काठमाडौँः काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा असोज १५ गतेदेखि २६ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ। उक्त अवधिमा भूमिगत विद्युत् लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक काम गरिनेछ।
तालिकाअनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी, १८ गते गर्जुधारा, २० गते पुनः मुलपानी, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुनेछ। मौसम प्रतिकूल भएमा निर्धारित कटौती नहुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको थियो।
त्यसपछि काठमाडौंका बाँकी सहरी क्षेत्र, ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र हुँदै पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा समेत भूमिगत वितरण प्रणाली विस्तार गर्ने योजना अघि बढाइएको छ।
कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ। भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्ने तथा वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।
यससँगै सडक तथा सहरी क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा प्रदायकका तार अव्यवस्थित रूपमा गुजुल्टिएर देखिने समस्या समेत कम हुने र काठमाडौं उपत्यकाको सहरी सौन्दर्यमा सुधार आउने प्राधिकरणले जनाएको छ।
