२०८३ कार्तिक ११ गते मङ्गलबार

खेलाडी सोध्दैछन्- मेरो देश खै?

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, चैत १९
palayan

सुन्दर भविष्यको खोजी हरेकले गरिरहेका हुन्छन्। देशको शान सुन्दर हुँदा आफ्नो भविष्य पनि सुन्दर हुने सपना धेरै खेलाडीले देखेका हुन्छन्। देशको झण्डा छातीमा राखेर मैदानमा भिडन्त गर्नु धेरै खेलाडीका लागि गर्वको विषय हुँदै हो।

देशको नामबाट खेलेर पटकपटक पदकसमेत दिलाइसकेका खेलाडीका लागि भने देशका नाममा खेल्नु बाध्यताजस्तो मात्र देखिन थालेको छ। राष्ट्रिय टिममा बसेर देशका लागि लामो समय योगदान गरेका खेलाडीहरू हराउने क्रम बढ्दो छ। खेलाडी हराउँदा देशको लगानी पनि सँगै हराउने गरेको छ।

खेलाडी किन हराउँछन् र त्यसको असर घरेलु टोलीमा कस्तो पर्छ भनेर चर्चा गर्नुअघि खेलाडी कसरी हराउँछन् भन्ने विषयमा नेपाली महिला फुटबल टिमकी पूर्वकप्तान रमा सिंह, खेल पत्रकार हिमेशरत्न वज्राचार्य र एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले सँगालेका अनुभव सुनौँ।

नेपाली महिला फुटबल टिमकी पूर्वकप्तान रमा सिंहको अनुभव:
नर्वेजियन फाउन्डेसनको निमन्त्रणामा मैले नेपाली खेलाडी लिएर नर्वे गएकी थिएँ। त्यसबेला हामीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले पठाएको थिएन। त्यहाँ नेपाली महिला फुटबल टिम खेल्न जाँदा खेलाडीले चाउचाउ खाएको फोटो खिचेर राम्रो खाना खान पाएनन् भन्दै प्रचार गरियो। राम्रो खान नपाएको भन्दै तीन जना खेलाडी भागे भनेर समाचार फैलियो। तर खेलाडी भागेको भए पनि चाउचाउको कारण चाहिँ थिएन।

तीन जना केटी (खेलाडी) आफ्नो दाइलाई भेट्न भनेर बाहिर गएका रहेछन्। बाहिर गएका केटीहरू भोलिपल्ट फ्लाइट हुँदा राति १२ बजेसम्म पनि फर्किएनन्। तर उनीहरुले पासपोर्ट राखेको ब्याग छोडेर गएका थिए। दाईहरूलाई सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन। उनीहरुका मिल्ने साथीलाई साध्दा पनि आउँदैनन् भनेको थाहा भयो।

पूर्वकप्तान रमा सिंह। तस्बिर : केशव थापा/एनएसजेएफ

उनीहरु आउँदैनन्, तिमीहरू जाऊ भनेर छोडेर आएको भए हुन्थ्यो। विदेशमा बस्थे, पैसा कमाउँथे भन्ने पनि लाग्यो। तर हामीले देशको प्रतिनिधित्व गरिरहेका थियौँ। उनीहरू भागिरहेका थिए।

मैले पुलिसकोमा जाने निधोँ गरेँ। तर यहाँ बस्ने नेपालीले ‘अरु नेपालीलाई भगाउन सहयोग गर्छ तिमीले चाहिँ किन नगरेको?’ भनेर मलाई उल्टै प्रश्न गरियो।

प्रहरीमा सूचना दिएपछि मलाई पनि प्रहरीले केरकार गर्‍यो। एक घण्टा जति केरकार गर्‍यो। मैले बयान दिएँ। मेरो खेलाडीलाई भेटाउन अनुरोध गरेँ। हामी त भोलिपल्ट फर्किहाल्यौँ। त्यसको तीन चार महिनापछि ती खेलाडी पनि फर्किए। तर ती खेलाडी नेपाल फर्किएर मसँग बोलेनन्। बरु बाहिरबाहिर मलाई नै गाली गर्दै हिँडे रे।

एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङको अनुभव
१३औँ दक्षिण एसियाली खेलकुदको लागि सबै खेलाडी बन्द प्रशिक्षण राजधानीको होटेलमा थियौँ। खेलकुदको लागि दुई दिन बाँकी रहँदा तयारी सकिएको थियो।

जानकारी दिएको भए भिसा रोक्न सकिँदैन थियो, हामी सल्लाह दिन्थ्यौँ। त्यहाँ सहायक प्रशिक्षकहरु थिए। तुलसाले आफ्नो बाबाको पथरीको अपरेसन छ बुबासँग एक जना मात्र भएको कारण अस्पताल जानुपर्ने बताइछन्। अभ्यास सकेर होटेल फर्किसकेको बेलुकाको कुरा हो। उनी विदेश उडिसकेपछि मेसेज छोडिछन्।

त्यहाँ भएका तीन महिला प्रशिक्षकलाई थाहै रहेनछ। मलाई पनि पछि मात्र थाहा भयो। मैले एसो हेरेँ, कसरी गइन्? किन गइन् भनेर खुल्दुली भयो। निवेदन दिएर गएको भन्ने थाहा भयो।

उसै गरी अर्का खेलाडी पनि भागेछन्। उनले चाहिँ बेलुका मलाई फोन गरेर ‘बिहान पूजाको साङ्गे गर्नुपर्ने छ गुरु!’ भनिन्। मैले प्रशिक्षण गराउने सम्बन्धित प्रशिक्षकलाई सोध्न भनेको थिएँ। त्यसपछि उनले राकेश (प्रशिक्षक)लाई सोधेर बिहान आठ बजे फर्केर आउने सर्तमा फूल, धुपबात्ती, नरिवललगायत पूजाको सामग्री बोकेर गइछन्।

एकैपटक मेसेज आयो –जुन अहिलेसम्म मैले डिलिट गरेको छैन। म्यासेजमा लेखिएको थियो, ‘सरी गुरु मैले चहाँदाचहाँदै पनि खेल्न पाइन।’

साफ आउन दुई दिन मात्र बाँकी थियो। उनले विदेश उडेर साथीलाई भनेपछि बल्ल हामीले थाहा पाएको हो। हामीलाई त भाग्ने हेक्का नै भएन। त्यो सोच्ने कुरा पनि थिएन। तर उनीहरु हामीलाई झुक्याएर गए।

एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ।

अहिले त्यसको धेरै समय भयो, अनि खेलाडी किन यसरी विदेशिन्छन् भन्ने पनि सबैलाई थाहा नै छ। खेलाडीलाई दुःख छ, थाहा छ। यहाँ हामीलाई पनि दुःख नै छ। त्यस्तै दुःख देखेर केशरी चौधरी विदेशिएकी थिइन्। अहिले उनको कमाई राम्रै छ। विभागले प्रोमोसन नदिँदा उनले राजीनामा दिएर गएकी थिइन्। उनी विदेशिँदा मैले आफ्नै सञ्चयकोषको रकम खर्च गरेको छु।

पत्रकार हिमेशरत्न वज्राचार्यको अनुभव:
सन् २००३ मा एसिया कपको छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमसँग मेरो पहिलो विदेश भ्रमण थियो। अफगानिस्तान, कीर्गिस्थान र नेपालबीचको पहिलो चरणका खेल काठमाडौँमा सकिइसकेका थिए। त्यो टुरमा जानुअघि खेलाडी हराउँछ भन्ने हल्ला व्यापक थियो। तर को हराउँछ? जो हेर्दा पनि त्यो चाहिँ हराउँछ होला भन्ने लाग्थ्यो।

