काठमाडौं–
‘बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली
बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलि भोलि
कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि
भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली’
आदिकवि भानुभक्त आचार्यलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पंक्तिहरु सहजै स्मरणमा आउँछन्। नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धाताले निरन्तर पछ्याउँदै आएका छन्।
उनै भानुभक्तको आज नेपालसहित विश्वभर नेपाली बसोबास गर्ने स्थानमा २१०औं जन्मदिवस विविध कार्यक्रम गरी मनाइँदै छ। आदिककवि भानुभक्तको २१०औं जन्मजयन्ती अवसरमा विगतमा झैँ यस वर्ष पनि भानु प्रतिष्ठानको सहकार्यमा २९ असारमा कुलपति भूपाल राईसहित प्रज्ञा प्रतिष्ठान परिसर कमलादीदेखि प्रभातफेरी गरी दरबार हाइस्कुलसम्म हुँदै पुनः प्रतिष्ठानको परिसरमा पुगेर त्यहाँ रहेको भानुभक्तको प्रतिमामा माल्यार्पणलगायतका कार्यक्रम गर्दै छ।
आदिकवि आचार्यका बारेमा विश्वविद्यालयका विभिन्न तहमा कैयन् शोधपत्र तयार हुनाका साथै उनका बारेमा कविता लेखन् र जीवनी प्रकाशन नभएका होइनन्, नयाँ पुस्तका लागि ती मात्र पर्याप्त नहुन सक्छन्।
भानुको जन्मस्थल तनहुँको चुँदीरम्घामा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा काठमाडौं र मुलुकका विभिन्न स्थानबाट पुग्ने स्रष्टाको सहभागितामा २८–२९ असारमा कार्यक्रम आयोजना हुँदै छ। नेपाल बाहिर भारतका विभिन्न स्थान र विश्वका अन्य स्थानमा पनि भानु जयन्ती मनाइन्छ।
चुँदी रम्घामा हुने कार्यक्रममा भानुभक्तीय रामायण वाचन प्रतियोगिता र खुला कविता प्रतियोगिता साथमा विभिन्न कविको कविता वाचन तथा गजल प्रस्तुत हुनेछ। २९ असारमा भानुको जन्मस्थलको कार्यालयबाट बिहान ७ बजे झाँकी प्रदर्शनीसहित प्रभातफेरि सुरु भई चुँदी रम्घास्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरिनेछ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतको उपस्थिति हुनेछ। समितिद्वारा पहिलो पटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन पनि सोही कार्यक्रममा गरिनेछ।
भानुभक्तको रामायणको यस प्रकाशनलाई विधान आचार्य र प्रभा भट्टराई आचार्यले सम्पादन गरेका छन्। पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा २९ असार १८७१ मा जन्मिएका भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाई पठित र समाजसेवी बन्न सफल भएका थिए।
उनले स्थानीय एक घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट प्रभावित भई ‘घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्तो’ लेखेका थिए। आदिकवि भानुभक्तले १९१० मा ‘भानुभक्तीय रामायण’ महाकाव्य लेखेपछि उनको काव्यिक व्यक्तित्व थप सुपरिचित भएको थियो। उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ लगायतका महत्त्वपूर्ण कृति र अन्य फुटकर कविता लेखेका छन्।
‘जिउँदै मर्याको भनी नाम्छ कस्को ?
