२०८३ कार्तिक ११ गते मङ्गलबार

कांग्रेसमा चार धार

 |  तीर्थराज बस्नेत
Sanket

तीर्थराज बस्नेत

काठमाडौँ, असार ३१
chardhar

काठमाडौं– चारतारे झण्डालाई पार्टीको प्रतीक बनाएको सत्ता साझेदार नेपाली कांग्रेसमा यतिबेला चार धार देखिएका छन्। कांग्रेसभित्रका दृश्य-परिदृश्य नियाल्दा यी चार धारले पार्टी रुमलिरहेको देखिन्छ। चारतर्फ केन्द्रित कांग्रेसको आगामी बाटो प्रष्ट बाटो तय छैन। राष्ट्रिय राजनीति, विचार, सिद्धान्तको कोणबाट हेर्दा कांग्रेस भित्र खासै ठूलो विमति नभएपनि नेताहरू एकठाउँ हुन भने सकेका छैनन्।

फरकफरक धारका नेताका कारण पार्टीको आन्तरिक जीवनलाई डोहोर्‍याउने गोरेटोको धुमिलिएको छ। पार्टीमा क्रियाशील नेताहरु फरक-फरक चारतर्फी बाटोका कुरा गरिरहेका छन्। चौबाटोको मध्यबिन्दुमा पुगेको कांग्रेसलाई कुन बाटो हिडाउँदा उत्तम हुने भन्ने विषय विवादित छ। कांग्रेसलाई आफूले भनेको बाटोमा हिँडाउँदा सबैभन्दा बढी फाइदा पुग्ने आआफ्नो दाबी छ। यही छिनाझपटीका बीचमा साउन २ गतेबाट सुरु हुने गरी केन्द्रीय समिति बैठक डाकेको छ। प्रत्येक दुई महिनामा बस्नुपर्ने वैधानिक बाध्यता बोकेको कांग्रेसले करिब एक वर्षपछि केन्द्रीय समिति बैठक बोलाएको हो।

यतिबेला स्थापित दलहरुले चुनौती महसुस गरिरहेका छन्। कांग्रेसलाई कुन बाटोमा कसले हिँडाउने अन्यौल देखिन्छ। सभापति शेरबहादुर देउवाको कार्यकाल सकिन अझै करिब अढाई वर्ष बाँकी छ। विशेष परिस्थिति नआएसम्म यो अवधि देउवाकै नेतृत्वमा कांग्रेस रहनेछ। पार्टीभित्र प्रचण्ड बहुमतमा रहेका देउवाले जे-जसरी कांग्रेसलाई हिँडाउन चाहन्छन्, त्यही बाटोमा पार्टी अघि बढ्ने निश्चितप्रायः छ। यद्यपि देउवाको कार्यशैली र पार्टी सञ्चालनको विधिबारे असन्तुष्ट रहेका नेताहरुले फरक-फरक मत राखिरहेका छन्। जसले कांग्रेभित्र अहिले मुख्यतः चार लाइन देखाएको छ।

गत मंसिरमा सम्पन्न निर्वाचनबाट नयाँ शक्तिहरु उदय र वैशाखमा सम्पन्न भएको उपनिर्वाचनमा व्यहोरेको धक्काका कारण कांग्रेसले चुनौती त महसुस गरेको छ। तर त्यसको सामाना कसरी गर्ने भन्नेबारे नेताहरु एकमत छैनन् नेताहरू। यसबारे पार्टीभित्र छलफल पनि हुन सकेको छैन।

केन्द्रीय समितिको बैठकबाट बैठकको पूर्वसन्ध्यामा देखिएका चार धारलाई कांग्रेसले कसरी एकीकृत गर्ला? वा थप छिनाझपेटी बढ्ला? प्रश्न स्वाभाविक छ। ‘पार्टी जीवनका बारेमा चार वटा धार देखिएका छन्। तर, देखिएका चुनौती सामाना गर्न र बलियो कांग्रेस बनाउनु त छँदैछ,’ एक केन्द्रीय सदस्य भन्छन्।