टोलीमा दुई जना प्रशिक्षक थिए। प्रशिक्षक कृष्ण र महेश्वरमुनि थिए। मेरो नजिकका साथी नारायण मानन्धर थिए। उनले खेलाडीलाई पैसा दियो भने हराउँछन्, होसले बस्नुपर्छलगायतका धेरै कुरा सिकाउँथे। पहिलो खेल ओमनसँग थियो नेपालले सात गोल खाइहाल्यो। भियतनामसँगको दोस्रो खेलमा पनि पाँच गोल खायो, त्यो दुई खेल सकिएपछि कोरियाविरुद्ध खेल थियो।

खेलको अघिल्लो राति खेलाडी हराए। तर जो जो हाराउलान् भनेर शंका गरिएको थियो ती खेलाडी हराएनन्। जसलाई शंका गरिएको थिएन, तिनै पो हराएछन्। भागे। कता भागे भागे!

नारायण मानन्धर, दीपक लामा र शुक्र तामाङ राति नै हिँडेछन्। राति अफिसियल खेलाडी भाग्लान् भनेर लबीमा रुँगेर बस्थे। २ बजेतिर सुत्न जान्थे। तर उनीहरू नै भागेछन्। खेलाडी भागे भनेर बिहान हल्ला आयो।

हामी सुतेका थियौँ। पुलिसले सबै होटेल घेरिसकेछ। हामीलाई पनि कोठाबाट निस्कन दिएन। जहाँ जानुपरे पनि पुलिसले घरेर मात्र लैजान्थ्यो। अफिसियलले हामी भाग्दैनौँ, भाग्ने जति भागिसके भनेर सम्झाउँदा पनि पुलिस मानेन। उनीहरुले चाहिँ पानीमुनि गए पनि समाएर ल्याउँछौ भन्थे। तर अरू नेपालीले के भन्थे भने, ‘यिनीहरुले नेपाली कामदार सस्तोमा पाउँछन्। समाउँदैनन्।’ भयो पनि त्यस्तै। प्रहरीले कसैलाई पनि समाएन। उनीहरू १० कि १५ वर्षपछि फर्किए रे भन्ने सुनियो।

खेलाडी भागेपछि भएको कोरियाविरुद्धको खेलमा नै नेपालले १६ गोल खाएको थियो। तर त्यो खेलमा पनि सुरुको २० मिनेटसम्म गोल खाएको थिएन। गोल खान थालेपछि ड्याङका–ड्याङ खायो। यता पेपरमा खेलाडी कम थिए। मलाई त आफैं मैदानमा गएर खेल्न पाउँछु कि भन्ने पो लागेको थियो। तर त्यस्तो भएन। त्यो नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो हारका रूपमा दर्ज भएको छ। एसिया कपअन्तर्गत दक्षिण कोरिया र ओमनमा खेलेपछि नेपालले दुई वर्ष अन्तर्राष्ट्रिय फुटबल नै खेलेन।

000

खेलकुदमा यस्ता कयौँ घटनाका छन् जसको बयान गरिसाध्य छैन। खेल्दाखेल्दै नेपाली खेलाडी यसरी थाक्छन् कि उनीहरू फेरि खेल्नका लागि पाइला उठाउनै सक्दैनन्। त्यो थकान शारीरिक हुँदैन, बरु मानसिक हुन्छ। फतक्क गलेको मानसिक स्थितिले खेलाडीलाई पुनः मैदानमा फर्कन सक्ने अवस्थामा नै पुर्‍याउँदैन। नेपाली खेलकुद यसरी गुज्रिएको वर्षौँ बितिसकेको छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित निकालेपछि फहराएको झण्डाले विश्वमाझ नेपाल चिनाइरहँदा बदलामा खेलाडीले के पाए? एउटा प्रमाणपत्र अनि अन्योल भविष्य। त्यसपछि राजेका हुन् पासपोर्टसँगै खोलिएका बाँकी विकल्प।