उद्यम् विना बित्तछ काल जस्को’
भनेर लोकलाई केही गरेर मात्रै भौतिक चोला बिसाउन उपदेश दिने आदिकवि भानुभक्तको निधन ६ असोज १९२५ मा तनहुँको सेतीघाटमा भएको थियो।
आदिकवि आचार्यका बारेमा विश्वविद्यालयका विभिन्न तहमा कैयन् शोधपत्र तयार हुनाका साथै उनका बारेमा कविता लेखन् र जीवनी प्रकाशन नभएका होइनन्, नयाँ पुस्तका लागि ती मात्र पर्याप्त नहुन सक्छन्।
आफ्नै घर–परिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोक सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुन्डिएकै पाइन्छन्:
‘भर जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त पनि भैकन आज यस्तो’
संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणलाई विविध छन्दमा नेपाली जनमानसले बुझ्ने गरी सरल नेपाली भाषामा उतारेर र अरु महत्त्वपूर्ण कृतिका रचनाको माध्यमबाट आदिकवि आचार्यले दिएका योगदानबारे चर्चा कुनै एक आलेखमा असम्भव हुन्छ। तत्कालीन समाजको वास्तविक प्रतिनिधित्व हुने रचनाका लागि भानुभक्तको भूमिकालाई नेपाली समाज र साहित्यिक इतिहासले उच्च सम्मान गर्दै आएको छ भने ती रचना अहिलेका सन्दर्भमा पनि बहुउपयोगी र सन्देशप्रद रहेका छन्।
अहिले पनि शासन–प्रशासनमा ढिलासुस्ती र अनियमिता, समाजमा ढाँट–छल तथा राजनीतिक क्षेत्रका यावत् विकृतिको अन्त्य भएका छैनन्। उबेला भानुभक्तले उठाएका विषयवस्तु र अहिलेका विषवस्तुको परिवेश फरक हुन सक्छन् तर अन्तर्यमा समानता देखिन्छ।
हुन त युवाकवि मोतीराम भट्टले १९४८ मा आदिकवि भानुभक्तको जीवन चरित्र प्रकाशित गरेर भानुभक्तको योगदानको व्यापकता फैलाए। मोतीरामले भानुभक्तका अप्रकाशित पाण्डुलिपिलाई प्रकाशन पनि गराए। आजका नयाँ पुस्ताका लागि पनि धेरै मोतीरामहरु चाहिएको छ, जसले भानुभक्त र त्यस्तै योगदानकर्ता स्रष्टा र सुधारकका रचना एवं अभियानलाई समाजमा पुस्तान्तरण र हस्तान्तरण गर्न सक्रिय भूमिका खेलोस्। भानुभक्तलाई आदिकविको उपाधि पनि मोतीरामले नै दिलाएका थिए।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी विगतको तुलनामा आदिकवि भानुभक्तबारे युवा पुस्तामा बुझाइ केही कमी भए पनि त्यसलाई घटोत्तरी भएको मान्न नमिल्ने बताउँछन्। ‘भानुभक्तको समग्र योगदानले देश विदेशमा रहेका नेपालीहरुका लागि सम्बन्ध सूत्रको काम गरेको छ। पाठ्यक्रम र पाठ्यपुस्तकमा उहाँका रचना नियमित पढाइएकै छ,’ सदस्यसचिव डा सुवेदीले भने, ‘हुन त शिक्षण संस्थाको ज्ञानले मात्रै धान्दैन तर आदिकविको मान्यता तथा देश विदेशमा उहाँको लोकप्रियता हुनुले उहाँलाई चिरस्थायी बनाएको छ। त्यस अर्थमा उहाँ भाग्यमानी हुनुहुन्छ कि यस प्रकारको लोकप्रियताको उचाई अरु स्रष्टाले आजसम्म पाएका छैनन्। खासगरी नेपाल बाहिर रहेका स्रष्टाहरुले अझ अधिकमात्रामा सम्मान गर्ने र उहाँका विषयमा अध्ययन–बहस र गतिविधि गर्ने काम गरिरहेका छन्। यसलाई नेपाली साहित्यको सम्पतिका रुपमा लिनुपर्छ।’
त्रिभुवन विश्वविद्यालयका पूर्वसह–प्राध्यापक तथा अनुसन्धानकर्ता विधान आचार्य अहिलेको नेपाली भाषाको व्याकरण र भानुभक्तका रचनामा समाविष्ट भाषिक प्रयोगमा कालक्रमिकका हिसाबले पनि एक प्रकारको खाडल रहेकाले नयाँ पुस्तामा उनका रचनालाई बुझ्न सहजता नहुने ठानेर भानुभक्तीय रामायणलाई सम्पादनसहित प्रकाशनमा ल्याइएको जानकारी दिए।
अध्येता आचार्यले ‘एक दिन नारद सत्य लोक पुगिगया लोकको गरौँ हित भनी’ राणाकालमा लेखिएका यस्ता भानुभक्तका हरफ अहिलेको लोकतान्त्रिक गणतन्त्रमा पनि त्यही लोकको हितको सन्दर्भसँग मेल खाने पाइनु आदिकविको समाज जागरणको सोच र सन्देश भएको जनाउँछन्। त्यस अर्थमा आदिकविलाई कवि मात्र नभई एक सामाजिक अभियानकर्ता र रुपान्तरणकर्ता मान्न सकिने उनको तर्क छ।
‘उहाँको ‘लोकको हित गरुँ भनी’ भन्ने भावभित्र सामाजिक न्याय, समानता, समृद्ध नेपाल, सुखी नेपालीदेखि समाजवादसम्मको परिकल्पना प्रष्ट भेट्न सकिन्छ’, आचार्यले भने, ‘त्यसबेलाको समाज बढी धार्मिक र कम शिक्षित भएकाले भक्तिरसमा रचना गरेर भानुभक्तले नागरिकका कर्तव्य, राज्यको दायित्व र सामाजिक न्यायका कुरालाई धार्मिकतासँग जोडेर अशल चरित्रको सन्देश दिएको पाइन्छ। अहिलेको पुस्तालाई यो ज्ञान पस्कने गरी भानुभक्तीय रचनाहरुको महत्त्व बुझाउन सक्नुपर्छ।’
महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले नयाँ पुस्ताले गहन र वास्तविक अध्ययनमा आफूलाई लिन गराएर भानुभक्तका योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिन्छन्। उनको विचारमा सूचना प्रविधिको व्यापकतासँगै अध्ययन र सामग्री संकलनमा परिनिर्भरता देखिएकाले आदिकवि भानुभक्त जस्ता समाज र साहित्यका लागि योगदान दिनेहरुका बारेमा विश्वविद्यालय नै खडा गरेर अध्ययन अनुसन्धान गराउन आवश्यक छ।