पहिलो धार- जे छ, ठिकै छ!
नेतृत्वमा रहेका देउवा र उनको समूह पार्टीजीवन ठिकठाक अवस्थामै रहेको जिकिर गर्छ। नयाँ दलको उदय र उपनिर्वाचनको नतिजाले सभापति देउवा झस्किएका त छन्, तर कार्यशैली बदल्न तयार देखिँदैनन्। उपनिर्वाचनको मतगणना जारी रहँदा वैशाख ११ गते बसेको संसदीय दलको बैठकमा देउवाले झस्किएको अभिव्यक्ति दिएका थिए। ‘उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो देखाएनन्। पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता देखियो,’ उनले भनेका थिए।

देउवाले सामाजिक सञ्जालमा पार्टीविरुद्ध आक्रमण बढेको निष्कर्ष पनि बैठकमा सुनाएका थिए। तर, उनले पार्टीमा सुधारको आवश्यकता देखिएको महसुस गरेको करिब ३ महिना पुग्न लागेको छ। तर, पार्टीमा सुधारको लक्षण देखिँदैन। बरु विधानअनुसार गर्नुपर्ने विभाग गठन, कोषाध्यक्षको निर्वाचनलगायतका काम समेत गर्न सकेका छैनन्।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शनिबार नेपाली काँग्रेस भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै। तस्बिर: रमेश गिरी/रासस

प्रत्येक २ महिनामा कम्तीमा एकपटक केन्द्रीय समिति बस्नुपर्ने वैधानिक व्यवस्था छ। तर, देउवाले १ वर्षसम्म बैठक डाकेनन्। न आम निर्वाचनअघि देउवाले केन्द्रीय समितिमा छलफलको आवश्कयता ठाने, न त निर्वाचनको समीक्षा नै। उपनिर्वाचनमा पार्टीले धक्का व्यहोर्दा समेत देउवाले बैठकको आवश्यकता महसुस गरेनन्। यसले देउवा यथास्थितिमै पार्टी सञ्चालन गर्ने योजनामा रहेको प्रष्ट पार्छ।

देउवानिकट नेताहरुको भनाइ मान्ने हो भने पार्टी सञ्चालनका सन्दर्भमा देउवाको कार्यशैली ठिकठाकै छ। उनी निकट सह-महामन्त्री किशोर सिंह राठौर भन्छन्, ‘पार्टीको संरचनालाई पूर्णता दिनु, नदिनु ठूलो कुरा होइन।’ बरु उनी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापतिलाई विश्वासमा लिएर हिँड्न नसकेको आरोप लगाउँछन्। देउवाको कार्यशैली र उनीनिकट नेताहरुको अभिव्यक्तिलाई हेर्दा कांग्रेसमा ‘जे छ, ठिकै छ’ भन्ने धार बलियो देखिन्छ। केन्द्रीय समितिमा पनि यही धार बलियो देखिनेछ।

दोस्रो धार- बदलिने, बदल्ने
महामन्त्रीद्वय थापा र शर्मा पार्टीलाई बदल्ने अभियानमा छन्। आम निर्वाचनको परिणामबाट नै सन्तुष्ट नरहेका महामन्त्रीद्वय उपनिर्वाचनपछि पार्टीलाई बदलिछाड्ने दोहोर्‍याउँदै आएका छन्। विद्रोहको शैलीमा भन्दा पनि संरचनागत सुधार र अभियानका माध्यमबाट पार्टीलाई बदल्ने योजना महामन्त्रीद्वयको देखिन्छ। त्यसका लागि उनीहरुले कसरत गरिरहेका छन्।

हालै अनलाइन माध्यमबाट सदस्यता खुला गर्ने र जिल्ला सभापतिहरुको बैठक डाकेर उनीहरुले यसको संकेत गरेका छन्। १४औं महाधिवेशनबाट महामन्त्री बनेदेखि नै उनीहरुबीच हार्दिकतापूर्ण सम्बन्ध देखिन्छ। आमनिर्वाचनपछि भएको संसदीय दलको बैठकदेखि उनीहरु एकै कित्तामा उभिएका छन्। महामन्त्री थापा सभापति देउवाविरुद्ध संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा शर्माले साथ दिएका थिए। महामन्त्री थापा पछिल्लो समयमा ‘संसदीय दलको नेता फेर्ने प्रयास गर्छु’ भनिरहेका छन्।

