काठमाडौँः पछिल्लो समय मुलुकमा नयाँ तारेस्तरका होटल तथा रिसोर्ट खुल्ने क्रम बढेसँगै अन्तर्राष्ट्रिय होटल ब्रान्डको उपस्थिति पनि विस्तार हुँदै गएको छ। काठमाडौँमा मात्र सीमित रहेको अन्तर्राष्ट्रिय होटल चेनको विस्तार अहिले जनकपुर, चितवन, भैरहवा, पोखरा, बर्दिया, धनगढीलगायतका पर्यटकीय क्षेत्रमा समेत पुग्न थालेको छ।
तर, होटलको संख्या थपिँदै गए पनि पर्यटक आगमनमा उतारचढाव, पूर्वाधारको कमी, सडक तथा हवाई कनेक्टिभिटीका समस्या र सञ्चालन लागतजस्ता चुनौती भने कायमै छन्। यही चुनौतीका बीच नेपाली व्यवसायीहरूले पर्यटन क्षेत्रमा नयाँ लगानी थपिरहेका छन्।
पर्यटन क्षेत्रमा चुनौती देखिए पनि व्यवसायी रामेश्वर शाहले होटल तथा पर्यटन पूर्वाधारमा आक्रामकरूपमा लगानी विस्तार गर्ने योजना अघि बढाएका छन्। चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्। जनकपुरपछि मनकामना र बर्दियामा समेत होटल विस्तार गर्ने उनको योजना छ।
सौराहाको रोयल टुलिपपछि जनकपुरमा रामेश्वर शाहको नेतृत्वमा नयाँ पाँच तारे हाेटल, २ अर्ब लगानी
शाहका अनुसार पर्यटन व्यवसाय तत्कालको उतारचढाव हेरेर लगानी रोक्ने क्षेत्र नभई दीर्घकालीन सम्भावनालाई हेरेर अघि बढ्नुपर्ने व्यवसाय हो। उनले भने, ‘व्यवसायमा छोटो समयको उतारचढाव हेरेर दीर्घकालीन लगानी रोकिँदैन। नेपालको अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारमध्ये पर्यटन महत्वपूर्ण क्षेत्र हो। नेपालसँग प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र विविध भूगोल छ।’
जनकपुरमा २ अर्बको पाँचतारे होटल
शाहको समूहले जनकपुरधाममा ‘मिथिला हस्पिटालिटी’ अन्तर्गत पाँचतारे डिलक्स होटल निर्माण गरिरहेको छ। करिब २ अर्ब रूपैयाँ लगानी हुने अनुमान गरिएको होटलमा १२३ वटा डिलक्स कोठा रहनेछन्।
होटलमा प्रेसिडेन्सियल सुइट, एक्जिक्युटिभ सुइट, जुनियर सुइटलगायतका कोठासँगै करिब एक हजार जना क्षमताको बैक्वेट हल निर्माण गर्ने योजना छ। होटलमा मिटिङ हल, क्यासिनो र वेलनेस सेन्टरसमेत रहनेछन्।
आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिप रिसोर्टले पायो पाँचतारे डिलक्स मान्यता
परियोजनाको डिजाइन तथा आर्किटेक्चरल नक्साकंन सम्पन्न भइसकेको छ भने अहिले बाहिरी पूर्वाधार तथा जग निर्माणको काम सुरु भएको शाहले बताए।
उनका अनुसार जनकपुरमा धार्मिक पर्यटनको ठूलो सम्भावना भए पनि स्तरीय होटल पूर्वाधारको अभाव छ।
‘जनकपुरधाम केवल एउटा सहर होइन। यो माता जानकीको जन्मभूमि, भगवान् श्रीरामसँग जोडिएको पवित्र धार्मिक स्थल तथा मिथिला संस्कृतिको केन्द्र हो। तर, अहिले धेरै पर्यटक बिहान काठमाडौँबाट जनकपुर जान्छन्, जानकी मन्दिर दर्शन गर्छन् र बेलुका काठमाडौँ नै फर्किन्छन्। यसको प्रमुख कारण त्यहाँ उच्चस्तरीय आवास तथा आतिथ्य सुविधाको अभाव हो,’ उनले भने।
शाहले जनकपुरलाई धार्मिक पर्यटनसँगै गन्तव्य विवाहको केन्द्रका रूपमा समेत विकास गर्न सकिने बताए। भारतलगायत अन्य मुलुकबाट धार्मिक तथा सांस्कृतिक पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ।
जनकपुरपछि मनकामना र बर्दिया
जनकपुर परियोजनापछि मनकामना र बर्दियामा होटल विस्तार गर्ने योजना रहेको शाहले बताए। धार्मिक पर्यटनका लागि मनकामना र प्रकृति तथा वन्यजन्तु पर्यटनका लागि बर्दियालाई लक्षित गरिएको उनको भनाइ छ।
सौराहामा १.७५ अर्बको रोयल टुलिप लक्जरी रिसोर्ट सञ्चालनमा, क्यासिनो पूर्वाधार पनि बन्दै
उनले भने,‘जनकपुरपछि हाम्रो प्राथमिकतामा मनकामना र बर्दिया छन्। धार्मिक तथा सांस्कृतिक पर्यटनका हिसाबले मनकामनामा ठूलो सम्भावना छ। त्यस्तै बर्दियालाई प्रकृति र वन्यजन्तु पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।’
शाहका अनुसार पर्यटकीय गन्तव्यमा पर्यटक पुग्ने मात्र नभई उनीहरूको बसाइ लम्ब्याउने पूर्वाधार निर्माण गर्नु आवश्यक छ।
उनले चितवनमा नाइट सफारी, स्काई–वाक, क्यानोपी ब्रिज तथा अन्य नयाँ पर्यटन उत्पादन विकास गर्न सकिने बताए। यस्ता गतिविधिले पर्यटकको बसाइ थप एक–दुई रात लम्ब्याउन सहयोग गर्ने उनको भनाइ छ।
पर्यटनको भविष्यप्रति आशावादी
पछिल्लो समय बाढीपहिरो, सडक अवरोधलगायतका कारण पर्यटन व्यवसाय प्रभावित भए पनि यसलाई दीर्घकालीन लगानीको अवरोधका रूपमा लिन नहुने शाहको धारणा छ।
उनले भने,‘नेपालको पर्यटनको भविष्य निकै राम्रो छ। अहिलेको विपद्, सडक अवरोध वा आर्थिक मन्दीका कारण हामी निराश हुनु हुँदैन। तर सम्भावनालाई अवसरमा बदल्न हाम्रो काम गर्ने शैली परिवर्तन गर्नुपर्छ।’
उनले पर्यटन विकासका लागि सबैभन्दा पहिले सडक तथा हवाई कनेक्टिभिटी भरपर्दो बनाउनुपर्ने बताए। मुख्य पर्यटकीय सडक बाह्रै महिना सुरक्षित राख्नुपर्ने र विमानस्थलको विश्वसनीयता बढाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै, निजी क्षेत्रलाई लगानी गर्न सहज हुने गरी सरकारी प्रक्रिया सरल बनाउनुपर्ने उनले बताए।
‘निजी क्षेत्र जोखिम मोलेर जनकपुर, मनकामना, बर्दिया र सौराहामा अर्बौं रूपैयाँ लगानी गर्न तयार छ। राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै पूर्वाधार र नीतिगत सहजीकरण गरिदिनुपर्छ,’ शाहले भने ।
शाहका अनुसार नेपालसँग प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको कमी छैन। ती सम्पदालाई स्तरीय पूर्वाधार र अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके पर्यटन नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्छ।