देशमा संगीता धामीजस्तै धेरै कीर्तिमानी खेलाडी छन्, जो बेरोजगारीको सिकार छन्। संगीता तिनै खेलाडी हुन् जसले कुस्तीमा १३औं र नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितिन्। तर, घरको आर्थिक अवस्थाका कारण पछिल्लो प्रतिनिधि सभा चुनावमा म्यादी प्रहरी बन्ने पुगेकी थिइन्।

संगीता धामी।

‘हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा गर्‍यौँ,’ संगीतालाई उद्धृत गर्दै त्यतिबेला राष्ट्रिय समाचार समितिले लेखेको थियो, ‘तर राज्यले इतिहास रच्ने खेलाडीको रोजगारीको ग्यारेन्टी नगर्दा ‘खेलाडी हुँ’ भन्न पनि गाह्रो मान्नुपर्ने अवस्था आयो।’

हो, १३औँ सागमा मेडल पाएका कयौँ खेलाडी अहिले कहाँ छन् सम्बन्धित निकायलाई नै पत्तो छैन। आपसी राजनीतिले थिचिएका कराँते र तेक्वान्दोका सबै स्वर्ण विजेता खेलाडी खेल छोडेर अन्तै पुगिसके।

रहर भन्ने कि बाध्यता? लहैलहैमा भरेको डीभी चिट्ठाले कसैलाई अमेरिका पुर्‍याएको छ। देश नै ठीक लाग्नेहरुले त किन डीभी चिठ्ठा भर्थे होलान्? यस्तै खेलाडीमध्ये एक हुन्, टेबल टेनिस स्टार दीप साउन।

विधान लामाले देश छोडेको कथा लेख्ने हो भने त एउटा फरक कथा बन्छ। नेपालका कीर्तिमानी खेलाडी विधानले बनाएको रेकर्ड कसले तोड्न सक्ला? तर उनको खेल्ने सपनालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र तेक्वान्दो संघले वास्ता नगरेपछि उनी विदेशिए।

नेपाली क्रिकेटको आरोहअवरोहमा सँधै साथ भइरहेका अराउन्डर वरदान चालिसे कता हराए? उनले क्रिकेटबाट किन हात धुनुपर्‍यो? उनी क्रिकेटमै थिए भने नेपालले इंग्ल्यान्ड, पाकिस्तान, बंगलादेशजस्ता देशविरुद्ध खेल खेल्दाको अनुभव अहिलेसम्म ‘ज्युँका त्युँ’ हुने थियो। त्यो खेलमै लगानी हुने थियो। तर वरदान न खेलबाट पैसा पाए न रोजगारी न केरियर देखे।

एक आम खेलाडी मात्र होइन, राष्ट्रिय फुटबल टिमको कप्तानले पनि कसरी हराउनु पर्छ भन्ने कथा साजना राना मगरको कथाले बुझाउँछ। परिवारको आर्थिक अवस्था फुटबलले नउकास्ने देखेपछि उनी खाडी पसिन्। नेपाली भलिबलमा धेरै योगादन दिएकी नीता शाहले पनि अन्तिममा खाडी नै रोज्नुपर्‍यो। यसरी खेलमा जित्दाजित्दै पनि जीविकोपार्जनमा हारेका खेलाडी गनिसाध्य छैन।

तीन वर्ष अघिको कुरा मात्र हो, देशमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को लागि बन्द प्रशिक्षणमा रहेकै बेलामा पनि खेलाडी पलायन भएको विषय माथि पनि उल्लेख छ। यो त देशकै लागि धब्बा लाग्ने विषय भयो। तर सरकार निरीह छ। एथ्लेटिक्सकी केशरी चौधरी जस्ता कीर्तिमानी खेलाडी विदेशिँदा कसैलाई वास्तै भएन।

