काठमाडौँः यस पटक सुदूरपश्चिम प्रदेशमा दशैं मनाउन पुर्ख्यौली घर जाने यात्रुको चाप विगतको तुलनामा घटेको छ। प्रदेश राजमार्ग तथा ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार यस वर्ष हालसम्म कैलाली र कञ्चनपुरबाट दशैं–तिहार मनाउन पहाड जाने यात्रुको संख्या एक लाख पुगेको छैन। गत वर्षको दशैंमा तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख ५० हजारभन्दा बढी थियो।
प्रदेश राजमार्ग तथा ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टका अनुसार दशैं सुरु भएको दुई–तीन दिनसम्म मात्रै पहाड जाने यात्रुको चाप देखिएको थियो। बिहीबारदेखि भने पहाड जाने यात्रुको चाप निकै घटेको उनले बताए।
‘आजसम्म तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख पनि कटेको छैन,’ सूचना अधिकारी भट्टले भने, ‘विगतको तुलनामा यस पटक दशैं मनाउन पहाड जाने यात्रुको संख्या धेरै घटेको छ। यसपालि दशैंसम्म पनि पहाड जाने यात्रुको संख्या एक लाख कट्छ जस्तो लाग्दैन।’
अत्तरिया सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लासँग जोडिने प्रमुख यातायात गन्तव्य हो। भारतलगायत देश–विदेशबाट आएका यात्रुले सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जान यही मार्ग प्रयोग गर्ने गर्छन्।
भट्टका अनुसार सामान्य अवस्थामा अत्तरियाहुँदै पहाडतर्फ जाने सार्वजनिक सवारीको संख्या दैनिक ३० देखि ४० वटासम्म हुने गरेको छ। दशैं सुरु भएपछि भने उक्त संख्या बढेर ५० देखि ६० वटासम्म पुगेको थियो।
‘तर विगतमा जस्तो सार्वजनिक यातायातमा यात्रुको अत्यधिक चाप भएको वा यात्रु ठगिएको गुनासो आएको छैन,’ उनले भने, ‘अहिले अवस्था सामान्य छ। पहाड जाने सार्वजनिक सवारीको संख्या पनि एक–दुई दिनयता घटेको छ।’
सुदूरपश्चिम प्रदेशका विभिन्न ३९ स्थानमा यस पटक यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ती कक्षमार्फत यात्रुका गुनासा सुन्ने तथा जनचेतना फैलाउने काम भइरहेको भट्टले बताए।
चालकको अवस्था बुझ्न तथा ट्राफिक व्यवस्थापनका लागि जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा अनुगमन गरिरहेको पनि उनले जानकारी दिए।


