‘चार वर्ष भयो भाइटीकामा बहिनीहरूसँग टीका नलगाएको। यस पटक त नेपाल गएर टीका लगाउन पाइन्छ कि भनेर योजना बनाउँदै थिएँ तर सम्भव भएन’, लण्डनमा बसोबास गर्ने बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगी तिहार सम्झँदै न्यास्रो मानिरहेका छन्।

दाङ घोराहीका स्थायी बासिन्दा पत्रकार योगी पेसाका सिलसिलामा विदेश बस्न थालेको थुप्रै भयो। उनी सम्भव भएसम्म नेपाल आउन खोज्छन्। नेपाली चाडपर्व र संस्कृतिलाई हृदयदेखि सम्मान गर्ने योगी नेपाल जान नसक्दा लण्डनमै आफूलाई व्यस्त राख्ने प्रयत्न गर्छन्। चार जना बहिनीका दाजु पत्रकार योगी यस पटक सामाजिक सञ्जालकै माध्यमबाट बात मार्दै, कथा–व्यथा साट्दै, भलाकुसारी गर्ने र त्यहीबीचमा बहिनीहरूसँग टीका लगाइ माग्ने योजनामा छन्।

योगीमात्र यस्ता एक्ला दाजुभाइ होइनन्, जो सामाजिक सञ्जालका माध्यमबाट तिहार मान्ने सोचमा छन्। उनी जस्ता विदेशमा रहेका थुप्रै दाजुभाइ नेपालमा रहेका दिदीबहिनीसँग सामाजिक सञ्जाल र टेलिफोनका माध्यमबाट तिहार मनाउँदै टीका लगाउने योजनामा छन्।

काभ्रेपलाञ्चोकको चुरिथुम्काका समर खड्काले पनि दुई वर्षदेखि भाइटीकामा दिदीबहिनी भेट्न पाएका छैनन्। एक दशक भयो उनी रोजगारीको सिलसिलामा साउदी अरबको दमाम सहरमा बसिरहेका छन्। निकै रमाइलोसँग तिहार मान्ने अनुभव बोकेका खड्कालाई तिहार नजिकिँदै गर्दा नरमाइलो लाग्न थाल्छ। उनी भन्छन्, ‘तिहार मान्न मन त छ नि। दिदीबहिनीलाई भेटेर टीका लगाउन मन त लागेको छ तर यहाँ दमामबाट भेट्न सम्भव छैन।’

खड्का भिडियो कलमार्फत दिदीले अरू दाजुभाइलाई टीका लगाएको दृश्यमा नै खुसी हुन्छन्। उनी आफ्नो पीडा पुनः पोख्छन्, ‘उहाँ त तिहारको दिन पनि काम गर्नुपर्छ। फोन गरेरै भए पनि टीका थाप्ने फुर्सद मिलाउन गाह्रो छ। कामको बीचमा लन्चको समयमा दिदीलाई फोन गरी अरू दाजुभाइले टीका लगाएको हेर्छु र त्यसैमा खुसी हुन्छु।’

अस्ट्रेलियाको पर्थमा बस्ने दामोदर भण्डारीको अवस्था पनि यस्तै छ। नेपालगन्जका स्थायी बासिन्दा भण्डारी एक भाइ र एउटी दिदी मात्र भएको कुरा बताउँदै भावुक हुन्छन् र भन्छन्, ‘हामी दिदीभाइ अलग अलग हुँदा निकै समस्या छ। यस्तो अवस्थामा हामीलाई अर्कोसँग टीका थाप्ने लगाउने अवसर पनि मिल्दैन।’

पत्रकार पेसामा संलग्न रहेका भण्डारीले तीन वर्ष भयो तिहारमा दिदीको हातको टीका लगाउन पाएका छैनन्। उता दिदीले पनि भाइलाई टीका लगाउन नपाएर दुःखी भएको भण्डारी बताउँछन्। भण्डारी यस पटक सामाजिक सञ्जालबाटै दिदीलाई भेट्ने योजनामा छन्। उनी भन्छन्, ‘सञ्जालबाटै दिदीलाई भेट्छु र आशीर्वाद थाप्छु।’

उनी थप्छन्, ‘टीकाको साइतमा दिदीलाई फोन गर्ने, फोन गरेर दिदीबाट आशीर्वाद लिने, दिदीलाई पनि आशीर्वाद दिने। विभिन्न नेपाली परिकारका खानेकुरा खाने त्यसैगरी मनाउने हो।’

भण्डारी टिभी तथा सामाजिक सञ्जालमा तिहारका धुन पनि सुन्न सक्दैनन्। तिहार झल्किने गीतहरूले नै आँखाबाट आँसु झर्ने उनी सुनाउँछन्। ‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’ भण्डारी भावुक हुँदै भने।

