काठमाडौँः विश्व लगानीकर्ता सप्ताह २०२६ को पहिलो दिन नेपालका तीन प्रमुख शहरमा प्रभातफेरी आयोजना गरिएको छ। नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबीएएन) को सहकार्यमा पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी गरिएको हो।
पुँजी बजार, लगानीकर्ता अधिकार तथा हितका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको बोर्डले जनाएको छ।
पोखरामा आयोजित प्रभातफेरीमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा करिब ६ सय जनाको सहभागिता रहेको थियो।
यस्तै, विराटनगरमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा करिब ३ सय ५० जनाको सहभागिता रहेको थियो। सुर्खेतमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको प्रमुख आतिथ्यमा प्रभातफेरी आयोजना गरिएको थियो। कार्यक्रममा करिब ४ सय जना सहभागी भएका थिए।
प्रभातफेरीमा बोर्डका कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता लगायत पुँजी बजारसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
प्रभातफेरीमार्फत लगानीकर्तालाई लगानीपूर्व आवश्यक सूचना तथा जानकारी हासिल गर्न, सम्भावित जोखिम पहिचान गर्न र सचेत एवं जिम्मेवार ढंगले लगानी गर्न प्रेरित गर्ने उद्देश्य राखिएको छ।
विश्व लगानीकर्ता सप्ताह आश्विन १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ। सप्ताहका क्रममा पुँजी बजारसम्बन्धी प्रशिक्षण, वक्तृत्वकला प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता, प्यानल डिस्कसन लगायतका विभिन्न कार्यक्रम आयोजना गरिने बोर्डले जनाएको छ।
