२०८३ असोज ३० गते शुक्रबार

युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
prakash_regmi

काठमाडौँ। पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ। अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलजस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकहरु बताउँछन्।

मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले पछिल्लो दुई दशकमा नेपालमा मुटुरोग पाँच गुणाले बढेको बताए। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले अहिले झन्डै ३० प्रतिशत नेपाली मुटुसम्बन्धी समस्याबाट प्रभावित भएको जानकारी दिए।

डा. रेग्मीले भने, ‘विश्वमा दुई करोडभन्दा बढी मानिसहरूको वर्षेनी मुटु रोगबाट मृत्यु भइरहेको छ। नेपालमा ३० हजारभन्दा बढी मानिसहरूको मृत्यु मुटुको रोगबाट भइरहेको पाइन्छ। त्यसैले धेरै मानिसहरू मुटुरोगबाट पीडित हुनुहुन्छ र यो प्रत्येक साल बढ्ने क्रममा छ।’

उनका अनुसार मुटुरोग जीवनशैलीसँग प्रत्यक्ष जोडिएको रोग हो, जीवनशैलीमा सुधार गर्न सके मुटुरोगको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ।

धूम्रपान र सुर्ती प्रमुख जोखिम

डा. रेग्मीका अनुसार मुटुरोग बढ्नुको प्रमुख कारणमध्ये धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन एक हो। नेपालमा ठूलो संख्यामा मानिसले चुरोट तथा सुर्ती सेवन गर्ने गरेको र त्यसले मुटुमा प्रत्यक्ष असर गर्ने उनले बताए।

युवा पुस्तामा समेत चुरोट, हुक्का र भेपिङको प्रयोग बढिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे। उनका अनुसार हुक्का र इलेक्ट्रोनिक सिगरेटलाई फेसनका रूपमा प्रयोग गर्ने प्रवृत्तिले युवाको मुटु स्वास्थ्यमा जोखिम बढाउन सक्छ।

त्यस्तै खानपान पनि मुटुरोगको अर्को महत्वपूर्ण कारण रहेको उनले बताए। धेरै चिल्लो, गुलियो र नुनिलो खाना खाने, प्याकेट तथा बोतलमा पाइने प्रशोधित खाना र तयारी खानेकुरा बढी खाने बानीले मुटुमा असर गर्ने उनको भनाइ छ।

शारीरिक गतिविधिको कमी र मानसिक तनाव

आधुनिक जीवनशैलीका कारण मानिसको शारीरिक गतिविधि घट्दै गएको चिकित्सकहरूको भनाइ छ। डा. रेग्मीका अनुसार सहरी क्षेत्रमा बस्ने झन्डै आधा मानिसले आवश्यक शारीरिक गतिविधि नगर्ने अध्ययनहरूले देखाएका छन्।

टेबलमा बसेर काम गर्ने, कम्प्युटर र मोबाइलमा लामो समय बिताउने तथा टेलिभिजन हेर्ने बानीका कारण युवासहित धेरै मानिसको शारीरिक गतिविधि घटेको उनले बताए।

त्यसैगरी मानसिक तनाव पनि मुटुरोगको जोखिम बढाउने अर्को कारण रहेको उनको भनाइ छ। विशेषगरी युवा पुस्तामा तनाव बढिरहेको र त्यसले विभिन्न प्रकारका मुटुसम्बन्धी समस्या निम्त्याउन सक्ने उनले बताए।

मोटोपन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई समयमै नियन्त्रण नगर्दा पनि मुटुमा गम्भीर असर पर्न सक्ने उनले बताए।

जीवनशैली सुधारसँगै औषधि पनि आवश्यक

मुटुरोगबाट बच्न धूम्रपान तथा सुर्ती सेवन पूर्ण रूपमा छाड्नुपर्ने, नियमित शारीरिक गतिविधि गर्नुपर्ने, खानपानमा ध्यान दिनुपर्ने, मानसिक तनाव व्यवस्थापन गर्नुपर्ने र पर्याप्त निद्रा लिनुपर्ने डा। रेग्मीले बताए।

उनले हरियो सागपात, फलफूल र गेडागुडी बढी खान तर जंकफुड, तयारी वा तारेका, धेरै नुनिला र गुलिया खानेकुरा कम गर्न सुझाव दिए। दैनिक ६ देखि ८ घण्टा निद्रा आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै मोटोपन भएमा तौल घटाउनुपर्ने र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने उनले बताए।

उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोल देखिएमा जीवनशैली सुधारसँगै आवश्यक औषधि सेवन गर्नुपर्नेमा उनले जोड दिए।

‘धेरैजसो अवस्थामा जीवनशैली परिवर्तन गरेर मात्रै पुग्दैन, औषधि नै चाहिन्छ। धेरै जनाले औषधि खाइहाल्न मान्नुहुन्न। कतिपयले औषधि सुरु गरिसकेपछि नियन्त्रणमा आएपछि बीचमै छाड्नुहुन्छ। त्यसले पनि समस्या आउँछ,’ उनले भने।

