काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन्। शुक्रबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपालमा सञ्चालित ५०० मिलियन डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्न उनी नेपाल आएका हुन्।
विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली क्षेत्र हेर्ने लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग द्विपक्षीय हित, नेपालमा सञ्चालित अमेरिकी परियोजना एमसीसीलगायत विषयमा छलफल गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लु भ्रमणको औपचारिक घोषणा गरेको थियो।
लुले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग पनि भेटघाट गर्नेछन्। नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे लुले बुझ्ने दूतावासले बताएको छ।
यसअघि नेपालले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गरेका थिए। उनी एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनु चार महिनाअघि पनि नेपाल आएका थिए।





