काठमाडौं – फाइनल खेलमा स्पेनलको यू २१ पुरुष टिमलाई हराउँदै इंग्ल्यान्डको यू २१ पुरुष फुटबल टिमले युरो कपको उपाधि जितेको छ। जर्जियाको बुटामीस्थित एड्जराबेट एरिनामा सम्पन्न भएको खेलमा इंग्ल्यान्डले १–० को जितसाथ उपाधि जितेको हो।
पहिलो हाफको इन्ज्युरी समयमा कर्टिस जोन्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमै स्पेन एक गोलले पछि परेको थियो। जवाफमा स्पेनले ६५ प्रतिशत बल नियन्त्रणमा राख्दै २१ प्रहार गरे पनि उसको गोल गर्ने योजना सफल भएन।
स्पेनले पेनाल्टीको अवसर पाए पनि जेम्स ट्राफर्डले अन्तिम मिनेटमा पेनाल्टी जोगाएपछि इङ्ल्याण्डले स्पेनलाई हराएको हो। उक्त पेनाल्टी अबिल रुइजले प्रहार गरेक थिए।
यता ९० मिनेट सकिएपछिको इन्ज्युरी समयको १० औं मिनेटमा स्पेनका एन्टोनियो ब्लांको र ११ औं मिनेटमा इंग्ल्यान्डका मोर्गन गिब्स–ह्वाइटले रातो कार्डको सजाय पाएका थिए।
अन्तिममा दुई खेलाडी बाहिरिएसँथै दुवै टिम १० खेलाडीमा समेटिएको थियो। तर यसले खेलमा खास असर भने परेन। यता इंग्ल्यान्डले ४० वर्षपछि युरो कपको उपाधि जितेको छ।