हृदयाघातको लक्षण बुझ्न आवश्यक

डा. रेग्मीका अनुसार हृदयाघातका कारण हुने मृत्यु रोक्न सबैभन्दा महत्वपूर्ण लक्षण पहिचान गर्नु हो। धेरै मानिसले छाती दुख्दा हृदयाघात भएको नसोची ग्यास्ट्रिक वा अन्य सामान्य समस्या ठान्ने भएकाले अस्पताल पुग्न ढिलाइ हुने गरेको उनले बताए।

छातीको मध्यभागमा असह्य पीडा हुनु, लामो समयसम्म पीडा रहनु, सास फेर्न गाह्रो हुनु, अत्यधिक पसिना आउनु, दुखाइ बायाँ हात, चिउँडो वा ढाडतिर सर्नु, मुटु बेसरी हल्लिनु तथा मृत्युको त्रासजस्तो महसुस हुनु हृदयाघातका सम्भावित लक्षण हुन सक्ने उनले बताए।

‘छातीको मध्यभागमा पीडा हुन्छ। त्यो पीडा लामो समयसम्म रहिरहन्छ, २० मिनेटभन्दा बढी समयसम्म पीडा रहिरह्यो भने सास फेर्न गाह्रो हुने, पसिना आउने, त्यस्तो पीडा बायाँ हाततिर अथवा माथि चिउँडोतिर अथवा पछाडितिर सर्ने हुन्छ। यस्ता खालको लक्षण देखियो भने हार्ट अट्याक हो कि भनेर शङ्का गर्नुपर्ने हुन्छ,’ उनले भने।

कतिपय अवस्थामा छाती दुख्नुको सट्टा पेटको माथिल्लो भागमा दुख्ने वा जलन हुने पनि उनले बताए। यस्तो अवस्थामा धेरैले ग्यास्ट्रिक सम्झेर घरमै बस्ने गरेको भन्दै उनले त्यस्तो लक्षणलाई बेवास्ता नगर्न आग्रह गरे।

‘गोल्डेन आवर’ मा अस्पताल पुग्नुपर्ने

हृदयाघात भएको अवस्थामा जति छिटो उपचार सुरु हुन्छ, त्यति नै मुटुको मांसपेशी बचाउन सकिने डा। रेग्मीको भनाइ छ।

उनका अनुसार हृदयाघात भएपछि मुटुको मांसपेशी क्रमशः मर्दै जाने भएकाले उपचारमा ढिलाइ हुँदा मुटुमा थप क्षति पुग्न सक्छ।

उनले भने,‘छाती दुख्न अथवा छाती पोल्न सुरु भएको १ देखि २ घण्टा, जसलाई हामी ‘गोल्डेन आवर’ भन्छौँ, यो समयभित्र अस्पतालको इमर्जेन्सीमा उपचारको लागि पुग्नुपर्छ।’

इसीजीको सुविधा तथा मुटुरोग विशेषज्ञ उपलब्ध भएको अस्पतालमा जानसके राम्रो हुने, तर त्यस्तो सुविधा तत्काल उपलब्ध नभए नजिकको अस्पतालमा पुगेर इसीजी गराउनुपर्ने उनले बताए।

लक्षण नदेखिँदै पनि मुटुरोग हुनसक्छ

मुटुरोगमा सँधै स्पष्ट लक्षण देखिन्छ भन्ने नभएको डा. रेग्मीले बताए। उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा मुटुका अन्य समस्यामा लक्षण नदेखिन सक्ने भएकाले स्वास्थ्य परीक्षणलाई नियमित बनाउनुपर्ने उनले बताए।

उनका अनुसार ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसीजीलगायतका सामान्य परीक्षणसँगै जोखिमअनुसार थप परीक्षण आवश्यक हुन सक्छ।

वंशमा कम उमेरमै हृदयाघात भएको इतिहास भएमा त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए। केही अवस्थामा सामान्य परीक्षणबाट सबै जोखिम पत्ता नलाग्न सक्ने भएकाले चिकित्सकको सल्लाहअनुसार थप परीक्षण आवश्यक हुन सक्ने उनको भनाइ छ।

युवामा बढ्दो जोखिम

मुटुरोग अब वृद्ध उमेरका मानिसमा मात्रै सीमित नरहेको डा. रेग्मीले बताए। ५० वर्षभन्दा कम उमेरमै हृदयाघात हुने घटना सामान्यजस्तै देखिन थालेको र २० तथा ३० वर्षका युवामा समेत हृदयाघात देखिन थालेको उनले बताए।

युवामा धूम्रपान, जंकफुड, तनाव, शारीरिक गतिविधिको कमी तथा स्वास्थ्यप्रति हेलचेक्र्याइँ प्रमुख समस्या रहेको उनको भनाइ छ।

