काठमाडौँ- सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइन हेलिकप्टर खोज्न सोलुखुम्बुबाट प्रहरी परिचालन गरिएको छ।
लिखुपिके गाउँपालिका अन्तर्गत लामजुराडाँडा क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए।
‘लामाजुरा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। यहाँको मौसम पनि सफा छैन। प्रहरीहरू केही माथिसम्म मोटरसाइकलमा र त्यसपछि हिँडेर त्यसतर्फ जाँदैछन्,’ उनले भने।
उनका अनुसार आशंका गरिएको स्थानसम्म पुग्नलाई करिब २ घण्टा लाग्नेछ। सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर मंगलबार बिहान १० बजेर ५ मिनेटदेखि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्।
हेलिकप्टरमा पाँच जना मेक्सिकन र एक जना पाइलट नेपाली छन्। मनाङ एयरका अनुसार पाइलट चेतबहादुर गुरूङले उक्त हेलिकोप्टर उडाएका थिए।
