काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। बुधबार झापाको दमकमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ।
पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र नेता प्रकाशचन्द्र लोहनी दमक पुगेका थिए। भेटमा राष्ट्रिय राजनीतिक घटनाक्रम र देशभित्र देखापरेका समसामयिक विषयबारे छलफल गरेका थिए।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक गतिविधि बढाएका छन्। राजतन्त्रवादी नेताहरूसँगको भेटलाई उनले तीव्रता दिएका छन्। पुस २१ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले त्यसको दुई महिना नपुग्दै पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए। पुस २१ गते मिश्रसँग डेढ घण्टा गफिएका ज्ञानेन्द्रले सन् २००७ पछि पहिलोपटक भेटेको मिश्रले लेखेको स्टाटसमा उल्लेख थियो।
‘असोचनीय स्तरको प्रतिकूलता व्यहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष,’ उनले फेसबुकमा लेखेका थिए।
राजाबाट गल्ती भएन भनेर आफूले नभएको उनको दाबी थियो। संसारमा एक या अर्को प्रकारको गल्ती नगर्ने राजा नभएको उनले उल्लेख गरेका थिए। परिपक्व राजनीतिकर्मीहरू देशको दूरगामी हितलाई ध्यानमा राखी फाइदा र हानीलाई समग्रतामा मूल्यांकन गरेर मात्र ऐतिहासिक महत्त्व बोकेका संस्था राख्ने या हटाउने निर्णय लिनुपर्ने उनको स्टाटसमा लेखिएको थियो।
अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा नेपाल पर्न लागेकाले नेपाल, नेपालभित्र बढ्दै गएको जातीय र धार्मिक संवेदनशीलता तथा नेपाली सेना बाहेक राजनीतिले बेस्कन गिजोलिएका र लगभग पूर्णत: क्षयीकृत भएका नेपालका सबै संस्थाबारे मतलबै नरहेको पनि मिश्रले बताएका थिए।
पुस २७ गते पृथ्वीजयन्तीका दिन ज्ञानेन्द्र शाहले नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिकता दुर्लभ बन्दै गएकाले राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको बताएका थिए। उनले विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक र आकारमा राजनीति अल्मलिएको टिप्पणी गरेका थिए।
उनले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसले राष्ट्रमा सुख हुन नसक्ने भन्दै असन्तुष्टि संकेत गरेका थिए।
विज्ञप्ति
दुर्गा प्रसाईंसँग हातेमालो
फागुन १ गते दुर्गा प्रसाईंको नेतृत्वमा‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं’नामक अभियानालाई पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरे।
झापाको काँकरभिट्टामा पूर्वराजा शाह आफ्नो परिवारसहित सहभागी भएर प्रसाईंको नेतृत्वमा अभियान सुरु गरेका थिए। कार्यक्रममा उपस्थित उनले सर्वसाधारणलाई हात हल्लाएर अभिवादन फर्काए पनि सम्बोधन भने गरेनन्। पूर्वराजा शाह कार्यक्रमस्थलबाट हिँड्नेबित्तिकै महाअभियानका संयोजक प्रसाईंले उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए। उनले संघीयता र गणतन्त्रविरोधी अभिव्यक्ति दिएका थिए।

उनको प्रश्न थियो,‘एक करोड नेपालीलाई खाडी मुलुक पठाउने यस्तो गणतन्त्र हामीले कल्पना गरेका थिएनौँ। यस्तो गणतन्त्र किन चाहियो?’ उनले सनातन धर्मको रक्षाका लागि अभियान थालिएको बताएका थिए।
000
फागुन ७ गते प्रजातन्त्र दिवसका दिन शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले राज्यव्यवस्थाले जनतालाई सुख र समृद्धि दिन नसकेको टिप्पणी गरेका थिए।
शाहले राजनीतिक दलका नेताहरु देश र जनताको हित भन्दा पनि दलगत, पारिवारिक र व्यक्तिगत रुपमा लोभ र लालचको जञ्जालमा फसेकोसमेत बताएका थिए।
‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न,’ पूर्वराजा शाहले भनेका छन्, ‘देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जञ्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका छन्। तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछाया नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ।’

दलहरुमा आन्तरिक सुधारको गुन्जायस नदेखिएको उनको टिप्पणी थियो। नेपालको सार्वभौमिक परिचयमा आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास भएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।
आफूले नेपाल एकीकरणको झण्डै २४० वर्षपछि जनताको नासो जनतालाई नै बुझाएको तर अहिले देश कुशासन, भष्ट्रचार, निराशलाग्दो आर्थिक शिथलिता र सामाजिक विग्रहको चपेटामा फसेको उनको टिप्पणी थियो।
दुई महिना नपुग्दै मिश्रसँग पुन: भेट
पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई दुई महिना नपुग्दै फागुन १६ गते दोस्रो पटक भेट गरेका थिए।
देशमा राजतन्त्र गएर आफ्नो सत्ता नै खोसिएपनि राजाले आफ्नो भद्रता र गरिमा कहिल्यै नगुमाएको भन्दै मिश्रले ज्ञानेन्द्रको प्रशंसा गर्दै स्टाटसले लेखेका थिए।
‘राजा ज्ञानेन्द्रमा देशका केही घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि भए पनि, उनले आफ्नो भद्रता र राजकीय गरिमालाई कहिल्यै कम हुन दिएनन्। मेरो पछिल्ला दुई भेटमा उनमा ‘निरंकुशता’ होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक मैले अन्य कुनै भाव पाइनँ’, सामाजिक सञ्जालमा मिश्र लेख्छन्।
उनले बिहीबार पूर्वराजा शाहसँग डेढ घण्टा लामो कुराकानी भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले यसअघि सन् २००७ मा पत्रकार हुँदा नै ज्ञानेन्द्र शाहसँग भेट भएको पनि उल्लेख गरेका छन्।
‘असोचनीय स्तरको प्रतिकूलता व्यहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष’, उनले फेसबुकमा लेखेका छन्।
‘राजाबाट गल्ती भएन भनेर मैले कहिल्यै भनिनँ। संसारमा एक या अर्को प्रकारको गल्ती नगर्ने राजा छँदा पनि छैनन्। परिपक्व राजनीतिकर्मीहरू देशको दूरगामी हितलाई ध्यानमा राखी फाइदा र हानीलाई समग्रतामा मूल्यांकन गरेर मात्र ऐतिहासिक महत्त्व बोकेका संस्था राख्ने या हटाउने निर्णय गर्छन्’, वरिष्ठ उपाध्यक्ष मिश्रले उल्लेख गरेका छन्।
अहिलेका अधिकांश राजनीतिकर्मीलाई अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा पर्न लागेको नेपाल, नेपालभित्र बढ्दै गएको जातीय र धार्मिक संवेदनशीलता तथा नेपाली सेना बाहेक राजनीतिले बेस्कन गिजोलिएका र लगभग पूर्णत क्षयीकृत भएका नेपालका सबै संस्थाहरूबारे मतलबै नरहेको पनि मिश्रले बताएका थिए।
राप्रपाका नेताहरूले बुधबार मात्र झापाको दमक पुगेका ज्ञानेन्द्रसँग सामूहिक भेटवार्ता गरेका छन्। समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ।


