२०४६ को परिवर्तनपछि सबैभन्दा पुरानो र शक्तिशाली दल नेपाली कांग्रेसले नेतृत्व टकरावको आफ्नै ‘ग्राफ’ तय गर्यो। गिरिजाप्रसाद कोइरालाको निधनअघिसम्मै दलको शक्तिकेन्द्र बनेर रहिरहे। उनीभन्दा अग्रज, निःस्वार्थ र धेरै भद्र मानिने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका सामु शक्ति, साख र संगठनका हिसाबले कसरी नेता कोइरालाले आफूलाई लामो समयसम्म केन्द्रमा राख्न सफल भए? उनको शक्तिको खास स्रोत के थियो, कस्तो टिम बनाएका थिए र कसरी पार्टीभित्र काम गर्ने भन्ने एउटा बहसको रोचक अध्याय हुन सक्छ। तर एउटा सत्य के हो भने, सर्वमान्य नेता सिंह र सन्त नेता भट्टराईलाई समेत नेतृत्व गरेर कोइरालाले पार्टी चलाएका थिए।
दलभित्र अन्तरद्वन्द्वको भूमरी चलिरहेका बेला नै सन्तनेता भट्टराईले कांग्रेसी जमघटमा एकपटक नेता कोइरालाबारे टिप्पणी गर्दै भनेछन्, ‘गिरिजाबाबुका विषयमा तिमीहरूले जे भने पनि उनी नेपाली समाजले खोजेका ‘लिडर’ हुन्।’ आफ्ना स्पर्धी र दलभित्र आलोचित कोइरालाका विषयमा किसुनजीको यो टिप्पणीबारे साप्ताहिक देशान्तरसँगको एउटा वार्ताका क्रममा नेता चक्र बास्तोलाले भनेका छन्, ‘किसुनजी पनि ठान्नुहुन्छ, ‘लिडर’ले समाज ‘लिड’ गरोस्। दल ‘लिड’ गरोस्। जनता ‘लिड’ गरोस्।’
अहिले गणेशमान, किसुनजी र गिरिजाप्रसादको पुस्ता त छैन। तर, कांग्रेसभित्र नेता कस्तो हुनुपर्छ भन्ने बहस निम्छरो छ। समाजका पहलुहरू हिजोभन्दा आज बदिलिँदा छन्। नयाँ पुस्ता नयाँ सपनासँगै हुर्किरहेको छ। सूचना-प्रविधिको आयाम बृहत्तर भएको छ भने पहुँच बढेको छ। कतिपय सामाजिक र सांस्कृतिक मान्यताहरूको पुनर्भाष्य तयार छ। मान्छेहरूको मान्यता र विश्वासको कोण–परिकोण समेत स्थिर छैन। यस्तो अवस्थामा देशको सबैभन्दा पुरानो इतिहास भएको कांग्रेसलाई कस्तो नेता चाहिन्छ होला? के कांग्रेस आफ्नो दलीय अभ्यासबाट समयानुकुल निख्खर नेता खोजिरहेको छ त? अनि कांग्रेस जतिकै राजनीतिक इतिहास बनाएका दलले यो विषयमा कस्तो अभ्यास गर्दैछन्? मध्यम अवधि गुजारेका र राजनीतिक रूपमा बामे सर्ने उमेरमा नै नागरिकले विश्वास गरेर दिएको गहन जिम्मेवारी लिएकाहरूले कसरी नेता तयार गर्दैछन् त?
धेरै अघि किन पुग्नु? सन्दर्भ सुरू गरौं नेपाली कांग्रेसको हालै विस्तारित तरूण दलबाटै। विधानभन्दा बाहिर गएर ४ सय जनालाई सदस्य बनाइदियो। केन्द्रीय सदस्यहरूको जम्बो सूचीभित्र नेताका वरिपरि घुम्ने गणेशहरू, नेताका छोराछोरी र निकटस्थको नाम बग्रेल्ति देखिन्छ। अझ केही त पार्टी कारबाहीमा परेका र केही कांग्रेसमा सक्रिय नभएकाहरू पनि छन्। नेता उत्पादन गर्ने भातृसंस्थाहरुका महाधिवेशन ८ वर्षसम्म नगराएर कांग्रेसले कोटका खल्तीबाट नेता उमारिरहेको ठानिरहेको छ। तरुण दलमा जस्तै नियति नेविसंघमा दोहोरिने निश्चित छ।
भिडले जे भन्छ त्यसमा कुद्नेहरू नेता मानिन्नन्। समाजलाई आफ्नो दृष्टिकोणमा हिँडाउने व्यक्ति नेता हो।
तरूण दल र नेविसंघ मात्र होइन, यसअघि संघ, प्रदेश र स्थानीय तहको चुनावमा पनि यस्तै पात्रहरूले अवसर पाए। अहिलेको हाम्रो अभ्यासमा पद नेताले दिन सक्छ। तर पद माग्नेहरू नेता बन्छन् भन्ने भाष्य कदापि युक्तिसंगत होइन। उदाहरण खोज्न टाढा जानुपर्दैन। माओवादी केन्द्रलाई हेरे पुग्छ। केही अघि पेरिसडाँडा वरिपरि पुग्ने जोकोही केन्द्रीय समितिमा अटाए। ३–४ हजार जना भएको केन्द्रीय समिति बनाइयो। तर, अहिले माओवादीमा भावी नेतृत्व को? ‘भ्याकुम’ छ। ती हजारौँ नामबाट आशालाग्दो नाम दर्जन पनि पुगेनन्। यसको अर्थ हो- नेतृत्वले आफूअनुकूलका पात्रलाई भूमिका त दिन सक्छन्, नेता चाहिँ बनाउन त्यति सजिलो हुँदैन। कसैले कुनै सन्दर्भमा नाम पढिदिएर कोही नेता बन्न सक्दैन।
नेता त्यो हो, जोसँग कुनै दृष्टिकोण छ। समाजलाई कहाँ लैजाने? समाजमा देखिएका चुनौतीको सामना कसरी गर्ने? यीलगायतका यस्ता थुप्रै प्रश्नको जवाफ नेतासँग हुनुपर्छ। चाकडीमा रम्ने, नेतृत्वको गुलामी गर्ने, शक्तिकेन्द्रको भान्सासम्म पुग्दैमा यी सबै प्रश्नको जवाफ खरर दिमागमा सेट हुँदैन। जायज र नाजायज शैलीबाट नेतृत्वलाई आश या त त्रासमा पारेर पदसोपान चढ्दैमा कोही नेता बन्दैन। नेता बन्न त दृष्टिकोण चाहिन्छ, विचार चाहिन्छ। समाजलाई बुझ्ने सामर्थ्य चाहिन्छ। केही संख्याको भिड जम्मा गर्ने र केही खरिदबिक्री गर्ने सामर्थ्य नेताका लागि काम लाग्न सक्छ। तर, त्यो प्रवृत्ति दीर्घकालीन होइन। तर, यहाँ नेताका सचिवालयमा रहने, बिहानबेलुकी ढोकामा हाजिर गर्न पुग्ने ढोकेचम्चेहरू नै नेता बन्न खोजिरहेका छन्। नेतृत्व तिनैको सहयोगी बनिरहेको छ। यसले भोलिका दिनका नेतृत्व ‘संकट’ निम्त्याउन सक्छ।
भिडले जे भन्छ त्यसमा कुद्नेहरू नेता मानिन्नन्। समाजलाई आफ्नो दृष्टिकोणमा हिँडाउने व्यक्ति नेता हो। पपुलिजमको पछिपछि दगुर्ने पात्रहरूको राजनीतिक आयु लामो हुन्न। तर, अहिले नेता भनेकै यस्तै पात्रहरू हुन् कि जस्तो बनाइएको छ। अझ देशकै पुरानो लोकतान्त्रिक पार्टीमा यस्तो प्रवृत्ति संस्थागत हुँदै जानु नौलो नभए पनि दुखद् चाहिँ हो। पहिला नेताले आफूअनुकुलका कारिन्दा नियुक्त गर्ने, अनि त्यहीमार्फत वास्तविक नेतृत्वलाई तल्लो तहमै समाप्त गर्ने खेल कांग्रेसभित्र अभ्यासमा छ।
