काठमाडौँ- यू-१७ साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध ५–० को सहज जित निकालेको छ। बंगलादेशको वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालमा बुधबार सम्पन्न भएको खेलमा जित निकालेको हो।
च्याम्पियनसिपको पहिलो खेलमा नै भारतसँग ४–१ नेपालले आज पनि शानदार जितलाई निरन्तरता दिएको हो। बुधबारको खेलमा नेपाललाई जित दिलाउन वर्षा ओली र सोनु परियारले समान २–२ गोल गरेका थिए। उनीहरुले पहिलो हाफ र दोस्रो हाफमा समान १/१ गोल गरेका थिए। खेलको पहिलो हाफमा दीपा रोयाकाले पनि गोल गरेकी थिइन्।
बंगलादेश, नेपाल, भारत, भुटान र रसिया सहभागी प्रतियोगितामा नेपालले अब तेस्रो खेल आइतबार रुससँग खेल्नेछ। आगामी मंगलबार बंगलादेशसँग नेपालको खेल हुनेछ।