महामन्त्री थापा र शर्मा।

गत निर्वाचनबाट नयाँ दलको जबरदस्त उदयले महामन्त्रीद्वयलाई झस्काइदिएको छ। दशकौं क्रियाशील रहेको दल र व्यक्तिगत राजनीतिक जीवन माथि गम्भीर चुनौती थपिएका कारण उनीहरुले ‘बदलिने र बदल्ने’ भनिरहेका छन्। महामन्त्री निकट नेताहरुका अनुसार विद्रोहभन्दा पनि जागरणका माध्यमबाट पार्टीमा सुधार गर्ने योजना उनीहरुको छ।

‘अभियान र जागरणका योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्नेमा उहाँहरुको ध्यान केन्द्रित छ,’ महामन्त्री थापा निकट स्रोतले भन्यो, ‘जुन पार्टीका लागि पनि हुने छ र व्यक्तिगत पनि हुनेछ।’

आगामी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले भदौबाट पार्टीको देशव्यापी अभियान सञ्चालन गर्ने योजना पेस गर्ने तयारी गरेका छन्। यस्तै १ वर्षभित्र ५ लाख साधारण सदस्य थप्ने योजनाको खाका समेत प्रस्तुत गर्ने भएका छन्। ‘गगनजीले ५ लाख सदस्यता थप्ने खाकाबारे प्रस्तुति नै दिने तयारी छ,’ स्रोतले भन्यो।

महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा छलफल गर्नका लागि सामाजिक सञ्जालमार्फत सुझाव समेत माग गरेका छन्। कांग्रेस महामन्त्रीले यसरी बैठकमा छलफल गर्नुपर्ने सुझाव सार्वजनिक रुपमा मागेको सम्भवतः पहिलो पटक हो।

त्यसो त महामन्त्री थापाले जनताका कुरा सुन्न भन्दै देश दौडाहमा निस्कने तयारीसमेत गरिरहेका छन्। ‘जनसंवाद यात्रा’ नाम दिइएको अभियानमा पार्टीको कार्यक्रम नहुने र जनतासँग कुराकानी गर्ने योजना रहेको उनले बताएका छन्। महामन्त्री थापाले संसदीय दलको नेता फेर्नेबारे अभिव्यक्ति दिएपनि पार्टी नेतृत्वका बारेमा मुख खोलिसकेका छैनन्। तर, अभियान र संगठनका सुदृढीकरणका माध्यमबाट पार्टीमा पकड बलियो बनाउने, पार्टी सञ्चालनमा हस्तक्षेपकारी भूमिका निभाउने र १५औं महाधिवेशनमा आफ्नो पुस्ताको नेतृत्व स्थापित गर्ने योजनामा महामन्त्रीद्वय रहेको छिपेको छैन।

तेस्रो धार: ४० लाई ६० प्रतिशत बनाउने रणनीति
१४औं महाधिवेशनमा सभापति देउवाका निकट प्रतिस्पर्धी थिए- डा शेखर कोइराला। ४० प्रतिशत मतदाताको साथ पाएर पराजय भोगेका कोइराला अहिले सभापति देउवालाई चिढ्याउने पक्षमा देखिँदैनन्। बरु देउवासँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने योजना उनको देखिन्छ। जसका कारण पछिल्लो समय कोइराला-देउवा सम्बन्ध झाँगिदै गएको छ।

देउवा-कोइराला सम्बन्ध झाँगिदै जाँदा संस्थापन इतर समूह भने निष्क्रिय बन्दै गएको छ। शेखर-गगन सम्बन्धमा पनि चिसोपना देखा परेको चर्चा कांग्रेसभित्र छ। यसअघिको अभ्यासलाई हेर्ने हो भने संस्थापन इतर समूहले केन्द्रीय समिति बैठक समूहको बैठक डाक्थ्यो। त्यही बैठकबाट केन्द्रीय समितिमा प्रस्तुत हुने रणनीति तयार गरिन्थ्यो। तर यसपटक भने संस्थापत इतर समूहको बैठक बस्ने छैन।

