हङकङ- नेपालमा लगानीको सम्भाव्यता र सम्भावना खोजी गर्न मकाउमा सेमिनार आयोजना हुने भएको छ। मकाउमा पहिलो पटक ३ जुलाइ, ०२३ मा यस्तो सेमिनार हुन लागेको हो।
सेमिनारमा चिनियाँ, नेपाली र केही भारतीय व्यवसायीहरु सहभागी हुने बताइएको छ। हङकङस्थित महावाणिज्यदूतको कार्यालयले आयोजना गर्न लागेको सो कार्यक्रममा नेपालबाट लगानी बोर्डका सिइओ सुशील भट्ट, नेपाल सरकारका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारी सहभागी हुँदैछन्। बोर्डका पदाधिकारीहरुले सेमिनारमा सहभागी व्यवासायीहरुसँग छलफल र अन्तरक्रिया गर्नेछन्।
झन्डै ६ दर्जनभन्दा बढी सहभागी हुने सेमिनारमा व्यावसायीहरुबीच नेपालमा लगानीको सम्भावना र यसका अवसरका आयामहरुबारे छलफल हुने आयोजक हङकङस्थित महावाणिज्यदूत उदय रानामगरले बताए। ‘सेमिनारमा हङकङ र मकाउका चिनियाँ व्यवसायीसँगै नेपाली व्यवसायीहरु पनि सहभागी हुनेछन्,’ राना मगरले भने, ‘यसले लगानीको ढोका खोल्ने सम्भावनाहरुबारे केही सकारात्मक पहल गरोस् भन्ने हाम्रो हेतु हो।’
सेमिनारलाई नेपालको लगानी बोर्ड, मकाउ एनआरएनए र नेपाल चेम्बर अफ मकाउले पनि सघाउनेछन्। ‘कन्सुलेट जनरलको अफिसले मकाउमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा हामी उत्साही छौं। यो अत्यन्त सकारात्मक छ’, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउका पूर्वअध्यक्ष पूर्ण गुरुङले नेपाल क्लिक्ससँग भने, ‘ समेनिार फलदायी होस् भन्नेमा सबैको पहल छ।’