यस्तै अवस्था कञ्चनपुरको महेन्द्रनगरस्थित ऐँठपुर घर हुने भवानी भट्टको पनि छ। भट्ट अहिले जापानको टोकियोमा बस्दै आएका छन्। भट्टका दुईजना दिदीमध्ये एकजना काठमाडौँ र अर्को महेन्द्रनगरमा नै छिन्। सञ्चार व्यवसायमा आबद्ध भट्ट पनि दिदीहरूलाई सम्झिँदै न्यास्रो मान्छन् र नरमाइलो मान्दै तिहार सम्झन्छन्। उनी तिहारका दिन काठमाडौँ र महेन्द्रनगरमा भएकी दिदीसँग फोन गरेरै कुरा गर्ने योजनामा छन्। उनी भन्छन्, ‘नेपाल जान सकिएन। फोन र सामाजिक सञ्जालबाहेक अर्को विकल्प छैन। सामाजिक सञ्जालबाट दिदीको मुख हेर्दै टीका लगाएको अनुभूति सँगाल्छु।’

यसैगरी पूर्व सञ्चारकर्मी तथा स्तम्भकार तर हाल अन्य पेसामा कार्यरत कुमार कार्की भन्छन्, ‘परदेशीहरूको चाडपर्व कि त सप्ताहान्तको छुट्टीमा आउँछ कि अर्को साल आउँछ भन्ने कथन छ, हाम्रो अवस्था पनि यही हो।’

रोजगारीका सन्दर्भमा साउदी अरबको रियादमा बस्ने कार्की परदेशमा रहेका नेपालीको अवस्था अभिव्यक्त गर्छन्, ‘नेपालीले अरू चाडपर्वसरह नै तिहार पनि मनाउँदै आएका छन्।’

उनका अनुसार सहजता हुनेहरूले परदेशमा सँगै रहेका चेलीबेटीहरूबाट भाइटीका ग्रहण गर्छन्। केहीले आफैँले बनाएका नजिकका चेलीबेटीहरूबाट टीका ग्रहण गर्ने गरेका छन्। नेपालमा रहेका दिदीबहिनीहरूलाई विभिन्न सञ्चार माध्यमबाट संवाद गरी शुभकामना साटासाट गर्ने गर्दछन्।

मोरङको उर्लाबारीका स्थायी बासिन्दा कार्की परदेशमा रहेका नेपालीहरूका लागि विगतका वर्षहरूमा भन्दा हालको आधुनिक युगमा चाडपर्व मनाउन अलि सहज, सरल हुँदै गएको बताउँछन्। उनी भन्छन्, ‘विशेष गरी मध्यपूर्वका देशहरू साउदी, कतार, यूएई, बहराइन, कुवेत, ओमन लगायतका देशमा उल्लेख्य मात्रामा नेपालीहरू छन्, हामीहरू यहीँ पनि नेपाली समुदायमा संलग्न भई भाइटीका र दीपावली मनाउँदै आएका छौँ।’

त्यसैगरी विगत २० वर्षदेखि भाइटीकाका दिन टीका लगाउन नपाउँदा सञ्चारकर्मी सहनशीला शर्माको हात खाली नै रहने गरेको छ। चार दिदीबहिनीका एकजना भाइ बेलायतको लण्डन बस्न थालेको २० वर्ष भयो। त्यसयता सहनशीलाका दिदीबहिनीले भाइटीकाका दिन भाइलाई प्रत्यक्ष भेट्न पाएका छैनन्।

मिडिया हाउसका कार्यकारी निर्देशक सहनशीला प्रत्येक वर्ष भाइतिहारमा भाइको बाटो कुर्छिन्, तर भाइलाई सामुन्ने नपाउँदा दुःख मान्नुबाहेक उनीसँग अर्को विकल्प रहँदैन।

हरेक वर्ष तिहार आउँछ, बजारमा फूलमाला र टीकाको रौनक पनि छाउँछ तर सहनशीलाका लागि भने भाइटीका पुरानै सम्झनामा मात्र सीमित रहँदै आएको छ।

सहनशीला चारजना दिदीबहिनी र एक भाइ सबै नै फरक–फरक देशमा छन्। ‘दूरीले टाढा बनाए पनि भाइटीकाको आत्मीयता भने घटेको छैन’ उनी भन्छिन्।

भाइटीकाका दिन उनीहरू फोन र भिडियो कलमा कुरा गर्छन्। दिदीबहिनीले भाइलाई उपहार पठाउँछन् भने भाइले पनि दक्षिणा पठाउँछन्। तर फोनमा देखिने अनुहार र प्रत्यक्ष भेटेर सँगै बसेर टीका लगाउँदाको खुसी एउटै नहुने सहनशीलाको अनुभव छ।

