काठमाडौँः संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३ हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छ । राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु भएसँगै यस क्षेत्रमा विद्युत् सेवा थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।
यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएका हटियाका बासिन्दाले अब राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् सेवा पाउने भएका हुन् ।
राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको छ । यसबाट स्थानीय बासिन्दाका साथै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा घरेलु उद्योगसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तार गरी आपूर्तिलाई भरपर्दो बनाउन खटिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, प्राविधिक तथा जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् ।
उनले राष्ट्रिय प्रसारण प्रणाली विस्तारसँगै दुर्गम क्षेत्रमा विद्युत्को उपलब्धता र विश्वसनीयता बढ्ने तथा स्थानीय आर्थिक र सामाजिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने बताएका छन् ।
यसैबीच, चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथांकासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया पनि अघि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले किमाथांकामा विद्युत् पुर्याउन आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।
प्राधिकरणले चालु आर्थिक वर्षभित्रै किमाथांकामा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति पुर्याउने लक्ष्य राखेको छ ।
संखुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारको काम अघि बढाइरहेको छ । जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन् । बाँकी घरधुरीमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ ।
हटियामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि भोटखोलाका थप दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने अभियानले गति लिने अपेक्षा गरिएको छ । किमाथांकासम्म प्रसारण लाइन विस्तारको लक्ष्य पूरा भए चीनसँग सीमा जोडिएको यस क्षेत्रको विद्युत् पहुँच विस्तारमा महत्वपूर्ण उपलब्धि हुनेछ ।