उनले भने,‘जवानीको जोस हुन्छ। बलियो छु साथै केही पनि भएको छैन भन्ने भावनाले गर्दा स्वास्थ्य परीक्षण र उपचारप्रति हेलचेक्र्याइँ भएको देखिन्छ। जीवनशैलीको साथसाथै हेलचेक्र्याइँ पनि एउटा प्रमुख कारण हो।’

उनका अनुसार स्वस्थ जीवनशैली अपनाएमा मुटुरोगको ठूलो हिस्सा नियन्त्रण गर्न सकिन्छ।

बालबालिकामा पनि मुटुरोगको जोखिम

डा. रेग्मीले बालबालिकामा हुने टन्सिलको संक्रमणलाई पनि बेवास्ता नगर्न आग्रह गरेका छन्। विशेषगरी ५ देखि १५ वर्ष उमेर समूहमा पटक–पटक टन्सिल पाक्ने, घाँटीमा संक्रमण हुने र उपचार नगर्ने अवस्थामा त्यसको असर मुटुसम्म पुग्न सक्ने उनले बताए।

स्ट्रेप्टोकोकस नामक जीवाणुका कारण हुने घाँटीको संक्रमण समयमै उपचार नगर्दा बाथज्वरो हुँदै मुटुको भल्भमा असर पर्न सक्ने उनले बताए।

घाँटीको संक्रमणपछि जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने समस्या देखिएमा पनि मुटुको परीक्षण गर्नुपर्ने उनको सुझाव छ। सुरुकै अवस्थामा समस्या पत्ता लगाएमा मुटुलाई थप क्षति हुनबाट जोगाउन सकिने उनले बताए।

उपचारमा प्रगति, रोकथाममा चुनौती

नेपालमा पछिल्लो तीन दशकमा मुटुरोग उपचार सेवामा उल्लेखनीय विकास भएको डा। रेग्मीले बताए। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको स्थापनापछि नेपालमा विशिष्टीकृत मुटु उपचार सेवाको विकास भएको र अहिले एन्जियोप्लास्टी, पेसमेकर, जटिल शल्यक्रियादेखि भल्भसम्बन्धी उपचारसमेत नेपालमै उपलब्ध रहेको उनले बताए।

तर मुटु उपचार सेवा अझै पनि मुख्यतः काठमाडौँ केन्द्रित रहेको उनले बताए। पोखरा, चितवन र विराटनगरजस्ता केही ठूला सहरमा सेवा विस्तार भए पनि देशका अन्य क्षेत्रमा पनि सेवा विस्तार र विकेन्द्रीकरण आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै सरकारले उपचारमा मात्र नभई रोगको रोकथाममा पनि लगानी बढाउनुपर्ने डा. रेग्मीले बताए। स्वस्थ जीवनशैलीका लागि हिँड्ने ठाउँ, प्रदूषण नियन्त्रण, स्वस्थ खाना, स्वास्थ्य परीक्षणमा पहुँच र धूम्रपान नियन्त्रणजस्ता क्षेत्रमा सरकारले वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

‘उपचारका कार्यक्रमहरू छन्। तर, रोकथामको कार्यक्रम देखिरहेका छैनौँ। सरकारले रोकथाममा लगानी गर्नुपर्ने देख्छु,’ उनले भने।

विश्व मुटु दिवसको अवसरमा डा. रेग्मीले मानिसहरूलाई आफ्नो जीवनशैली सुधार गर्न, नियमित स्वास्थ्य परीक्षण गर्न, धूम्रपान तथा सुर्ती सेवन नगर्न र हृदयाघातका सम्भावित लक्षण देखिएमा तत्काल अस्पताल जान आग्रह गरेका छन्।

हरेक वर्ष २९ सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् २००० देखि मनाउन थालिएको यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ।

यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयाघातका लक्षणबारे सचेत गराउनेतर्फ केन्द्रित रहेको डा। रेग्मीले बताए।

 

प्रकाशित: २०८३ असोज १३ गते मङ्गलबार ०९:३६
प्रतिक्रिया

थप समाचार

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...

धुलिखेल अस्पतालको जनशक्ति ठेक्कामा चलखेल, उजुरीपछि अब के गर्छ प्रशासन?

काभ्रे/धुलिखेल– काठमाडौँ विश्वविद्यालय अन्तर्गत रहेको धुलिखेल अस्पतालको आन्तरिक व्यवस्थापन तथा आपूर्ति सम्बन्धी एक महत्त्वपूर्ण ठेक्का प्रक्रियामा गम्भीर चलखेल भएको आशंका गरिएको छ। धुलिखेल...

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

काठमाडौं महानगरले विपन्नलाई २ लाखसम्म निःशुल्क जलन उपचार गर्ने

काठमाडौँ: काठमाडौं महानगरपालिकाले विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ। यसका लागि महानगरपालिका र कीर्तिपुर अस्पतालबीच सम्झौता...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...
urja
पूर्वाधार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना