आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि व्यवसायी जमशेर अलिमियाले उम्मेदवारी घोषणा गरेका छन्। अलिमियाले मुस्लिम कोटातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कपिलवस्तुकाअलिमियाले निजी क्षेत्र, उद्यमशीलता र युवालाई राजनीतिको मूल एजेन्डासँग जोड्न आफूले उम्मेदवारी दिन लागेको बताएका छन्। व्यवसाय सञ्चालनका क्रममा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण र नेतृत्व तहमा उपयोग गर्दै रोजगारी सिर्जना तथा आर्थिक विकासका विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।
चन्द्रौटालाई व्यवसायिक केन्द्र बनाएर लामो समयदेखि सक्रिय अलिमियाले इँटा, हार्डवेयर, मोटरसाइकल बिक्री तथा मर्मत, पेट्रोल पम्प र टायर व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनी अटल सिमेन्ट प्रालिका अध्यक्षसमेत हुन्। व्यवसायमार्फत उनले करिब ४ सय जनालाई रोजगारी दिएका छन्।
व्यवसायसँगै उद्योगी–व्यवसायीको संस्थागत नेतृत्वमा पनि अलिमियाको लामो संलग्नता छ। उनी चन्द्रौटा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन्। २०६३ सालदेखि संघको अध्यक्षका रूपमा तीन कार्यकाल काम गरेका उनले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा पनि दुई कार्यकाल जिम्मेवारी सम्हालेका छन्।