नेता शेखर कोइराला सभापति देउवासँग कुराकानीमा।

‘सँधै केन्द्रीय समिति अघि हाम्रो बैठक बस्थ्यो। यसपटक नबस्ने भयो। अब यसलाई के अर्थ लगाउनुहुन्छ, आफैँ लगाउनुस्,’ संस्थापन इतर समूहमा क्रियाशील रहँदै आएका एक प्रभावशाली नेता भन्छन्। ती नेता देउवा-कोइरालाको प्याचअप भइसकेको भनेर दाबी त गर्दैनन्, तर अहिले चलिरहेको चर्चालाई यसले थप मद्दत पुर्‍याएको बताउँछन्।

‘ठ्याक्कै यसै हो भनेर त म पनि भन्न सक्दिनँ। तर संकेत त्यस्तै देखिन्छ,’ ती नेता भन्छन्, ‘उहाँले सभापतिको कार्यशैली माथि टिप्पणी गर्न छाड्नुभएको छ। बरु मन्त्री, भातृसंस्थालगायतमा हिस्सेदारी लिइरहनुभएको छ। भनेपछि हामीले के बुझ्ने।’

शेखर आफैंले भने १५औं महाधिवेशनमा ४० प्रतिशत भोटलाई बढाएर ६० प्रतिशत पुर्‍याउने योजना रहेको अभिव्यक्ति दिएका छन्। उनले आइतबार मात्रै कान्तिपुरसँग अन्तर्वार्तामा भनेका छन्, ‘मैले १४ औं महाधिवेशनमा पाएको चालीस प्रतिशत मतलाई अब साठी प्रतिशत पुर्‍याउनु छ। आफ्नो मात्रै समूह भनिराख्यो भने कहिल्यै बढ्दैन। शेरबहादुरजी पनि पहिला चालीस प्रतिशतमै रहनुभएको थियो। पछि साठी प्रतिशत पुर्‍याउनुभयो।’

देउवासँगको आफ्नो भेटघाट बाक्लिएको उनले स्वीकार गरेका छन्। ‘शेरबहादुरजीले अहिले अलि बढी बोलाइरहनुभएको छ। त्यसले गर्दा हाम्रा साथीहरूलाई पनि शंका हुन सक्छ। बोलाएपछि जानुपर्‍यो, नाइँ भन्न त सक्दिनँ।’ यद्यपि उनले गगन र आफ्नो सम्बन्ध नबिग्रिएको बताएका छन्। तर, संसदीय दलमा देउवाको विकल्प खोज्ने बेला भइनसकेको भनेर गगनलाई आफ्नो साथ नरहेको संकेत पनि गरेका छन्।

‘गगनजीका मानिसहरूले, शेखर कोइरालाका मानिसहरूले खेल्न खोज्छन् हाम्रो बीचमा। व्यक्तिका स्वार्थहरू हुन्छन्, त्यसलाई स्वाभाविक रूपमा लिन्छु। तर, हामी एकै ठाउँमा उभिएका छौं। गगनजीका एजेन्डामा मेरो विमति कहाँ छ? संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डामा असहमत हुने अवस्था कहाँ छ?,’ उनले भनेका छन्, ‘अहिले संसदीय दलको नेता बदल्ने समय आइसकेको छैन, सम्भावना पनि देखिएको छैन । अहिले अघि बढ्नु अपरिपक्व हुन्छ । परिणाम नआउने गरी अघि बढ्दा पार्टी कमजोर हुन्छ।’

चौथो धार- केवल रुपान्तरण!
कांग्रेसमा चौथो धार छ, जसले रुपान्तरणलाई प्रमुख एजेन्डा बनाएको छ। नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, जगदीश्वरनरसिंह केसी, रञ्जित कर्ण, भुपेन्द्रजंग शाहीलगायतले रुपान्तरणको अभियान नै चलाउँदै आएका छन्। समयानुकुल नीति र रणनीतिअनुरुप रणनीति, संरचनागत सुधार, भातृ संस्थाहरुको पुर्नजीवन, निर्वाचन प्रणालीमा परिवर्तन, भ्रष्टाचारमुक्त राजनीति लगायतका एजेण्डा लिएर अभियान अन्तर्गत देशभरी कार्यक्रम सञ्चालन भइसकेका छन्।

