काठमाडौँः काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालस्थित एक घरबाट प्रहरीले २१ किलोभन्दा बढी सुन बरामद गरेको छ। घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार भइरहेको सूचनाका आधारमा सञ्चालन गरिएको ‘अपरेसन ब्राभो गल्फ’ अन्तर्गत तीन चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिएका हुन्। पक्राउ पर्नेमा हान फेई, झाउ लोङक्विन र वाङ जियाङजेन रहेका छन्।
प्रहरीका अनुसार बरामद सुनको तौल प्लास्टिकसहित २१ किलो ७५०.६८ ग्राम छ। सुनचाँदी तथा रत्न तथा आभूषणसम्बन्धी महासंघबाट परीक्षण गराउँदा सुनका बिस्कुट आकारका ढिक्का र अर्धतयारी अवस्थामा रहेको पहेँलो धातु फेला परेको प्रहरीले जनाएको छ। बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको प्रहरीको भनाइ छ।
प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिहरूले भाडामा लिएको घरमा सुन पगाल्ने, प्रशोधन गर्ने र विभिन्न आकारमा ढाल्ने उपकरण राखेका थिए। प्रहरीले सुन प्रशोधनमा प्रयोग हुने मेसिन, तौलने तराजु, बिवाइडी एट्टो ३ गाडी, नेपाली तथा चिनियाँ मुद्रा, राहदानी, एटीएम कार्ड, सिमकार्ड र मोबाइल फोनसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार बिहान करिब ५ः५५ बजे घरबाट गाडी निकालेर जान खोज्दा निगरानीमा रहेको टोलीले उनीहरूलाई रोकेको थियो। त्यसपछि स्थानीय जनप्रतिनिधि र छिमेकीको रोहवरमा गरिएको खानतलासीका क्रममा सुन तथा प्रशोधनका सामग्री फेला परेका थिए। सुनका दुई टुक्रा गाडीभित्र राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले चीनको ग्वाङ्झाउमा बस्ने जेन जियाललाई कारोबारको मुख्य योजनाकारका रूपमा देखाएको छ। पक्राउ परेका व्यक्तिहरूले उनको निर्देशनमा सुन प्रशोधन तथा ओसारपसार गर्ने गरेको प्रहरीको भनाइ छ। सु ख्यान नामका चिनियाँ नागरिकले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाका लागि घर लिएको र २४ जुलाई २०२६ मा सम्झौता गरी १३ लाख २० हजार रुपैयाँ अग्रिम बुझाएको अनुसन्धानबाट खुलेको एसएसपी खड्काले बताए।
प्रहरीका अनुसार हान फेई र झाउ लोङक्विन २७ सेप्टेम्बर २०२६ मा नेपाल आएका थिए। सु ख्यान १ अक्टोबरमा नेपाल आएको अभिलेखबाट खुले पनि उनी हाल नेपालमा नरहेको प्रहरीले जनाएको छ। हान फेईले विमानस्थलस्थित गाडी भाडा सेवाबाट प्रतिदिन ८ हजार रुपैयाँमा बिवाइडी एट्टो ३ भाडामा लिएको पनि अनुसन्धानबाट खुलेको छ।
सुन कहाँबाट ल्याइएको थियो, कहाँ पुर्याउन खोजिएको थियो र कारोबारमा अरू को–को संलग्न छन् भन्ने विषय अझै खुल्न बाँकी छ। प्रहरीले सुन हवाई वा स्थलमार्गमध्ये कुन माध्यमबाट नेपाल भित्रिएको हो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा कारोबारसम्बन्धी निर्देशन विच्याटमार्फत आदानप्रदान हुने गरेको खुलेको छ।
हालसम्म कारोबारमा नेपाली नागरिकको संलग्नता पुष्टि नभएको प्रहरीले जनाएको छ। सुनको स्रोत, आपूर्ति सञ्जाल र मुख्य योजनाकारसँगको सम्बन्धबारे थप अनुसन्धान भइरहेको छ।


