काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार करिब स्थिर रहेको नेप्से शुक्रबार भने ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको हो।
नेप्सेसँगै यस दिन कारोबार रकमसमेत घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा शुक्रबार १ करोड १९ लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ। यस दिन कुल कारोबार रकम ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँ रहेको छ।
शुक्रबार कारोबारमा आएको एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ। त्यस्तै, सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। उक्त ऋणपत्रको २६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