अभियान चलाइरहेका नेता घिमिरे भन्छन्, ‘कांग्रेस कांग्रेस जस्तो छैन। विधिभन्दा व्यक्तिप्रधान भएको छ। जे गरे पनि टुलुटुल हेर्न नसकेर रूपान्तरणको अभियान चलाएका हौं।’ उनले असोज सम्म पनि पार्टीमा सुधार नभए विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्षमा पुगेको बताए। ‘असोजसम्म पनि सुधारको संकेत देखिएन भने कांग्रेस विशेष महाधिवेशनमा जान्छ। विधानले दिएको बाटो त्यही हो,’ उनले भने।

कांग्रेस रुपान्तरण अभियानको कार्यक्रम। फाइल तस्बिर

त्यसो त युवाहरुलाई कांग्रेसले जिम्मेवारी दिएर अघि बढाए एक वर्षभित्र पार्टीले काँचुली फर्ने निष्कर्ष समेत सुनाए। ‘बिचौलियाहरूले नेताहरूलाई घुमाइरहेका छन्। यही त हो समस्या हाम्रो। यत्ति मात्र तोड्ने हो भने त नागरिकले वर्षौँ भरोसा गरेको पार्टीको भरोसा फर्किन्छ,’ उनले भने, ‘खाली सुध्रने र सुधार्ने प्रतिबद्धतासहित विश्वासयोग्य कदम न चाहिएको हो। कांग्रेसभित्र युवालाई अवसर छ र युवाहरूलाई जिम्मेवारीसहित अघि बढाउँछ भन्ने विश्वास मात्र कायम गर्ने हो भने कांग्रेसले एक वर्षभित्र काँचुली फेर्छ ।’

बिग्रँदै हार्मोनी
कांग्रेसभित्र पार्टी जीवनका सन्दर्भमा नेताहरुको वैचारिक विभाजनसँगै नेता-कार्यकर्ताकाबीचको हार्मोनी पनि खलबलिँदो छ। नेताहरुबीचको गुटगत र व्यक्तिगत प्रतिस्पर्धाका कारण नेता-कार्यकर्ताबीचको हार्मोनी बिग्रँदै गएको महसुस जिल्ला तहका नेताहरुले गर्न थालेका छन्। राजधानीमा शनिबार भेटिएका एक जिल्ला सभापतिको भनाइलाई मान्ने हो भने पदाधिकारी तहमा रहेका र प्रतिस्पर्धी नेताहरुलाई निर्धक्कसँग भेट्ने अवस्था हराउँदै गएको छ। त्यसलाई उनले गम्भीर संकेतका रुपमा व्याख्या गरे।

‘अहिले पदाधिकारी रहनुभएका र गुटगतरुपमा फरक कित्तामा रहेका नेताहरुलाई निर्धक्कसँग भेट्ने अवस्था छैन। एउटा नेतालाई भेटेर अर्को नेतालाई भेट्न पनि सोच्नुपर्ने स्थिति छ,’ ती जिल्ला सभापतिले सुनाए, ‘कुरा लगाउने र त्यो फलानोको मान्छे हो भन्ने। त्यो त फलानो तिर ढल्कियो नी भनेर सुनाइदिने अनि सम्बन्ध नै चिसिने हुन थाल्यो यो गम्भीर संकेत हो।’

उनले कुनै एउटा नेतासँग भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न पनि कार्यकर्तालाई गाह्रो हुँदै गएको सुनाए। उनले हिजोको कांग्रेस र आजको कांग्रेसबीच तुलना गर्दै भने, ‘हिजो गिरिजाबाबुलाई भेट्न जाँदा किसुनजी र गणेशमानजीलाई पनि भेट भन्नुहुन्थ्यो। किसुनजी र गणेशमानलाई भेट्न जाँदा पनि अन्य दुई नेतालाई पनि भेटेर जाउ है वा भेट्यौ त? भनेर सोध्नुहुन्थ्यो। पार्टी भित्र चरम प्रतिस्पर्धा भएपनि कस्तो हार्दिकता थियो,’ उनले भने, ‘अहिले त्यस्तो छैन। अहिले त फलानोको मान्छे, ढिस्कानोको मान्छे भन्ने मात्रै होइन उस्तै परे किन भेटेको भन्ने पनि पर्ने रहेछ।’

प्रकाशित: २०८० असार ३१ गते आईतबार ०७:११
Sanket

तीर्थराज बस्नेत

बस्नेत राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना