काठमाडौँ: मुलुकका प्रमुख शहर र पर्यटकीय गन्तव्यलाई लक्षित गरी ठूला व्यावसायिक घरानाहरूले ठूलो लगानीमा तारे स्तरका होटल तथा रिसोर्ट बनाइरहेका छन्। होटल तथा रिसोर्टमा व्यावसायिक घरानाका साथै बैंक तथा वित्तीय संस्थाहरूको पनि ठूलो ऋण लगानी रहेको छ।
निजी क्षेत्रको केटीएम हस्पिटालिटी लिमिटेडले चितवनको सौराहामा पहिलो पाँचतारे लक्जरी रिसोर्ट बनाएको छ। रिसोर्ट रोयल टुलिप चितवन ब्रान्डमा सञ्चालनमा आएको छ।
केटीएम हस्पिटालिटीले एक अर्ब ७५ करोड रुपैयाँ लगानीमा पाँचतारे लक्जरी रिसोर्ट बनाएको हो। रिसोर्ट सञ्चालनमा आइसकेको केटीएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले बताए। रोयल टुलिप चितवन सौराहाको पहिलो पाँचतारे स्तरको लक्जरी रिसोर्ट हो।
रिसोर्टमा ६५ कोठा रहेका छन्। रिसोर्टमा चारवटा भिल्ला रहेका छन्। होटलले पिउने पानीका लागि आफ्नै बोटलिङ प्लान्ट सञ्चालन गरेको छ। उक्त प्लान्टबाट दैनिक पाँच सय बोटल पानी प्रशोधन हुने अध्यक्ष शाहले जानकारी दिए।
यस्तै, बेकरीको उत्पादन पनि रिसोर्ट आफैँले गर्दै आएको छ। होटल निर्माणका क्रममा आवश्यक ढुङ्गा रामेछाप र बागलुङलगायत जिल्लाबाट ल्याइएको छ। रिसोर्ट निर्माणका क्रममा फर्निचरदेखि अधिकांश वस्तु नेपाली उत्पादन प्रयोग गरेको उनले सुनाए। हाल रिसोर्टमा ९४ जना कार्यरत रहेका छन्। ९० जना नेपाली रहेका छन्। ती मध्य धेरै चितवनका छन्।
रिसोर्टले क्यासिनो सञ्चालनका लागि आवश्यक पूर्वाधार बनाइरहेको छ। छिट्टै क्यासिनो पनि सञ्चालनमा ल्याउने उनले जानकारी दिए।
रिसोर्टले उच्च वर्गका पर्यटकहरूलाई लक्षित गरेको छ। उनका अनुसार सौराहामा विभिन्न स्तरका २४० होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्। सञ्चालनमा रहेको होटलहरूको बेड संख्या छ हजार छ।
तीन बिघा क्षेत्रफलमा रहेको होटलले चारैतिर हरियाली प्रवर्द्धन गरेको छ। होटल परिसरभित्रै हेलिप्याडको पूर्वाधार बनेको छ। भिल्लाभरि नै बोटिङ, फिसिङ मार्ने सुविधा रिसोर्टमा रहेको छ।
होटलको व्यवस्थापन भने युरोपको लुभ्र होटल्स समूहले सम्हालिसकेको छ। रिसोर्ट रोयल टुलिप ब्रान्डमा सञ्चालन भएको छ। विश्व प्रसिद्ध रोयल टुलिप ब्रान्डका कारण गुणस्तरमा कुनै कमी नआउने अध्यक्ष शाहको भनाइ छ। होटलले गुणस्तरीय सेवामा कुनै सम्झौता नगर्ने विश्वास दिलाए।
लुभ्र होटल्स विश्वको दोस्रो ठूलो ब्रान्ड हो। लुभ्रले विभिन्न ७० मुलुकमा १७ सय ५० होटलको व्यवस्थापन सम्हालिरहेको छ। होटलमा एक दर्जन ब्रान्ड नाममा सञ्चालनमा रहेको छ। नेपालमा भित्रिएको रोयल टुलिप लुभ्र होटल्सको सबैभन्दा उच्चस्तरिय लक्जरी ब्रान्ड हो।
केटीएम हस्पिटालिटी सन् २०२० को जनवरीमा स्थापना भएको हो। रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको छ।
गत भदौ २३ र २४ गतेको जनजी आन्दोलनले ठूलो धनजनको क्षति भयो। होटल संघ (हान) का अनुसार हिल्टनलगायत अन्य एक दर्जन होटलमा तोडफोड र आगजनीबाट २५ अर्ब रुपैयाँ क्षति भएको छ। सञ्चालनको तयारीमा रहेका र निर्माण सुरु हुन लागेको होटल परियोजना पनि अहिले स्थगन गर्नुपर्ने अवस्था आएको छ। आन्दोलनको असरले पर्यटक सिजनमा समेत होटल अकुपेन्सी दर न्यून भएको अध्यक्ष शाहले बताए।
सरकारले जंगलभित्रका रिसोर्ट हटाएपछि नेपालमा उच्च वर्गका पर्यटक आउन छाडेका थिए। रोयल टुलिप सञ्चालनमा आएपछि पुनः उच्च वर्गका पर्यटक आउने संभावना बढाएको उनको भनाइ छ।
जंगल सफारीको समय बढाउन सके सौराहाका होटलको अकुपेन्सी दर ३० प्रतिशत बढ्ने उनको भनाइ छ।

