काठमाडौँः भारतीय सेयर बजारमा बिहीबार ठूलो गिरावट आएको छ। लगातार चौथो कारोबार दिन बजार ओरालो लाग्दा प्रमुख सूचक सेन्सेक्स १२०० अंकभन्दा बढीले घटेर ७१ हजार ३०० अंकभन्दा तल झरेको छ। त्यस्तै, निफ्टी ५० करिब ४०० अंकले घटेर २२ हजार ३०० अंकभन्दा तल पुगेको छ।
बजारमा आएको तीव्र गिरावटका कारण बम्बे स्टक एक्सचेन्ज (बीएसई) मा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण करिब १० लाख करोड भारतीय रुपैयाँले घटेको छ। यससँगै बीएसईको कुल बजार पुँजीकरण ४६२ लाख करोड भारुभन्दा तल झरेको छ।
ठूला कम्पनीका सेयरमा व्यापक बिक्री चाप देखिएको छ। महिन्द्रा एन्ड महिन्द्रा, मारुती सुजुकी, टाटा स्टिल, अदानी पोट्र्स, अल्ट्राटेक सिमेन्ट, आईटीसी, एचयूएल र बीईएलका सेयर ३ देखि ४ प्रतिशतसम्म घटेका छन्।
त्यस्तै ट्रेन्ट, एलएन्डटी, पावर ग्रिड, बजाज फाइनान्स, इटर्नल र टाइटनका सेयर पनि २ प्रतिशतभन्दा बढीले घटेका छन्। बजार घटिरहेका बेला एचडीएफसी बैंक र कोटक महिन्द्रा बैंकका सेयर भने करिब १ प्रतिशतले बढेका छन्।
मझौला र साना कम्पनीका सेयरमा समेत बिक्री चाप उच्च रह्यो। निफ्टी मिडक्याप १०० र निफ्टी स्मलक्याप १०० दुवै सूचक करिब २ प्रतिशतले घटेका छन्। बजारमा अस्थिरता मापन गर्ने इन्डिया भीआईएक्स पनि १२ प्रतिशतभन्दा बढीले बढेर १५.१५ पुगेको छ।
क्षेत्रगत रूपमा हेर्दा निफ्टी अटो सूचक ४ प्रतिशतभन्दा बढीले घटेर सबैभन्दा ठूलो दबाबमा परेको छ। त्यस्तै मेटल, रियल्टी, कन्जुमर ड्युरेबल्सलगायतका सूचक पनि २ देखि ३ प्रतिशतसम्म घटेका छन्।
बिहीबारको कारोबारमा बजारको अवस्था कति कमजोर थियो भन्ने कुरा नेसनल स्टक एक्सचेन्ज (एनएसई) को बजार विस्तारबाट पनि देखिन्छ। ५९४ कम्पनीको सेयर मूल्य बढ्दा २ हजार ७८९ कम्पनीको मूल्य घटेको थियो भने ९९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
भारतीय बजारमा गिरावट आउनुका ५ प्रमुख कारण
१. विदेशी लगानीकर्ताको बिक्री बढ्नु
भारतीय सेयर बजारमा गिरावटको प्रमुख कारणमध्ये विदेशी संस्थागत लगानीकर्ताको निरन्तर बिक्रीलाई लिइएको छ।
एनएसईको प्रारम्भिक तथ्यांकअनुसार विदेशी लगानीकर्ताले बुधबार मात्रै भारतीय सेयरमा करिब १० हजार १४८ करोड भारुको शुद्ध बिक्री गरेका थिए। त्यसअघि मंगलबार पनि उनीहरूले करिब १० हजार ७४३ करोड भारु बराबरको सेयर बिक्री गरेका थिए।
यससँगै बुधबारसम्म चालू सातामा विदेशी लगानीकर्ताको कुल बिक्री करिब २६ हजार करोड भारु पुगेको छ। ठूलो परिमाणमा विदेशी पुँजी बाहिरिँदा बजारमा लगानीकर्ताको मनोबलमा समेत दबाब परेको देखिन्छ।
२. अमेरिकी बन्डको प्रतिफल बढ्नु
अमेरिकी बन्ड बजारमा पनि पछिल्लो समय बिक्री चाप बढेको छ। त्यसको असर विश्वभरका जोखिमयुक्त सम्पत्तिमा परेको छ।
अमेरिकाको १० वर्षे ट्रेजरी बन्डको प्रतिफल बढेर ५.३१ प्रतिशतसम्म पुगेको छ। यो सन् २००७ यताकै उच्च स्तर हो। रोयटर्सले उद्धृत गरेको एलएसईजी तथ्यांकअनुसार सेप्टेम्बर त्रैमासिकमा यसको प्रतिफल ८७ आधार अंकभन्दा बढी बढेको थियो।