जति खेलाडीले खेलजीवन बीचैमा त्यागे, खेलेकोमा कसैलाई पछुतो नरहेको बताउँछन्। तर पीडा यो छ कि खेलकुदमा लागेर पनि भविष्य सुनिश्चित बन्दो रहेनछ। भागेरै खेलकुदमा लागेका कतिपय खेलाडीले अन्तर्राष्ट्रिय सफलता पाउँदा गाउँ परिवार दंग हुने गर्छ। तर जब खेलाडीमा परिवारको जिम्मेवारी बढ्दै जान्छ, अनि देखिन्छ खेलको कुरुप दृष्य। बल्ल थाहा हुन्छ आखिर मेडलले त भोक नमर्ने रहेछ, आङ नढाकिने रहेछ।

यस्तै कथा छ, दक्षिण एसियाली खेलकुदको अभ्यास मैदानबाटै विदेशिएकी तुलसी खत्रीको। भन्नेले त भने उनले देशको हितमा काम गरिनन्। तर खेलका उपलब्धिले पूरा गर्न नसक्ने अभाव त उनीसँग थियो।

१३औँ साफमा जित्नेमध्ये १२ जना बिदेशिएका छन्। यो तस्बिरमा भएका धेरैजसो खेलाडी पलायन भइसकेका छन्।

देशले पाउने पदकको लागि संघर्ष गर्दागर्दै विदेशीका खेलाडी त जुडोका रमेश मगर, कराँते खेलाडी सुनील लामा पनि त हुन्। गोललाइन र चोटलाई बीचमा फुटबल पछ्याइरहँदा कहिले जीवनको गोल ट्राकबाहिर गयो। हेमन गुरुङलाई पत्तै भएन क्यार। अन्ततः उनी पनि उज्यालो जीवन खोज्दै अस्ट्रेलिया पुगे। हेमन टिममा रहँदा नेपालले तीन ठूला उपाधि जितेको थियो त्यो हो- बंगबन्धु गोल्डकप। १३औँ साग र एएफसी सोलिडारिटी कप। यति धेरै उपाधि जितेका खेलाडीको लागि पनि भविष्य पासपोर्ट र भिसा नै रह्यो।

हेमनपछि अस्ट्रेलिया पुग्ने फुटबलरको नाम मात्र सम्झने हो भने पनि तीन वटा फुटबल टिम पुग्छ। त्यसको असर अहिले राष्ट्रिय टिममा छर्लङ्गै देखिएको छ। पछिल्लो खेलमा नेपाली टिमका युवा खेलाडी आयुष घलान म्यान अफ दि म्याच बने। अन्य खेलाडीसँगै उनको पनि अस्ट्रेलियाको भिसा आएको भए नेपालले अर्को होनहार खेलाडी गुमाइसकेको हुने थियो।

सागमै तेक्वान्दोबाट रजत जितेका किरण आले र कृष्णबहादुर तामाङ ८ महिना अगाडि दक्षिण कोरियामा एसियन तेक्वान्दो खेल्न गएपछि फर्किएनन्। आफ्नै खर्चमा कोरियामा खेल्न गएका उनीहरु मात्र होइन, सागमा स्वर्ण जितेकै आधा दर्जन खेलाडी विदेशिएका तथ्यांक ताजै छ।

शायद यस्तै कुराहरुले हुनुपर्छ अहिले तेक्वान्दो संघले अमेरिका, कोरिया, युरोपेली देशहरुमा जान आफूले खेलाडीलाई सिफारिस नगर्ने जानकारी दिएको छ। आपसी राजनीतिमा जेलिएर खेलाडीको भविष्य अन्यौलमा बनाएको आरोप लाग्ने गरेको छ। नेपाल तेक्वान्दो संघका महासचिव यसबारे खुलेर बोल्नै चहाँदैनन्। त्यसमाथि बेल्ट अपग्रेडको नाममा खेलाडीबाट लाखौँ कुम्ल्याउने आरोप संघले खेप्दै आएको छ।

