चितवन– पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ। कोषबाट गत १० महिनामा ४० नगरबासीले सेवा लिएका छन्। अतिविपन्न नगरबासीको उपचारका लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो।
कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका बिरामीको उपचारमा आर्थिक सहयोग गरिएको नगरप्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए। नगरपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्ष २०७९/८० को भदौबाट कोष सञ्चालनमा ल्याएको थियो। कोषको कार्यविधिअनुसार एउटा बिरामीलाई १० हजारसम्म उपचारका लागि सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ।
आवश्यकताअनुसार रकम थप गर्ने विकल्प खुल्ला गरिएको नगरप्रमुख सापकोटाले बताए। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्रतिव्यक्ति २० हजारसम्म प्रदान गरिएको उनको भनाइ छ। १० हजारभन्दा बढी पाउने बिरामीको संख्या तीन जना रहेको जनाउँदै नगरप्रमुख सापकोटाले वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाले कोषबाट रकम प्रदान गर्दै आएको बताए।
कोषबाट ३७ बिरामीको उपचारको लागि प्रतिव्यक्ति १० हजार र तीन बिरामीको उपचारको लागि प्रतिव्यक्ति २० हजारका दरले कोषबाट प्रदान गरिएको छ। कोष सञ्चालनमा आएपछि हालसम्म २ लाख ५० हजार खर्च भएको उनले बताए। ‘आर्थिक अभावका कारण उपचार गर्न नपाएर कसैले ज्यान जानु हुँदैन’, उनले भने, ‘गरिब तथा विपन्न नगरवासीको उपचारका लागि कोष स्थापना गरेका हौँ।’
त्यसैगरी नगरपालिकाले विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। गत आव २०७९/८० मा ३ हजार दुई घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरिएको नगरपालिकाले जनाएको छ। विपन्न समुदायको उपचारका लागि स्वास्थ्य बिमा र आकस्मिक उपचारका लागि कोष स्थापना गरिएको नगरप्रमुख सापकोटाको भनाइ छ।



