काठमाडौँः इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले आगामी सोमबारदेखि हाल उपलब्ध गराउँदै आएका सस्तो मूल्य र कम गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन नसक्ने बताएका छन्।
आईएसपीहरूको तर्फबाट जारी प्रेस विज्ञप्तिमा पछिल्ला वर्षमा मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्य वृद्धि, उच्च मुद्रास्फीति तथा एआईका कारण इलेक्ट्रोनिक्स र चिपसेटको मूल्य बढ्दा सेवा सञ्चालनमै कठिनाइ भएको उल्लेख छ।
विज्ञप्तिअनुसार २०८३ असोज १९ गते सोमबारदेखि सस्तो मूल्यका कम गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ हुने जनाइएको हो। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति आईएसपीहरूले क्षमायाचना गरेका छन्।
नेपालमा पछिल्लो १२ वर्षमा इन्टरनेटको पहुँच उल्लेख्य रूपमा विस्तार भएको र फिक्स्ड ब्रोडब्यान्डको पहुँचमा नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको विज्ञप्तिमा दाबी गरिएको छ। इन्टरनेट सेवा विश्वकै सस्तोमध्ये एक रहेकाले अधिकांश घरधुरीमा सेवा पुगेको पनि उल्लेख गरिएको छ।
आईएसपीहरूले कोरोना महामारीदेखि भोटेकोशीको बाढीसम्मका विभिन्न परिस्थितिमा निरन्तर इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको बताएका छन्। बढ्दो सञ्चालन लागतका बाबजुद हालसम्म सुपथ मूल्यमा सेवा दिँदै आएको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दरअनुसारका इन्टरनेट प्याकेजको मूल्य आफ्नो वेबसाइटमा स्पष्ट रूपमा राख्न सबै आईएसपीलाई आग्रह गरिएको छ। ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल लिनसमेत अनुरोध गरिएको छ।
