सुर्खेत: २०८० कात्तिक १७ गतेको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट सदरमुकाम खलंगास्थित ऐतिहासिक जाजरकोट दरबारको एक भाग भत्किएको छ। भूकम्पपछि कमजोर बनेको दरबार समयमै संरक्षण तथा पुनर्निर्माण हुन नसक्दा थप जीर्ण बनेको हो।
ऐतिहासिक अभिलेखअनुसार जाजरकोट दरबार वि.सं. १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको मानिन्छ। दरबार जाजरकोटको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदाका रूपमा रहेको छ।
भूकम्पपछि दरबारका भित्तामा चिरा पर्नुका साथै संरचना कमजोर बनेको थियो। वर्षात् र चिस्यानका कारण क्षति थपिँदै गएपछि अहिले दरबारको एउटा भाग नै भत्किएको छ। बाँकी संरचना पनि जोखिममा रहेको स्थानीय बताउँछन्।
ऐतिहासिक सम्पदाको संरक्षणमा ढिलाइ हुँदा दरबारको मौलिक संरचना नष्ट हुने अवस्था आएको भन्दै स्थानीयले तत्काल संरक्षण तथा पुनर्निर्माणको माग गरेका छन्। जाजरकोटको इतिहास र पर्यटनसँग जोडिएको दरबारको संरक्षणका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने स्थानीयको भनाइ छ।











