मस्कट- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन्। खड्काले ओमानको राजधानी मस्कटमा बुधवार आयोजित ८औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्दै सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड दिए।
उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैर आवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे। सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने उनको भनाइ छ।
सरकारले एनआरएनका विषयलाई गम्भीर रुपमा लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको पनि बताए। संविधानले परिकल्पना गरे अनुसार नागरिकता ऐन आएको भन्दै छिट्टै नियमावलीको काम सक्ने गरि काम सुरु जानकारीसमेत दिए। सरकार र सिंगो संसद एनआरएनएको पक्षमा रहेको समेत उपप्रधानमन्त्री खड्काले प्रष्ट पारेका थिए।
उपप्रधानमन्त्री खड्काले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन समेत गैर आवासीय नेपालीहरुलाइ आग्रह गरे।
सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार ३० जून, २०२३० सम्पन्न हुनेछ।