खासमा असली नेताहरू अलोकप्रिय बन्ने जोखिम पनि उठाउँछन्। धैर्यपूर्वक आफ्ना मुद्दा राख्छन्। पूर्वाग्रह, कट्टरता र निहित स्वार्थको सामना पनि गर्छन्।
बीपी कोइरालाले भनेका थिए- पार्टीभित्र एउटा बेला यस्तो आउँछ, सुकिलामुकिला हाबी हुनेछन्। त्यतिबेला पार्टीभित्रका असल र इमान्दार नेता कार्यकर्ताले विद्रोहको झण्डा उठाउनुपर्नेछ। अहिले कांग्रेसभित्र बीपीले भनेको सुकिलामुकिलाको बोलवाला बढ्दो छ। यसविरुद्ध विद्रोहको झण्डा कुनै पनि बेला उठ्न सक्छ। त्यतिबेला अहिले जबर्जस्त खडा गरिएका ‘प्लान्टेड’ नेताहरूको हैसियत रहनेछैन। त्यतिबेला गोजीबाट झिकिएको कागजको टुक्रामा पट्याएर राखिएका नाम काम लाग्ने छैनन्। न विचार, न संगठनमा योगदान। त्यस्ता कुनै पनि व्यक्तिको नेतृत्व स्थापित हुँदैन। भलै उसले कुनै पद पाएको किन नहोस्। इतिहासका मोडहरूमा पार्टीमा धेरैखाले पात्रहरू महत्त्वपूर्ण पदमा पुगेका छन्। तर, उनीहरू केही समयमै पानीको फोका सावित भएका छन्।
नेता कसैका आशिर्वादमा प्राप्त हुने प्रसाद होइन। कसैको हुकुमीप्रमांगीमा बकस हुने भीक्षा त झन् हुँदै होइन। कार्यकर्ता र जनतासँग जोडिएको, समाजप्रतिको उत्तरदायित्वबोध भएको र, समाजलाई केही योगदान गरौं भन्ने व्यक्ति नै असलमा नेता हो। स्वस्थानी व्रतकथामा भनिएझैं ‘भए छोरालाई, नभए मित छोरालाई’ भन्ने शैलीमा बाँडिएका पदहरू कर्कलाको पातमा अडिन पुगेका वर्षायामका पानीका फोका हुन्।
‘डिलर’बाट ‘लिडर’ जन्मँदैन। ‘डिलर’ले बाँडेका थानका थान बहुरंगी पदहरू आसनग्रहणका लागि काम मात्र लाग्छ। विधि, प्रक्रिया र अभ्यासलाई पुरानो आलमारीमा थन्काएर बाँडिएका बहुरंगी पद लिएकाहरुले राजनीति र त्यसका माध्यमबाट समाज र देशका लागि योगदान गर्न सक्दैनन्। बरु जोबाट पद बकस भएको हो, उसको भक्तिगान गाउन तल्लीन हुन्छन्। यसलाई नेतापिच्छेले किस्तीमा राखेर दिएका पद लिएका तरुणहरुले देखाएको बफादारीले पुष्टि गरिसकेको छ। बक्सिसमा पद प्राप्त भएपछि नतमस्तक भएर हरेक दिन जसो धनुष्टङ्कार शैलीमा खादामाला लगाउन नेताका दैलो चहार्ने र सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने जमातभित्रबाट कुशल नेताको उदय होला भन्ने अपेक्षा कम्तीमा चुनावमा आधारित लोकतान्त्रिक पद्धतिमा विश्वास गर्नेहरुले राख्दैनन्। नेताका रूपमा दर्ज हुन त संघर्षको भट्टीमा पटक-पटक राप र ताप खप्न तयार हुनुपर्छ। कार्यकर्ता र जनताको मन जित्न भिजन हुनुपर्छ।
