काठमाडौं – थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। पाँच पुरुष र दुई महिला गरी सात खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन्।
जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दिपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५००÷५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय/८ सय मिटर दौड तथा शिवराज पार्की र आयुश कुँवरले १००/२०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्।
महिलामा राजपुरा पछाईंले ५ हजार मिटर दौड तथा फुलमती रानाले ८ सय/१५०० मिटर दौडमा भाग लिने छन्। मुकेश, शिव र आयुशबाहेक सबै खेलाडी चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्।
प्रशिक्षकमा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ तथा अफिसियलमा जितेन्द्र चौधरी रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले हिजो शनिबार एक कार्यक्रमबीच बिदाइ गरे। टोली आज(आइतबार) थाइल्यान्ड प्रस्थान गर्दै छ।


