर्याप्त तरलता भएका, नियमित कारोबार हुने र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम रहेका सीमित धितोपत्रमा मात्रै यस्तो कारोबार सञ्चालन गर्ने तयारी छ।
अन्तरदिवसीय कारोबारमा लगानीकर्ताले एउटै कारोबार दिनभित्र धितोपत्र खरिद तथा बिक्री गर्न सक्छन्। बोर्डको प्रस्तावअनुसार नेपालमा यसको सुरुवात पहिले सेयर खरिद गर्ने र सोही दिन बिक्री गर्ने व्यवस्थाबाट हुनेछ।
यसको अर्थ लगानीकर्ताले पहिले आफ्नो खातामा सेयर खरिद गरेपछि बजार मूल्यअनुसार त्यही कारोबार दिनभित्र बिक्री गर्न सक्नेछन्। प्रारम्भिक चरणमै पहिले खरिद गरेर पछि बिक्री गर्ने कारोबार मिलाउने प्रणाली भने लागू नहुने प्रस्ताव गरिएको छ।
बोर्डले अन्तरदिवसीय कारोबारलाई क्रमशः विस्तार गर्ने योजना अघि सारेको छ। पहिलो चरणमा खरिद गरेर सोही दिन बिक्री गर्ने कारोबार सञ्चालन गरेपछि धितोपत्र सापटी तथा उधारो कारोबार र अन्य आवश्यक पूर्वाधार विकास गरिनेछ।
त्यसपछि मात्रै कभर सर्ट सेलिङ प्रकृतिको कारोबार सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यसका लागि धितोपत्र सापटी प्रणाली, उधारो कारोबार, जोखिम व्यवस्थापन र सेटलमेन्ट प्रणाली पर्याप्त रूपमा तयार हुनुपर्ने बोर्डको अवधारणापत्रमा उल्लेख छ।
यसले सुरुवाती चरणमा बजारमा थप कारोबारको अवसर सिर्जना गर्ने भए पनि सर्ट सेलिङसँग सम्बन्धित जोखिमलाई तत्कालै बजारमा प्रवेश नगराउने बोर्डको दृष्टिकोण देखिन्छ।
अन्तरदिवसीय कारोबार सुरु गर्दा सबै सूचीकृत कम्पनीका सेयरलाई योग्य बनाउने प्रस्ताव गरिएको छैन। पर्याप्त कारोबार हुने र तरलता राम्रो भएका सीमित धितोपत्र छनोट गरी सुरुवात गर्ने योजना छ।
त्यसका लागि कुन धितोपत्र योग्य हुने, कस्ता लगानीकर्ताले अन्तरदिवसीय कारोबार गर्न पाउने, ब्रोकरको भूमिका कस्तो हुने र कारोबारको जोखिम कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छुट्टै मापदण्ड बनाइनेछ।
बोर्डले कारोबारको क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै मार्जिन, जोखिम खुलासा, बजार निगरानी र प्रविधिगत पूर्वाधारलाई समेत अनिवार्य रूपमा व्यवस्थित गर्नुपर्ने जनाएको छ।
बजारमा तरलता र मूल्य अन्वेषण बढाउने लक्ष्य
बोर्डले अन्तरदिवसीय कारोबारबाट सेयर बजारमा तरलता बढ्ने अपेक्षा गरेको छ। एउटै दिनमा खरिद–बिक्री गर्न सकिने भएपछि कारोबारको गति बढ्नुका साथै बजारमा मूल्य अन्वेषण प्रक्रिया थप प्रभावकारी हुने बोर्डको धारणा छ।
आधुनिक पुँजी बजारका लागि आवश्यक कारोबार प्रणाली विकास गर्ने उद्देश्यले पनि यो व्यवस्था अघि बढाइएको हो। तर कारोबार विस्तारसँगै बजारमा कृत्रिम मूल्य प्रभाव, अत्यधिक सट्टेबाजी तथा अन्य प्रकारका दुरुपयोगको जोखिम बढ्न सक्ने भएकाले नियमन र निगरानी प्रणालीलाई बलियो बनाउनुपर्ने अवधारणापत्रमा जोड दिइएको छ।
बोर्डले अन्तरदिवसीय कारोबारलाई परीक्षण तथा पाइलट कार्यक्रममार्फत अघि बढाउने प्रस्ताव गरेको छ। प्रारम्भिक चरणमा सीमित धितोपत्रमा कारोबार सञ्चालन गरी त्यसबाट प्राप्त अनुभव र जोखिम मूल्यांकनका आधारमा थप धितोपत्रलाई योग्य बनाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यसका लागि ब्रोकरको कार्यप्रणाली, कारोबार प्रणाली, जोखिम व्यवस्थापन, लगानीकर्ता संरक्षण र वास्तविक समयको बजार निगरानी प्रणालीलाई समेत परीक्षण गरिनेछ।
बोर्डले लगानीकर्ता संरक्षणलाई अन्तरदिवसीय कारोबार कार्यान्वयनको प्रमुख आधार बनाएको छ। जोखिममा आधारित नियमन, पारदर्शिता, वास्तविक समयको निगरानी र व्यवस्थित कारोबार प्रणालीलाई प्राथमिकतामा राखिएको छ।
अवधारणापत्र तयार गर्ने क्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ तथा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिमा छलफल र अध्ययन गरिएको बोर्डले जनाएको छ।
अर्थ मन्त्रालयले २९ भदौ २०८३ मा जारी गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ तथा बोर्डको चालु आर्थिक वर्षको नीतिमा समेटिएको अन्तरदिवसीय कारोबार कार्यान्वयन गर्ने लक्ष्यअनुसार यो प्रक्रिया अघि बढाइएको हो।
बोर्डले अवधारणापत्र सार्वजनिक गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई प्रस्तावित व्यवस्थामाथि राय, सुझाव र सुधारका क्षेत्र पहिचान गरी सुझाव दिन आग्रह गरेको छ। साथै, मार्जिन ऋण कारोबारसम्बन्धी नियमावलीको मस्यौदालाई पनि प्राप्त सुझाव समेटेर अन्तिम रूप दिने प्रक्रिया अघि बढिरहेको बोर्डले जनाएको छ।


