नयाँदिल्ली- एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ। फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन्।
सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि सम्झिने छ जब पञ्जाब रेजिमेन्टका जवानले परेडमा भारतीय सेनाको सौर्य प्रदर्शन गर्नेछन्। यो महत्वपूर्ण घटनाले विगतको सम्झनामा भारत र फ्रान्सबीचको स्थायी सम्बन्धलाई पनि उजागर गर्नेछ।
यो वर्ष फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुनुहुन्छ। त्यसैले भारतीय सेनाका जवानको परेडमा उपस्थितिले अझ महत्व राख्छ। शुक्रबार हुने परेडमा भारतीय सशस्त्र बलका दुई सय ६९ जनाको टोलीले फ्रान्सेली समकक्षी कुममा कुम मिलाएर मार्च गर्नेछ।
पेरिस र अन्य फ्रान्सेली शहरमा दङ्गा, आगजनी र अशान्तिको पृष्ठभूमिमा फ्रान्स पुगेका भारतीय सैनिकलाई फ्रान्सेली पक्षले उदार हृदयले स्वागत गरेको छ। पहिलो विश्वयुद्धको समयदेखिको यो सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने भारतीय सेनाले जनाएको छ।
पेरिसमा भारतीय सेनाको प्रतिनिधित्व गर्ने पञ्जाब रेजिमेन्ट भारतीय सेनाको सबैभन्दा पुरानो रेजिमेन्टमध्येको एक हो। रेजिमेन्टले दुवै विश्वयुद्ध र स्वतन्त्रतापछिका विभिन्न मिसनमा भाग लिएको छ। इतिहास दोहोरिएको यो क्षणमा साहस र वलिदानको पर्याय बनेको भारतीय सैनिकले गर्वसाथ पेरिस परेडमा भागलिएर भारत–फ्रान्स मैत्री र साझा सैन्य इतिहासलाई पुनःजीवन्त बनाउने छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने भएको छ। बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्किएका उनले फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुनेछन्।
कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएका ७० वर्षीय हिन्दू राष्ट्रवादी नेता मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै ह्वाइट हाउसमा राजकीय भोजसहितको उच्च सम्मान दिएपछि हुन लागेको यो भ्रमणमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको हार्दिक स्वागतसँगै नयाँदिल्ली र पेरिसबीच नयाँ रक्षा सम्झौताबारे छलफल हुनेछ।
भारत हिन्द–प्रशान्त रणनीतिको एक सबल स्तम्भ भएको राष्ट्रपति म्याक्रोँका एक सहयोगीले भनेका छन्। प्रधानमन्त्री मोदीलाई फ्रान्सेली राष्ट्रपतिले भोलि शुक्रबार हुने राष्ट्रिय दिवसको सैन्य परेडमा विशेष अतिथि बनाएका छन्। परेडमा भारतीय सेना र भारतीय–फ्रान्स–निर्मित लडाकु विमान पनि सहभागी हुँदैछन् जसले दुई देशबीचको घनिष्ठ सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्छ।
भारत फ्रान्सेली हतियारको सबैभन्दा ठूलो खरिदकर्ताहरू मध्ये एक हो। प्रधानमन्त्री मोदीले सन् २०१५ मा पेरिस भ्रमणका क्रममा चार अर्ब २५ करोड अमेरिकी डलर बराबरका ३६ वटा राफेल लडाकु विमानका लागि ऐतिहासिक सम्झौताको घोषणा गरेका थिए । यो भ्रमणमा पनि उनले अत्याधुनिक विमानका थप २६ समुद्री संस्करणको खरिदका साथै तीन स्कर्पेन क्लास पनडुब्बीका लागि सम्झौताको तयारी गर्नुभएको हिन्दुस्तान टाइम्स दैनिकले जनाएको छ।
नयाँदिल्लीले आफ्नो सशस्त्र बललाई द्रुत गतिमा आधुनिकीकरण गर्न खोजिरहेको छ। हिमालय क्षेत्रतिरको आफ्नो सीमानामा चीनसँग बढ्दै गएको विवादलाई लिएर चिन्तित भारतले आधुनिक उपकरणको जोहो गर्नु सामान्य हो।
सन् २०१७ मा म्याक्रोन सत्तामा आएदेखि मोदीले चार पटक फ्रान्सको भ्रमण गरिसक्नुभएको छभने राष्ट्रपति म्याक्रोनलाई २०१८ मा नयाँदिल्लीमा राजकीय सम्मान गरिएको थियो।
दुवै पक्षका सहयोगीहरूले प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोँबीचको व्यक्तिगत घनिष्ठता र समान विचारले २५ वर्ष पुरानो फ्रान्स–भारत रणनीतिक साझेदारी अझ घनीभूत हुने बताएका छन्। नेताद्वयले जलवायु परिवर्तन, सौर्य ऊर्जा, अन्तरिक्ष प्रविधि र आणविक ऊर्जामा सहयोग र सहकार्यलाई अघि बढाउने सङ्केत गरेका छन्। भारतका विदेश सचिव विनय क्वात्राले पनि प्रधानमन्त्री मोदीको योे भ्रमण रणनीतिक साझेदारीको मानक बन्ने विश्वास व्यक्त गरेका छन्।


