काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुँदैछ। लिगको सम्पूर्ण तयारी सकिएको छ।
तेस्रो संस्करणको उपाधि विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने भएका छन्। क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले आइतबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
उपविजेताले ८० लाख, तृत्तीयले ४० लाख र चौथोले ३० लाख नगद पुरस्कार पाउनेछन्।
लिगमा विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। पहिलो संस्करणमा जनकपुर बोल्ट्स् र दोस्रो संस्करणमा लुम्बिनी लायन्स उपाधि विजेता बनेका थिए।
एनपीएलको तेस्रो संस्करणमा स्पोन्सर र टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको आर्थिक कारोबार हुने अपेक्षा रहेको छ। टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने र एनपीएल २०२६ को कुल कारोबार १५० करोडसम्मको हुने क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिएका छन्।
यसपटकको लिगमा डेविड वार्नर, डेविड मिलर, एन्ड्र्यु रसेल, मोइन अली, साहिबजादा फरहान, इफ्तिखार अहमद, शकिब अल हसन र सिकन्दर राजालगायत ख्यातीप्राप्त विदेशी खेलाडी विभिन्न टोलीबाट सहभागी हुँदैछन्।