ब्याडमिन्टनमा बलराम थापा र पशुपति पनेरु लामै समय घरेलु मैदानमा जमे। उनीहरू २०५० को दशकको अन्तिम तिर खेलजीवनलाई चटक्कै त्यागेर अमेरिका लागे। उनीहरुसँगै महिलामा एकछत्र राज जमाएकी सुमिना श्रेष्ठ पनि विदेशिइन्। त्यसबेलासम्म उत्कर्षमा रहेको नेपाली ब्याडमिन्टनको स्तर ह्वात्तै खस्कियो। यद्यपि ब्याडमिन्टन प्रशिक्षक किरण थापा यो कुरालाई उनीहरुको उमेर सकिएपछि विदेश गएको बताउँछन्। खेर जे होस्, उनीहरुको पलायनपछि आजसम्म पनि नेपाली ब्याडमिन्टन त्यो स्तरमा पुग्न सकेको छैन। क्रिकेटका बसन्त रेग्मी र पृथु बास्कोटाले पनि नेपालमा खेल्नु भन्दा नखेल्नु नै उत्तम ठाने।

फुटबलका दर्जनौं खलाडी पलायन
यो वर्ष मात्रै फुटबलका तीन टिम पुग्ने खेलाडी पलायन भए। कति खेलाडी खाडि गए, धेरै जसो अस्ट्रेलिया। उनीहरुले त्यहाँ के गरिरहेका छन् भन्ने कुरा कसैलाई पत्तो छैन। अस्ट्रेलियामा जाने खेलाडीले भने नेपाली समुदायले आयोजना गर्ने सामुदायिक स्तरका प्रतियोगिता खेल्ने हल्ला फुटबल वृत्तमा छ।

एक पोडकास्टमा बोल्ने क्रममा फुटबलर डोना थापाले अस्ट्रेलिया जाने खेलाडीहरुले निर्माणमा लेबरको काम गर्ने दाबी गरेका थिए। तर उनले भनेको कुरालाई पुष्टी हुने कुनै तथ्य पाइँदैन। त्यसमाथि त्यता गएका खेलाडीले पनि आफूले के गरिरहेका छन् भन्ने जानकारी नदिँदा यो विषयमा पनि अन्यौलमै छ।

अस्ट्रेलिया गएका खेलाडी पनि त्यहाँको स्थितबारे बोल्न मानेका छैनन्। यद्यपि जगजित श्रेष्ठ र निरज बस्नेतले भने अस्ट्रेलिया र न्युजिल्यान्डमा व्यावसायिक फुटबल खेल्ने बनाएइको छ।

राष्ट्रिय टिमबाटै राम्रो प्रदर्शन गरिरहेका दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी, सुनील बल, सरोज दहाल र विशाल राईजस्ता खेलाडी बाहिरिएपछि नेपाली फुटबल टिम नै संकटमा परेको छ। यस्तोमा नेपालमा फुटबल खेल्न आएको भुटानी फुटबल टिमका प्रशिक्षक पेमा पेमाले नेपाली फुटबलको स्तर खस्किएको बताए।

अस्ट्रेलिया पुगेका फुटबलर विशाल राई।

‘यहाँको धेरै फुटबल खेलाडी अस्ट्रेलिया गएको छ। अनि नेपाली फुटबलको स्तर पहिलेको भन्दा घटेको जस्तो लाग्यो,’ उनको टिमले पहिलो पटक नेपालसँग बराबरी खेलेपछि भनेका थिए।

असरः खेलाडीको प्रदर्शन घट्यो
फुटबल खेलाडी विदेशिएका कारण जारी सहिद स्मारक ए डिभिजन लिगको प्रदर्शन घटेको थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसी बताउँछन्। उनलाई लाग्छ अनुभवी खेलाडी नै विदेशिएपछि लिगको रोमाञ्चकता नै हराएको छ।

