नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन्। राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा गठबन्धन दलहरुले संयुक्त रूपमा आयोजना गरेको अभिमुखीकरणमा उनले कांग्रेस सहमतिबाट दायाँबायाँ नलाग्ने स्पष्ट पारेका हुन्।
‘आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो,’ उनले भने। कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताए।
महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको दाबी गरे। पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान व्यक्ति भएको भन्दै उनले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने धारणा राखे।
उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने समेत उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गरेकोसमेत उनले स्मरण गरे।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आठ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर्क गरे। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रजातन्त्र, लोकतन्त्रको रक्षाका लागि लडेका रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गर्नु नै गठबन्धनको मर्म र भावना भएको उल्लेख गरे।
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति पदका उम्मेदवार पौडेललाई अहिले दश दलको समर्थन प्राप्त भएको बताए। ‘प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका नेता पौडेललाई दश दलको समर्थन छ,’ उनले भने, ‘उहाँलाई निर्वाचित गर्नुको विकल्प छैन।’