त्यस्तै ३० वर्षे ट्रेजरी बन्डको प्रतिफल पनि ५.६५ प्रतिशतभन्दा माथि पुगेको छ। बन्डको प्रतिफल बढ्दा लगानीकर्ताका लागि ऋणपत्र बजार तुलनात्मक रूपमा आकर्षक बन्न सक्छ, जसले सेयरजस्ता जोखिमयुक्त सम्पत्तिमा दबाब बढाउन सक्छ।
३. भारतीय रुपैयाँ कमजोर हुनु
अमेरिकी डलर बलियो बनेसँगै भारतीय रुपैयाँमा पनि दबाब परेको छ। अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढ्दा डलर सूचकांक तीन महिनाभन्दा बढी अवधिपछिकै उच्च स्तरमा पुगेको छ।
भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा ०.१६ प्रतिशतले कमजोर हुँदै ९५.९८५० रुपैयाँमा पुगेको छ। रुपैयाँ ९६ प्रतिडलरभन्दा माथि जाने क्रममा रहेको देखिएको छ।
बजार विश्लेषक जतीन त्रिवेदीका अनुसार रुपैयाँ ९५.६० देखि ९६.२० को दायरामा रहन सक्ने र समग्र अवस्था सावधानीपूर्ण रहने अनुमान गरिएको छ।
४. अटो कम्पनीका सेयरमा ठूलो गिरावट
भारतीय सेयर बजारमा अटो क्षेत्रका कम्पनीको कमजोर प्रदर्शनले पनि बजारलाई दबाब दिएको छ।
सेप्टेम्बर महिनाको अटो बिक्रीसम्बन्धी तथ्यांक सार्वजनिक भएपछि प्रमुख अटो कम्पनीका सेयरमा बिक्री चाप बढेको हो। गत वर्षको कमजोर आधारका कारण यसपटक बिक्रीमा वृद्धि देखिए पनि बजारको अपेक्षाअनुसार नतिजा नआएको बताइएको छ।
यसको असर महिन्द्रा एन्ड महिन्द्रा र मारुती सुजुकी जस्ता ठूला अटो कम्पनीका सेयरमा देखिएको छ। दुवै कम्पनीका सेयर बिहीबार बजारका प्रमुख घट्ने सेयरमध्ये परेका छन्।
५. निफ्टीका महत्त्वपूर्ण प्राविधिक तह भत्किनु
बजारमा गिरावट थप गहिरिनुको अर्को कारण प्रमुख सूचकले महत्त्वपूर्ण प्राविधिक समर्थन तह गुमाउनु पनि रहेको विश्लेषकहरूले बताएका छन्।
बुधबार निफ्टी ५० २२ हजार ६२० अंकमा बन्द भएको थियो। प्राविधिक विश्लेषकहरूले त्यसअघि २२ हजार ५०० अंकलाई महत्त्वपूर्ण समर्थन तहका रूपमा हेरेका थिए।
बिहीबार निफ्टी उक्त तहभन्दा तल झरेपछि थप बिक्री चाप देखिएको हो। प्राविधिक विश्लेषणअनुसार २२ हजार ५०० को समर्थन भत्किएपछि सूचक २२ हजार ४०० अंकतर्फ जान सक्ने जोखिम देखाइएको थियो।
यसरी विदेशी लगानीकर्ताको निरन्तर बिक्री, अमेरिकी बन्डको बढ्दो प्रतिफल, भारतीय रुपैयाँमा दबाब, अटो क्षेत्रमा आएको गिरावट र महत्त्वपूर्ण प्राविधिक तह भत्किनुले भारतीय सेयर बजारमा एकैदिन ठूलो बिक्री चाप सिर्जना गरेको देखिन्छ।
यसैगरि कच्चा तेल एक प्रमुख ट्रिगर बनेको छ।भारतीय इक्विटीको लागि कच्चा तेल अर्को प्रमुख चर हो। तेहरानले आफ्नो पछिल्लो युद्धविराम प्रस्तावमा वासिङटनको प्रतिक्रिया प्राप्त गरेको बताएपछि ब्रेन्ट कच्चा तेलको फ्युचर्स प्रति ब्यारेल ९८ डलरमा मा झरेको छ।
यद्यपि, कच्चा तेलको मूल्य अस्थिर नै रह्यो। एसियाली व्यापारमा ब्रेन्ट लगभग १.५ प्रतिशत बढेको थियो। उच्च कच्चा तेलको मूल्यले देशको आयात बिल बढाउन सक्छ र मुद्रास्फीति र कर्पोरेट मार्जिनमा दबाब दिन सक्छ। यसले तेलको मूल्यलाई एक महत्त्वपूर्ण बजार ट्रिगर बनाउँछ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)