‘डिलर’बाट ‘लिडर’ जन्मँदैन। ‘डिलर’ले बाँडेका थानका थान बहुरंगी पदहरू आसनग्रहणका लागि काम मात्र लाग्छ। विधि, प्रक्रिया र अभ्यासलाई पुरानो आलमारीमा थन्काएर बाँडिएका बहुरंगी पद लिएकाहरुले राजनीति र त्यसका माध्यमबाट समाज र देशका लागि योगदान गर्न सक्दैनन्।
एउटा भनाइ छ- लिडर ईज अ एक्सन, नट अपोजिसन। तर, अहिले कांग्रेसभित्र नेता त्यसलाई बनाउन खोजिँदैछ जसको कुनै ‘एक्सन’ छैन। नेता मानिएकाहरूका सचिवालयका सहयोगी, तिनका आसेपासे, नेताका सन्तानलाई पद वितरण गरिएको छ। आजकल आम जनतालाई लिड गर्नुभन्दा पनि ‘मिसलिड’ गरेर, र भ्रम प्रस्तुत गरी नेता बन्ने ‘डेमागग’ शैलीबाट उदाउने र सत्तामा पुग्ने कुत्सित योजनाकारहरू मात्र नेता देखिन थालेका छन्। यिनीहरूको नेतृत्वले समाजलाई बदल्दैन, बरु उनीहरुको जीवनशैली बदलिदिएला; जुन प्रवृत्ति लोकतन्त्र र संविधानमाथिको खतरा हो। यो खतराबाट दल कसरी बच्लान्? उनीहरूकै अभ्यासमा निर्भर रहनेछ।
प्रश्न पुरानासँगै नयाँ दललाई पनि हो। एमालेभित्र पनि यो समस्या देखिएकै छ। नेतृत्वपूजक एमालेमा निकटताका आधारमा टपक्कै टिपेर पदमा राखिदिने प्रवृत्ति झाँगिएकै छ। अझ अहिले एमालेले पार्टीभित्रै ‘डिलर’प्रथा स्थापित गरेको छ। नारायणी किनारमा भएको १०औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओली निवासलाई नेताको भव्य गोदाम प्रमाणित गरिदिएको छ। ‘ओलीज् वेयरहाउस’बाट धमाधम नेताहरू कोरलिइरहेका छन्। गोदामका मालिक ओलीले बजारमा गइसकेका कतिपय सामग्रीमा खराबी रहेको भन्दै फिर्ता लिन फर्मान जारी गरिरहेकै छैन। हर्ताकर्ताको नजरबाट हेर्दा कतिपय सामग्री बजारबाट फिर्ता भइसकेका पनि छन्। यो प्रक्रिया नारायणी किनारमा पुग्नुअघिबाटै सुरु भएको थियो, सौराहाको होटलले भव्यताका साथ अनुमोदन गरिदियो।
भलै त्यसअघिका महाधिवेशनमा एमालेले नेता छान्न लोकतान्त्रिक पद्धति अपनाउँथ्यो। ‘डिलर’ले पदमा पुर्याउँदैमा कोही नेता बन्दैन/बन्न सक्दैन। क्षमता र संघर्षको कसीमा जँचिएर आएको व्यक्ति निश्चित क्षमता, गुण र कर्मका आधारमा नेता बन्ने हो। बनिबनाउ नेताले टिपेर पदमा राखिदिएको सायदै कोही राजनीतिक रेसको लामो घोडा बनेको होला, जसले आफूलाई कुशल नेताको दर्जामा उभ्याउन सकेको होस्। यस्तो प्रवृत्तिले भविष्यमा नेतृत्वको संकट ल्याउने निश्चित छ, चाहे पार्टीमा होस् वा देशमा।
दिन दुई गुणा, रात चौगुणा झाँगिरहेको पपुलिस्ट राजनीतिले खारिएको नेताको परिकल्पना गर्न सक्दैन। यस्तो राजनीतिमा नेता बन्ने/बनाइने एक मात्रै मानक उसको ‘पपुलारिटी’ मात्रै हो। सामाजिक सञ्जालमा आउने भ्युज र लाइकको गणना गरेर बाँडिने पद सत्यनारायण पूजामा बाँडिने पञ्चामृत मात्र हो। चिनी राखिएकाले छिनभरका लागि गुलियो त हुन्छ तर न त्यसले भोक मर्छ, न छाक टर्छ। यस्ता पद एकमाघे हुन्, एउटा मात्र माघले जाडो कट्दैन। राजनीतिको लामो र चक्रीय दौडमा पटकपटक पुसमाघ आउँछ। पटकपटक चैतवैशाख र पटकपटक साउनभदौ आउँछ।
भिड मात्र होइन, नेताले समाजलाई पनि लिड गर्ने हो, गाइड गर्ने हो। समाजबाट नेता ‘गाइडेड’ हुँदैन। तर, सामाजिक सञ्जालबाटै गाइडेड नेताको संख्या आजभोलि बग्रेल्ति छ।
एकमाघे राजनीतिमा क्षमता/संघर्ष र कार्यकुशलता गौण बनिदिन्छन्। जसका कारण ‘पपुलिस्ट’लाई बोकेर नेता बनाइन्छ। जसको बलियो जग हुँदैन, आयु लामो हुँदैन। यद्यपि सबैभन्दा बढी चमत्कार यही शैलीको राजनीतिमा हुन्छ। चल्तीको मान्छे खल्तीबाट नेता बन्छ, उसले राजनीतिको बृहत् आयामलाई बुझ्नै सक्दैन। किनारमा बसेर नदीको पानीमा खुट्टा चोबल्ने जो कोही पौडीबाज हुन सक्दैन। राजनीति यति गम्भीर विषय हो, जहाँ जो कोही छिर्न सक्छ, तर जो कोही टिक्न सक्दैन। त्यसकारण एउटा भनाइ छ- हरेक चिन्तक नेता हुन सक्छ, तर सच्चा नेता मात्र चिन्तक बन्न सक्छ। एउटा महान् नेताले जनतालाई त्यहाँ लैजान्छ; जहाँ उनीहरु जान चाहँदैनन्; तर, जानुपर्ने उत्तम गन्तव्य त्यही हुन्छ। एउटा सामान्य नेताले जनता जहाँ जान चाहन्छन्, त्यहीँ लैजान्छ। जुन उपयुक्त गन्तव्य हुँदैन। यसको अर्थ नेताले आफूलाई लोकरिझ्याइँभन्दा माथि राख्न सक्नुपर्छ। यस्तो कल्पना लोकरिझ्याइँको राजनीतिको ठिक विपरीत हो।
हो, नेताका पछाडि भिड बन्न सक्छ तर नेताले भिड पछ्याउँदैन। भिडको नेतृत्व गर्छ र सम्भावित दुर्घटनाबाट जोगाउने हिम्मत राख्छ। परीआए भिडलाई ‘युटर्न’ गराउने सामर्थ्य राख्छ। भिड मात्र होइन, नेताले समाजलाई पनि लिड गर्ने हो, गाइड गर्ने हो। समाजबाट नेता ‘गाइडेड’ हुँदैन। तर, सामाजिक सञ्जालबाटै गाइडेड नेताको संख्या आजभोलि बग्रेल्ति छ।
सामाजिक सञ्जालको बहस नेताले इन्डोर्स गर्ने विषयमाथि हुनुपर्ने हो। तर, चर्चाको भोकले आजित नेता सामाजिक सञ्जालले उठाउने हलुका विषयमा ‘स्टेटमेन्ट’ दिइरहेका छन्। कतिपय विषय टिप्पणी नगर्दा पनि हुने हुन्छन्। त्यसमा टिप्पणी गरेर नेताले आफ्नो ओज र गरिमा तीव्र गतिमा खियाइरहेका छन्। यसको अर्थ सामाजिक सञ्जालमा उठ्ने जायज मुद्दामा नेता प्रतिक्रियाविहीन हुनुपर्छ भन्ने होइन। तर, सामाजिक सञ्जालमा बहने हावाको बेग पक्रिएर त्यतै बहने नेता वास्तविक अर्थमा नेता होइन/हुन सक्दैन।
नेता त्यो हो-जसले आलोचनाको केन्द्रमा रहेर आफ्ना एजेन्डामा बहस गराउन सक्छ। आलोचना सहन सक्छ, गल्ती स्वीकार्ने र सुधार्ने क्षमता राख्छ। न कि विद्वान पल्टिन गर्दै नगरेको र हुँदै नभएको विषयमा ‘क्रेडिट’ लिन होडबाजी मच्चाउँछ। त्यसैले त बेलायती राजनीतिज्ञ एन विडेकमले भनेकी छन्- खासमा असली नेताहरू अलोकप्रिय बन्ने जोखिम पनि उठाउँछन्। धैर्यपूर्वक आफ्ना मुद्दा राख्छन्। पूर्वाग्रह, कट्टरता र निहित स्वार्थको सामना पनि गर्छन्।



