काठमाडौँ– दशरथ रंगशालामा बुधबारदेखि नेपाली फुटबल टिमले लाओस र भुटानको सामना गर्दैछ। प्रतियोगितामा नेपाली फुटबलका दर्शकले धेरै परिवर्तन महसुस गर्नेछन्। खेलका प्रशिक्षकसमेत फेरिएकाले नेपाली टिम नयाँ रणनीतिका साथ अघि बढ्ने छ।
प्रतियोगिता खेल्ने टोलीलाई गोप्य राखेका नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेल सुरु हुनुभन्दा केही घण्टाअघि मात्र घोषणा गरेका छन्। किन यस्तो त? नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो भन्छन्, ‘मैले नेपाली टिमबारे सकारात्मक वा नकारात्मक टिप्पणी नआओस् भनेर ढिलो सार्वजनिक गरेको हो। किनभने म कसैलाई सामाजिक सञ्जालप्रति प्रेरित गर्दिनँ। मैले २३ खेलाडीलाई छानेको थिएँ, मैदान उत्रने खेलाडी जानिबुझीकनै गोप्य राखेको हुँ।’
भिन्सेन्जोले मैदान उतार्न लागेको टिममा धेरैजसो युवा खेलाडी छन्। विशाल राई, दिनेश राजवंशी, तेज तामाङ, सुमन अर्याल, सन्तोष तामाङजस्ता अनुभवी र ९० मिनेट मैदानमा टिक्ने खेलाडी यसपालि छैनन्। यस्तै आशिष लामा, अभिषेक रिजाल पनि टिममा हुने छैनन्। अनुभवी खेलाडी नभएपछि नेपाली टिम मैदानसँगै बेन्च पनि कमजोर बन्ने आकलन गरिएको छ।
नेपाली टिमका मुख्य प्रशिक्षक नियुक्त भएको पनि १८ दिन मात्र भएको छ। फिफा विन्डोअघि सहिद स्मारक ‘ए डिभिजन लिग’ भइरहेको कारण भिन्सेन्जोले खेलाडीसित राम्रोसँग समय बिताउन पनि पाएका छैनन्।
‘हामीले युवा खेलाडी धेरै लिएका छौँ। २३ वर्षभन्दा कमका खेलाडी नै बढी छन्। पछिल्ला १८ दिनमा मैले ठीक खेलाडीलाई छनोट गरेको छु। जारी ए डिभिजन प्रतियोगितामा खेलिरहेका खेलाडीमा गुणस्तर राम्रा छन्। मलाई छान्न पनि गाह्रो भयो,’ प्रशिक्षकले भने।

नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस। तस्बिर : एन्फा
यति छोटो समयमा उनको खेलाडी जाँच्ने आधार चाहिँ के हो त? उनको जवाफ छ, ‘मैले हेर्ने भनेको मैदानको एटिच्युड, प्रेसिङ स्टाइल, डिफेन्सिभ एप्रोच, अट्याकिङ फेस, एयर जम्पिङ, मार्किङलगायतका धेरै स्टफ मैले हेरेको छु। मानिसले एउटा ड्रिबलिङ मात्र हेरेर कस्तो राम्रो खेलाडी भन्छन्। तर त्यहाँ ९० मिनेटमा धेरै कुरा हुन्छन्।’
नेपाली टिमका मुख्य प्रशिक्षक नियुक्त भएको पनि १८ दिन मात्र भएको छ। फिफा विन्डोअघि सहिद स्मारक ‘ए डिभिजन लिग’ भइरहेको कारण भिन्सेन्जोले खेलाडीसित राम्रोसँग समय बिताउन पनि पाएका छैनन्।
यता नेपाली टिमका कप्तान किरणकुमार लिम्बू टिममा थपिएका खेलाडी र प्रशिक्षकसँग धेरै समय बिताउन नपाएकाले आगामी खेललाई चुनौतीपूर्ण मान्छन्। ‘लिगको ब्रेकमा छोटो क्याम्प र कम तयारीले चुनौती त छँदैछ। तर यसलाई स्वीकार गर्न सक्यौँ भने राम्रो हुन्छ होला। यद्यपि सबै खेलाडी फिट देखेको छु,’ उनी आशावादी पनि छन्, ‘खेलाडीको मेन्टालटी पनि ठीकै छ। प्रशिक्षक र खेलाडी दुवै नयाँ भएपनि संयोजन राम्रो हुने आशा छ।’
नेपाली टिमबाट कुवेती प्रशिक्षक बाहिरिएपछि भएका केही खेलहरुमा नेपालकै केही प्रशिक्षकले टिम सम्हालेका थिए। त्यसमा प्रदीप हुमागाईं र प्रवेश कटुवाल भाग्यमानी रहे। ती प्रशिक्षक एक प्रतियोगिताकै लागि थिए।
नेपाली टिममा युरोपेली प्रशिक्षक छन्। उनलाई नेपाली टिमसँग घुलमिल हुन समय लाग्नु अस्वाभाविक होइन। ‘व्यवस्थापक र प्रशिक्षकको टिम र खेलाडीले मलाई सहयोग गरेका छन्। यो नयाँ चुनौतीका लागि मैले सहयोग पाएको छु,’ उनले भनेका छन्।
चुनौती हुँदाहुँदै पनि भिन्सेन्जोले धेरै खेल हेर्ने प्रयास गरेका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गर्ने क्रममा पनि उनले आफूले तीन खेल हेर्न पाएका राम्रा खेलाडीलाई छान्ने बताएका थिए। अहिले सहिद स्मारक ए डिभिजन लिगमा आफूलाई मन परेका खेलाडीमध्ये धेरै घाइते रहेको बताए।
‘मैलै तीनै मैदानमा खेल हेरेँ। ४५ जना जति खेलाडीलाई मजाले हेरेको छु। हरेक टिम हेरेको छु। प्रतियोगिता धेरै नै टाइट भएको छ,’ उनले भने, ‘मैले सबै खेलाडीबारे बुझ्न खोजिरहेको छु। तर मैले मैले छानेका धेरै खेलाडीलाई चोट लागेको छ र केहीले ९० मिनेट खेल्न सकेका छैनन्।’
आफ्नो टिमले जित्नका लागि खेल्ने उनको भनाइ छ। ‘हामी भोलि जित्नको लागि खेल्नेछौं। त्यो महत्वपूर्ण कुरा हो। प्रदर्शन पनि सुधारिएको देख्न पाइनेछ,’ उनी आत्मविश्वासी सुनिए।
प्रशिक्षक भिन्सेन्जोले लाओसविरुद्ध खेलमा नेपालको गुणस्तर हेर्न अनुरोध गरेका छन्। उनले अगाडि भने, ‘प्रदर्शन त आकलन गर्न सकिने कुरा होइन। किनभने म एसियामा र राष्ट्रिय टिममा पनि नयाँ छु। मैले यस्तो काम पहिलो पटक गरिरहेको हो। त्यसैले भोलि नै हेर्नुहोला। गुणस्तर र आशा खेलबाटै थाहा होला। मैले लिगको ‘बेस्ट’ खेलाडी छानेको हो।’
अहिले एन्फाले आफूभन्दा कम वरीयताको देश बोलाएर खेलाएको भनेर उसको आलोचना भइरहेको छ। एन्फाले आफ्नो वरीयताभन्दा माथिका टिमलाई बोलाएर खेलाउन पाएको छैन। तर आफू वरीयता हेरेर नखेल्ने प्रशिक्षक भिन्सेन्जो बताउँछन्।
कम वरीयतामा भएका टिम पनि उत्कृष्ट हुने उनको तर्क छ। ‘र्याङ्किङले फुटबलमा खास असर गर्दैन। जस्तो केही समय अघिसम्म नम्बर एकमा रहेको बेल्जियमलाई नै हेर्नुहोस् न,’ उनी थप्छन्, ‘मलाई लाग्छ त्यो टिम ३० को आसपासमा हुनु ठीक थियो। लाओसले पछिल्लो पाँच खेलमा जित निकालेको छैन। तर पछिल्लो अवे खेलमा बराबरी गरेको छ।’
आफ्नो टिमले जित्नका लागि खेल्ने उनको भनाइ छ। ‘हामी भोलि जित्नको लागि खेल्नेछौं। त्यो महत्वपूर्ण कुरा हो। प्रदर्शन पनि सुधारिएको देख्न पाइनेछ,’ उनी आत्मविश्वासी सुनिए।
आई लिगबाट नेपाल फर्किएका अञ्जन विष्ट चोटबाट फर्किएको प्रशिक्षकले बताए। यता कप्तान किरणले भने अहिले नेपाली फुटबल संक्रमणकालीन अवस्थामा रहेको कारण सबै एकै हुनुपर्ने बताएका छन्। ‘अन्तिममा प्रतियोगिताको लागि तयार हुनुको विकल्प छैन। पुराना खेलाडी विदेश गएर नयाँ खेलाडी आएका छन्। यू-२३ उमेरकै धेरै खेलाडी हुँदा र क्याम्प लामो नहुँदा चाहिँ चुनौती हुन्छ। च्यालेन्ज विना केही पाइन्छ जस्तो चाहिँ लाग्दैन।’

किरणकुमार लिम्बू। तस्बिर : एन्फा
अहिलेको स्क्वाडलाई नै विश्वास गरेर अघि बढ्नु पर्ने बताए। ‘समय अनुसारअघि जानुपर्छ। प्रशिक्षकको नयाँ राणनीतिलाई जान्नु पर्ने छ। हरेक दिन हामीले आफूलाई अघि बढाउनु पर्नेछ। जो आए पनि हामीले नेपालको प्रतिनिधित्व गर्ने हो,’ उनले भने।
भोलिको खेल कस्तो होला? भन्ने प्रश्नका किरणले फुटबललाई अनुमान गर्न नसकिने दाबी पनि गरे। ‘हामीले २०१६ पछि लाओससँग खेल्न लागेको हो। लामो समयपछि र त्यसमाथि पनि फुटबलमा नतिजा विश्लेषण गर्न पनि त सकिँदैन। सात वर्षपछि खेल्न लागेका हौँ। यसबीचमा लाओसले धेरै प्रगति गरेको होला,’ उनले भने, ‘भुटानसँग खेलेको दुई पटक हो। उससँग पनि राम्रो खेल्ने खेलाडी छन्। तर हामी जित्छौँ।’
यता भुटानले भने माल्दिभ्समा भएको साफ च्याम्पियनसिपछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। उसले पनि राम्रो प्रदर्शन गर्ने आशा लिएको छ। लाओसले युवा खेलाडी लिएर नेपाल आएको छ। केही सिनियर खेलाडीलाई छोड्ने हो भने अधिकांश खेलाडी २२ वर्षभन्दा कम उमेरका छन्।
बुधबारदेखि दशरथ रंगशालामा सुरु हुने थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपालले लाओसको सामना गर्नेछ। त्यस्तै मार्च २८ मा नेपाले भुटानसँग खेल्नेछ। त्यसबीच हुने खेलमा भुटान र लाओस खेल्नेछन्। तीनमध्येका उत्कृष्ट दुई टिम फाइनलमा पुग्नेछन्।
फाइनल खेललाई भने फिफाले मान्यता नदिने भएका कारण अभ्यास खेल मात्र मानिनेछ। त्यसअघिका दुई खेल भने अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा गनिने छन्।