सातदोबाटोविरुद्ध जित निकालेपछि पोस्ट म्याच प्रेस कन्फ्रेन्समा भनेका छन्, ‘घरेलु फुटबलकै उच्चस्तरका ४०-५० खेलाडी विदेशिए। उनीहरूको अभावमा लिगको स्तर घट्यो। गत सिजन लिग खेलेका ८-१० खेलाडी यसपालि नहुँदा खासै फरक पर्दैन थियो। तर त्यत्तिको ठूलो संख्यामा खेलाडी बाहिरिएपछि लिगको स्तरमा फरक पर्नु स्वाभाविक हो,’ उनले अगाडि भने, ‘तर यी नयाँ खेलाडी पनि कति समय नेपालमा रहन्छन्, टुंगो छैन। यो अहिलेको मुख्य भय हो।’

खेलाडी विदेशिएपछि लिग मात्र होइन, राष्ट्रिय टिम निर्माणमै असर गर्‍यो। पछिल्लो पटक अन्तर्राष्ट्रिय खेलेका आधा खेलाडी पलायन भएपछि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्जेन्जो अल्बार्टो एनेसलाई पनि खेलाडी छान्न सकस पर्यो।

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस।

पहिलो खेलमा लाओसविरुद्ध जित निकालेको दिन डिफेन्डर अनन्त तामाङले भनेका छन्, ‘हामीले पोसेसनमा धेरै वर्कआउट गर्नुपर्छ। लाओसविरुद्धको खेलमा कम्बिनेसन नै मिलेको थिएन। खेल्न धेरै केही गाह्रो। भयो।’

त्यस्तै पछिल्लो खेलमा नेपालले भुटानविरुद्ध इतिहासमै खराब प्रदर्शन गर्‍यो। ‘हाम्रो आज फरवार्ड देखि डिफेन्सनै कोल्याप्स भयो। हामीले खेल्नै सकेनौँ,’ खेलपछि नेपाली टिमका कप्तान किरण कुमार लिम्बूले भनेका छन्। खेलाडी पलायन भइरहेपछि तेक्वान्दो, कराँतेलगायत खेलको पनि राष्ट्रिय टिम निर्माणमा असर गरेको छ।

खेर जाँदै सरकारको लगानी
१३औँ साग सम्पन्न गर्नका लागि एक अर्ब ३१ करोड ७८ लाखभन्दा धेरै रकम खर्च भएको थियो। त्यसमा ठूलो रकम खेलाडीको तयारीका लागि लाग्यो। राष्ट्रिय टिम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९३९ रुपैयाँ खर्च भएको राखेपले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। यो रकम त एक प्रतियोगिताको मात्र हो। एक खेलाडीलाई ग्रासरुटबाट राष्ट्रिय टिमसम्म पुर्‍याउनका लागि लाखौं खर्च हुने गरेका छन्।

हालै रोजगारीका लागि अस्ट्रेलिया पुगेका सुजल श्रेष्ठ।

त्यसमाथि खेलकुद यस्तो विधा हो जसमा सयौं मानिसबाट एक सक्षम खेलाडी बन्छन्। उनीहरुलाई खोज्नको लागि ठूलै लगानी लाग्छ। नवौं राष्ट्रिय खेकुलद आयोजनाको लागि मात्र ६० करोड बजेट छुट्टिएको थियो। त्यसमाथि प्रदेशले पनि ठूलै लागनी गरे। तर त्यहाँ राम्रो प्रदर्शन गर्ने खेलाडीलाई सरकार, राखेप वा संघले नै निकटका प्रतियोगिता निश्चित गर्न सकेका छैनन्। उनीहरु खेलमा लागिरहने वारतवण बन्न सकेको छैन। प्रतियोगिता भए पनि आफ्नै खर्चमा खेल्नुपर्ने बाध्यता छ।

समस्या के हो त?
लगातार खेल नहुनु, खेलबाट आम्दानी सुनिश्चित नहुनु, खेलकुद पदाधिकारी खेलमा भन्दा धेरै राजनीतिमा व्यस्त हुनु, खेलबारे अध्ययन र अनुसन्धानको कमी, अव्यवस्थापन खेलाडी पलायनका मुख्य कारण हुन्। सामान्य खेलाडीले मात्र होइन कीर्तिमानी खेलाडीले हातमुख गर्न चुनौतीपूर्ण छ।

