काठमाडौँः हिमालय एयरलाइन्सले काठमाडौँ–हाङझाउ–काठमाडौँ रुटमा सिधा उडान सेवा सुरु गरेको छ। कम्पनीले नेपाल र चीनबीच हवाई सम्पर्क विस्तार गर्ने उद्देश्यसहित सेप्टेम्बर ३० (असोज) १४ गते) देखि नयाँ उडान सञ्चालनमा ल्याएको जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार उडान हुनेछ। हाङझाउबाट काठमाडौँका लागि भने सोमबार र बिहीबार उडान सञ्चालन हुने तालिका रहेको छ। कम्पनीका अनुसार पहिलो उडान सेप्टेम्बर ३० मा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरी अक्टोबर १ मा चीनको हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
पहिलो उडानमा हाङझाउबाट काठमाडौँ फर्किएको विमानमा १५४ चिनियाँ पर्यटकसहित यात्रुहरू आएका थिए। नयाँ सेवाले नेपाल र चीनबीच पर्यटन तथा व्यापारिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा एयरलाइन्सले गरेको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष तथा प्रवक्ता विजय श्रेष्ठले चीनका विभिन्न पर्यटकीय गन्तव्यमा उडान विस्तार गर्ने र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य रहेको बताएका छन्। कम्पनीले चीनमा नयाँ बजार खोज्दै नियमित उडान विस्तार गर्ने योजना पनि अघि सारेको छ।
हिमालय एयरलाइन्सका अनुसार काठमाडौँ–हाङझाउ रुटले दुई देशका नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउन तथा पर्यटन र व्यापार प्रवर्द्धनमा योगदान पुर्याउनेछ। यात्रुले एयरलाइन्सका टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन्।
