काठमाडौँ- थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले विजयी बनेको हो।
नेपालका अनन्त तामाङले ३०औँ मिनेटमा र नवयुग श्रेष्ठले ५६ औं मिनेटमा गोल गरेका हुन्। नवीन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुरुवाती गोल गरेका थिए। अनन्तको यो नेपालका लागि तेस्रो गोल हो।
खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए। आजको खेलमा नेपालका सनिष श्रेष्ठ, मणिकुमार लामा, दीपकराज सिंह ठकुरीको र सुमित श्रेष्ठले डेब्यू गरे।
जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ भने लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ। त्यस्तै चैत १४ गते नेपालले भुटानसँग खेल्ने तालिका छ। प्रतियोगिताका शीर्ष दुई टोलीले चैत १७ गते फाइनल खेल्नेछन्।