खेलाडी पलायनको मूलभुत कारण आम्दानी/रोजगारी भएको कराँते महासंघका नवनियुक्त अध्यक्ष तथा राखेपका पूर्वसदस्यसचिव युवराज लामा बताउँछन्। च्याम्पियन खेलाडी नै बेरोजगार भएर बाँच्नु परेपछि विदेशिनुको विकल्प नरहेको उनको बुझाइ छ।

‘रोजगारीको विकल्प छैन, उनीहरुलाई खेलकुदमै रोजगारी दिनुपर्छ। तर देशकै ७०/८० लाख मानिस रोजगारीका लागि विदेशिएका छन्। देश चलाउने सरकारले नै ‘छिटोछिटो पासपोर्ट बनाऊ, विदेश जाऊ, रेमिट्यान्स पठाऊ, हामी देश चलाउँछौं’ भन्छ त खेलाडी पनि जान बाध्य भइहाल्छन्। देशै पलायनमुखी छ।

बाँकी खेलमा जस्तै कराँतेमा राष्ट्रिय टिमकै खेलाडी पलायन भएका छन्। यसलाई उनी कार्यक्रम बनाएर समस्या समाधान गर्नतर्फ लाग्ने बताउँछन्। ‘हो, हामी भर्खरै आएका छौं। अब खेलाडीलाई देशमै बाँच्नसक्ने आधार तय गर्नुको विकल्प छैन,’ युवराज भन्छन्, ‘उपाधि जितेका खेलाडीलाई कहाँ रोजगारी दिने भन्ने विषयक कार्यक्रम तय गर्छौँ।’

‘रोजगारीको सुनिश्चितता भयो अरे ल? के अब खेलाडीले समय र वार्षिक क्यालेन्डर अनुसार खेल्न चाहीँ पाएका छन् त?’ लामाको जवाफ नकरात्मक छ। उनी भन्छन्, ‘छैन। यहाँ वार्षिक कार्यक्रम गर्ने। साधारण सभा र चुनाव गर्ने कति नै संघ छन् र? क्यालेन्डर बनाएर कार्यक्रम गर्ने संघ पनि कमै त छन्। ऐन आएपछि पनि सबैले साधारण सभा गरेका छैनन्।’

अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले केही समय अघि महिला टिमको बिदाई गर्ने क्रममा भनेका थिए, ‘फुटबलको राजनीति एकातिर चलिरहन्छ, फुटबल विकास र फुटबल एक्टिभिटिजमा कुनै डिस्टर्ब हुँदैन।’ तर उनले भनेको कुरालाई खेलाडीले विश्वास गर्नै सकेका छैनन्।

त्यसपछि पनि नेपाली टिमका सुजल श्रेष्ठ र रञ्जित धिमाल बाहिरिसकेका छन्। अहिले नेपालमा थ्री नेसन्स कप सकिएको छ। तीन वर्ष पहिले पनि एन्फाले यस्तै थ्री नेसन्स कप फुटबल आयोजना गरेको थियो। तर त्यो प्रतियोगिताको फाइनलमा सुरुआति ११ मा परेकामध्ये सात खेलाडी पलायन भइसके।

अस्ट्रेलिया जानुअघि सुजलले राष्ट्रिय टिमबाट सन्यास लिएका छन्। उनले सन्यास घोषणा गर्दै लेखेका छन्, ‘हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइ धेरै क्षमतावान छन्। म विश्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैनन्। अब पालो नयाँ पुस्ताको हो।’ यति भनिरहँदा एउटा प्रश्न नेपाली फुटबलमा टड्कारे रुपमै सोझिएको छ- सुजलपछिको पुस्ताका खेलाडी नेपालमै रमाउन सक्लान् त?

प्रकाशित: २०७९ चैत १९ गते आईतबार ०२:५३
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना