विराटनगर- बागमती प्रदेश र कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत महिला युगलको फाइनलमा प्रवेश गरेका छन्। प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै फाइनल पुगेको हो।
बागमतीका जर्जिया चौधरी र चन्द्रमाया राईको जोडीले लुम्बिनीका ऋतिका चौधरी र बिमला पन्थीलाई हराए। त्यस्तै, कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई हराएर बागमतीसँगको भेट पक्का गरेको हो। कोशीका श्रेया योञ्जन र श्रेया राईको जोडीले लुम्बिनीका रोशिका पोखरेल र सुमित्रा खनाललाई हराए।
प्रतियोगिताअन्तर्गत फाइनल खेल भोलि शनिबार हुने छन्। प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।
महिला तथा पुरुष एकल, महिला तथा पुरुष युगल र मिक्स गरेर पाँच विधामा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीले सहभागिता जनाएका छन्।
सबै विधाका स्वर्ण पदक विजेतालाई नगद ३५ हजार, रजत पदकलाई २५ हजार र कास्य पदक पाउनेलाई समान १० हजार रुपैयाँ प्रदान गरिने मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्यामकुमार लामाले जानकारी दिए।