आफ्नो भाइबाहेक काका वा ठूलोबुवाका छोराहरूलाई टीका लगाउने चलन पनि उनीहरूको परिवारमा छैन। सबैका आ–आफ्नै दिदीबहिनी भएकाले अरूलाई टीका लगाउने नगरेको उनी बताउँछिन्।

चारजना दिदीबहिनी मिलेर भाइलाई टीका लगाइदिने, जिस्किने र हाँसोठट्टा गर्ने ती क्षण उनका लागि निकै प्रिय छन्। भाइले दक्षिणा दिँदा दिदीबहिनीलाई जिस्क्याउने गरेको सम्झँदा अहिले पनि उनी अतीतको स्मृतिमा डुब्न पुग्छिन्।

सहनशीला दिदीबहिनीको मात्र होइन, अन्य थुप्रै नेपाली दिदीबहिनीको पनि यस्तै व्यथा छ।

प्रमिला बस्नेतका भाइ पनि दुई वर्षदेखि विदेशमा छन्। यसपालिको तिहार उनी घरमै सामान्य रूपमा मनाउने योजनामा छिन्। भाइ विदेश गएदेखि नै उनले टीका लगाउन पाएकी छैनन्। आफ्नो भाइबाहेक अरू कसैलाई टीका नलगाउने गरेको बताउने प्रमिला भाइ फर्किएपछि विशेष रूपमा तिहार मनाउने प्रतीक्षामा छिन्।

‘भाइ साथमा नहुँदा अलि नरमाइलो महसुस हुन्छ। भाइ हुँदा तिहारको माहोल नै फरक हुन्छ। भाइ नहुँदा खासै तिहार आएकोजस्तो नै महसुस हुँदैन। तिहार नै छैन जस्तो लाग्छ,’ उनी भन्छिन्।

अघिपछिभन्दा तिहारमा भाइको याद बढी आउने अनुभव साट्दै उनी भाइसँगै हुँदा सँगै बसेर टीका लगाउने, रमाइलो गर्ने र उपहार साटासाट गर्ने क्षण अहिले सम्झनामा मात्र सीमित रहेको बताउँछिन्।

रत्ना रायमाझीका लागि भने यसपालिको तिहारमा भाइको सम्झनासँगै वियोग पनि जोडिएको छ। उनका चार दाजुभाइमध्ये एकजनाको हालै निधन भएको छ। बाँकी तीनजना पनि फरक–फरक ठाउँमा छन्।

उनका सबै दाजुभाइ फरक–फरक ठाउँमा रहेको बताउने रत्नामा यसपालिको तिहारमा विगतको जस्तो खुसी छैन।

‘मेरो भाइ भर्खरै बितेका छन्। हामी शोकमा छौँ। त्यसैले यसपालिको तिहार त्यति राम्रो छैन,’ उनी भन्छिन्।

सानैदेखि तिहारलाई दाजुभाइ र दिदीबहिनीबीचको मधुर सम्बन्धका दृष्टिले विशेष दिनका रूपमा लिने गरेको उनी बताउँछिन्। भाइटीकाको दिन परिवारसँगै बसेर मनाउँदाको खुसी सम्झँदा मन आनन्दित हुने भए पनि यसपालि भने भाइको अभावले तिहार नै नरमाइलो बनेको उनको अनुभव छ।

त्यसैगरी, समाजसेवामा सक्रिय सुशीला खड्काका लागि पनि यसपटकको तिहारमा विगतको जस्तो उत्साहजनक छैन। उनका भाइ अस्ट्रेलियामा छन्। भाइलाई टीका नलगाएको दुई वर्ष भइसकेको छ। उनका अनुसार टाढिएको परिवार र भाइसँगको दूरीले तिहारको खुसीमा पनि केही खालीपन थपेको छ।

विगतमा परिवारसँग मिलेर मनाएका तिहार र बाल्यकालका रमाइला क्षणहरू उनको सम्झनामा अझै ताजा छन्। भाइसँग बिताएका ती दिन सम्झिँदा उनी भावुक हुन्छिन्। पहिलेको जस्तो पारिवारिक जमघट र आत्मीयता अहिले महसुस गर्न नपाएको उनको भनाइ छ।

‘तिहार आउँदा पुराना यादहरू धेरै आउँछन्। बाल्यकालमा मनाएको जस्तो रमाइलो त कहिल्यै भएन। समयसँगै सबै कुरा परिवर्तन हुँदै जाँदो रहेछ,’ उनी भन्छिन्। दुई वर्षदेखि भाइको निधारमा सप्तरङ्गी टीका लगाउन नपाएकी सुशीलाका लागि तिहार अहिले उत्सवभन्दा बढी सम्झना र भावनासँग जोडिएको पर्व बनेको छ।  –नेपाल न्युज बैंक