काठमाडौं– नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर मानिने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ। १८ असार १९८१ मा जन्मिएका गिरिजाबाबुको ६ चैत २०६६ मा निधन भएको थियो। जन्मजयन्ती अवसरमा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्ज्वलनलगायत कार्यक्रम राखेका छन्।
स्व. कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिको मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए। मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएका थिए।
२०४६ पछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता गिरिजाप्रसाद नै थिए। ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न रहेका थिए। कोइरालाले आफ्नो राजनीतिक जीवनको सुरुआत गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका गिरिजाबाबुलाई निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ।
गिरिजाप्रसाद भारत बिहार राज्यको सहरसा जिल्लाको टेडीमा १८ असार १९८१ म जन्मिएका थिए। त्यसबेला उनका बुबा–आमा भारतमा निर्वासित जीवन बिताइरहेका थिए। उनी कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन्। गिरिजाका दुई दाजु बिपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए। गिरिजाले २००८ मा सुष्मा कोइरालासँष विवाह गरेका थिए भने उनको निधन २०२४ मा भएको थियो।
२००४ मा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरेका थिए, जुन पछि नेपाल ट्रेड युनियन कांग्रेसको रूपमा परिचित बनेको थियो। २००८ मा गिरिजाप्रसाद कोइराला कांग्रेस मोरङ जिल्लाको सभापति बनेका थिए भने २०१७ मा नेपालका तत्कालीन राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाएका बेला पक्राउ नगरुन्जेलसम्म सभापतिको कार्यभार सम्हालिरहेका थिए।
२०२४ मा रिहाइ पाए पछि गिरिजाप्रसाद पार्टी कार्यकर्ता र नेताहरूसँग भारततिर निर्वासित भएका थिए। २०३५ मा नेपाल फर्किएका गिरिजा २०३१ देखि २०४७ सम्म कांग्रेस महासचिव भएका थिएए। गिरिजाप्रसाद २०४६ को जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए, जुन आन्दोलनले पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्था स्थापना गराएको थियो।
२०४६ को जनआन्दोलनपछि नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा उनी मोरङ क्षेत्र १ र सुनसरी क्षेत्र ५ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए। यो निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभा (संसदको तल्लो सदन)मा २०५ सिट मध्ये ११० सिटको बहुमत प्राप्त गरी विजयी भएको थियो। विजयपछि गिरिजाबाबु कांग्रेस पार्टी संसदीय दलका नेता तथा तत्कालीन राजा वीरेन्द्रद्वारा प्रधानमन्त्री नियुक्त भएका थिए।
उनको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालमा नेपालको दरबार हत्याकाण्ड र पहिलो पटक माओवादी विद्रोहविरुद्ध नेपाली सेना परिचालन गर्ने प्रयासमा तत्कालीन राजा ज्ञानेन्द्रले अवरोध गरेपछि २०५८ असारमा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
चौथो कार्यकालमा गिरिजाप्रसाद कोइरालाको राजनीतिक छवि उचाइमा पुगेको थियो। राजालाई शक्तिहीन बनाउने सेनालाई संसद्को नियन्त्रणमा ल्याउने पहलमा गिरिजाबाबुकै योगदान थियो। २१ कात्तिक २०६३ मा गिरिजाप्रसाद कोइराला तथा सात दलका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग मिलेर जनविद्रोह अन्त्य र संविधानसभा निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गरेका थिए।
५ मंसिर २०६३ मा कोइरालाले नेकपा माओवादीसँग विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी हिंसा र आतंकको राजनीति समाप्त भएको घोषणा गरेका थिए। माओवादीलाई मूलधार राजनीतिमा ल्याएका गिरिजाप्रसादले संसद्बाट तत्कालीन राजा ज्ञानेन्द्रका सबै अधिकारी कटौती गरेपछि केही समय नेपालको राष्ट्राध्यक्षको जिम्मेवारीसमेत वहन गरेका थिए।