राष्ट्रपति रामचन्द्रले सम्झिए भानुभक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन्। २१ औं भानु जयन्ती अवसरमा सन्देश सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र सँस्कृतिको संवद्र्धनका निम्ति भानुभक्तको योगलान अतुलनीय भएको स्मरण पनि गरेका छन्।
राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रुपमा समन्नुत तुल्याएका छन्। उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसाँस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको छ।
आदिकवि भानभुक्तले सरल र रोचक ढंगले नेपालीमा नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढंगले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक एकता अभिवृद्धि भएको राष्ट्रपति पौडेलको भनाइ छ।
‘भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्वपूर्ण रचना हो,’ राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘यस रचनाको माध्यमले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रुपले गराएको एकतालाई भावनात्मक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको छ। त्यसकारण भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन्।’
भानुजयन्ती अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रपति पौडेलले शुभकामनासमेत दिएका छन्। साथै, नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवद्र्धनमा टेवा पुग्ने भन्दै राष्ट्रपति पौडेलले सबै भाषाभाषी समुदायमाझ सिर्जनाको महत्त्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन आह्वान पनि गरेका छन्। राष्ट्रपति पौडेलले भानुको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
भानुभक्तको घर खण्डहर
‘मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चीज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति’ (भानुभक्त आचार्य)
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ। माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ। घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन्। भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ। भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो। भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए।
घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ। उनले भने, ‘कंक्रिटको घर बनाउन नसकिए पनि ढुंगामाटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र संघ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौं।’
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २२ चैत २०७३ मा शिलान्यास गरे पनि काम सुरु हुन सकेको छैन। अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ। उनले भने, ‘विकास मञ्चको भर पर्दा अपजस मात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ।’
भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। रानाभाटले भने, ‘आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ। घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ।’
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ। भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ। २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर एक लाखमा पुनःनिर्माण गरेका थिए।
जंगलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा एक लाख २७ हजारको क्षति भएको थियो।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताए। भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ। भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ। शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ। पर्यटन मन्त्रालयको तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो। रामायण भवनलाई आकर्षक रूपमा बनाइएको छ। भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ।
भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताए।
भानु जन्मस्थललाई सप्तधाममा विकास गरिने
भानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ। तर, पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन। आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ।
चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउँछन्। भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्ची बाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउँछन्।
भानु जयन्ती अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदै छ। समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिँदै छ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपस्थित हुनेछन्।

